Shittalpati
नयाँ सोंच अपनाऔं

धेरै जसो जब्वर पार्टीहरुलाई अहिले महाधिवेशनको चटारो छ । सत्ता पक्ष र प्रतिपक्ष सबै पार्टीहरु नयाँ नेतृत्व चयनमा व्यस्त छन् । एमाले आफुले महाधिवेशनको मैजार खाइसकेको भएपनि नेकाँ, राप्रपा, माओवादी लगायतका दलहरु पनि धमरधुस भएर लागिपरेका छन् । यसबिच विभिन्न दलका केन्द्र र प्रदेश अनि जिल्ला तहका नेतृत्वहरुमा पुस्तान्तरणको गन्ध आएको देखिन्छ । नेपाली काँग्रेस, एमाले र माओवादीका कतिपय पुराना नेताहरुले राजनैतिक विरासतका रुपमा स्वीकार्दै आएका जिम्मेवारीहरु पिडादायी मनोभावनाका साथ त्याग्न तयार हुनुपरेको तितो यथार्थतालाई नस्वीकारी नहुने अवस्था पनि आएको देखिन्छ ।

साना दलहरुको विषयमा वहस र छलफल कम भएपनि ठूला दलहरु एमाले र नेपाली काँग्रेस भित्र ठूूलै वहसको अवस्था श्रृजना भएको छ । एमाले भित्र नजानिदो गरी टिके प्रवृतिले प्रशय पाएको छ भने नेपाली काँग्रेसमा चाहिने भन्दा धेरै लोकतन्त्रको अभ्यास भएको होकि भन्ने देखिन्छ । यता गठवन्धनको सरकारका समस्याहरु दिन प्रतिदिन बल्झिदै गएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस अनि सत्ता गठवन्धनका घटकहरुको खचपचले गर्दा पनि समस्याहरु उत्पन्न हुने गरेका कारण बेला–बेलामा असहजता उत्पन्न हुने गरेको छ । त्यसको निराकरण गर्ने समय कम हुने भएका कारण प्रधानमन्त्री पार्टी र गठवन्धन दुवै तर्फबाट घेरावन्दीमा परेका छन् । न्यायपालिका र बार बीचको विवाद अनि हानथापले गर्दा सरकार घटक दलहरुमा समेत समस्याहरु उत्पन्न हुने परिस्थिति आएको बेला अब बस्ने संसदले नयाँ र दुरगामी निर्णय गर्छ कि गर्दैन भन्ने चिन्ता र चासो सर्वत्र देखिएको छ । त्यसकारण न्यायपालिका, राजनैतिकदल, अनि संसद बीच विभिन्न समयमा देखिएका दोहोरीका रोल मोडलले पनि बेला–बेलामा मूलुकको राजनैतिक अवस्था नै धमिलो बनाउने हो कि भन्ने चिन्ता र चासो बढेको छ । लोकतन्त्रका मूल्य र मान्यताका आधारभूत तौर तरिकालाई परिचालन गर्न नसक्नु र पद अनि सेवा सुविधामै दलहरुको मोह बढ्दै जाने कारणले नै आम जनतामा वितिष्णाका स्वरहरु कहराई रहेका छन् । विकासलाई कनिकाशैलीमा छर्ने प्रवृतिको विकास हुँदै गएको र त्यसमाथि तल्लो तहदेखि उपल्लो तहसम्म हरेक किसिमका अनियमितताले गर्दा जनताको विश्वासमा कमी आएको छ । केन्द्रीय मन्त्री र प्रदेशका मन्त्रीहरुका कार्यसम्पादन शैली जनमुखिभन्दा पनि भनमुखि भएका कारण कालोलाई कालो पनि भन्न नसक्ने प्रवृतिको अत्य नहुदासम्म देशले मुहार फेर्न सक्दैन । सरकार हरेक नागरिकले छाम्दा फेला पर्ने खालको हुनुपर्ने अवस्थाको विकास भएन भने पनि समस्याहरु ज्यूका त्यू हुने बाहेक केही पनि हुन सक्दैनन् । त्यसकारण वर्तमान अवस्थामा देखापरेका यी र यस्ता समस्याहरुको समयमै निराकरण खोजिएन भने आसन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनले दिने परिणाम सोंचे भन्दा फरक र लोकतन्त्र माथि नै धक्का पर्ने खालको हुन सक्ने खतरा पनि आउन सक्छ त्यसैले नयाँ सोंचे अपनाउन जरूरी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update