Shittalpati
राप्रपाको महाधिवेशन

पछिल्लो समय नेपालमा विभिन्न राजनीतिक दलहरुले आ–आफ्ना पार्टीका महाधिवेशन गरिरहेका छन् । कतिले महाधिवेशन गरिसकेका छन् भने कतिले गर्ने तयारी गरिरहेका छन् । नेकपा एमालेको भर्खरै सकियो । राष्ट्रिय प्रजातन्त्र पार्टीको भइरहेको छ र नेपाली काँग्रेसको केही समयअघिदेखि वडा, क्षेत्र, जिल्ला हुँदै प्रदेशको हुनेक्रम जारी छ । केन्द्रीय महाअधिवेशन अब निकट भविष्यमै हुन लागिरहेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि सबै पार्टीका अधिवेशन भएका थिए । त्यसपछि संविधान बनाउन र आमनिर्वाचन गर्न सबैको ध्यान केन्द्रित भयो । त्यो कामलाई तिनले पूर्णता दिए तर आफ्नै पार्टीको अधिवेशनतिर ध्यान दिएनन् । अहिले कानुनी संकटको अवस्था सिर्जना हुन लागेपछि सबै पार्टी महाधिवेशनतर्फ लागेका हुन् । यो सम्पादकीय तयार पर्दासम्म राप्रपाको अधिवेशन चलिररहेको छ । यहाँ नयाँ नेतृत्व छनोटका लागि मतदान भइरहेको छ ।

मुलुकमा राजतन्त्रको आवश्यकताको महसुस राप्रपाले महाधिवेशनबाट गरेको देखिन्छ । हुन राष्ट्रिय प्रजातन्त्र पार्टी आफैंमा राजतन्त्रको पक्षकै पार्टी हो । मुलः राप्रपाको महाधिवेशनले पनि त्यही कुराको संकेत गरेको देख्न सक्छौं । यहाँ बोल्ने अधिकाँस नेताहरुले राजतन्त्रको वकालत नै गरे । हुन त राप्रपाले यसअघि देखि नै गणतन्त्र, धर्म निरपेक्षता तथा संघीयताप्रति विमति जनाउँदै आएको छ । राजतन्त्र, हिन्दुराज्य, एकात्मक शासन प्रणालीजस्ता मान्यतालाई राप्रपाले आज पनि मान्दै आएको छ । राप्रपा प्रजातान्त्रिक व्यवस्था र महेन्द्रीय राष्ट्रवादलाई संस्थागत गर्न चाहन्छ । त्यसैले पनि जुन मुद्दालाई कसरी संस्थागत गर्ने भन्ने बहस जारी राष्ट्रिय महाधिवेशनमा जोड रुपमा उठेको हो । हाल एमालेले राजतन्त्रको आवश्यकताको छनक दिन थालेको छ । यसैगरी अरू कम्युनिष्ट पार्टीका नेताहरूले पनि यस्तै भाषा र संकेत देखाउन थालेका छन् । राप्रपाका नेता कमल थापाले सडकबाटै राजा फर्काउछौं भनिरहेका बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको धारणा समान छ भन्दै आएका छन् । नेताहरूका यस्ता जे–जस्ता धारणा बाहिर आएका भए पनि राप्रपाको यो अधिवेशन निकै रोचक किसिमले अगाडि बढिरहेको छ । यसलाई आफैमा सकारात्मक मान्नु पर्दछ । जोसुकैको नेतृत्वमा राप्रपा आए पनि आगामी नेतृत्व नयाँ एजेण्डालाई बोक्ने र व्यवस्थाभित्र देखिएका गलत प्रवृत्तिहरुको समाधान खोज्ने खालको आउन सकोस् राप्रपालाई शुभकामना ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update