Shittalpati
नारामा सीमित नबनोस् अपाङ्गता दिवस

हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै आइएको छ । सन् १९९२ बाट हरेक वर्षको यो दिवस मनाउन थालिएको हो । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयास स्वरुप नेपालमा पनि सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी विश्व अपाङ्गता दिवस मनाइँदै छ । कुनै पनि व्यक्तिमा अपाङ्गता हुनु उसको रहर नभएर बाध्यता हो । अपाङ्गता पूर्वजन्मको पाप होइन, कुनै रोग पनि होइन । यो त एक अवस्था मात्र हो । अन्य व्यक्तिको तुलनामा अपाङ्गता हुनु भनेको शरीरको कुनै एक वा सोभन्दा बढी अङ्गमा जन्मजात वा जन्मपश्चात् हुने घटना वा दुर्घटनामा परेर शारीरिक विकृति आउनु र त्यो अङ्गले सक्रियरूपमा काम गर्न अवरोध हुनु हो । तर त्यो अङ्गले पूर्णरूपमा कार्य सम्पादन गर्न कठिन भएको अवस्थामा विभिन्न उपयोगी तथा सहयोगी सामग्रीको सहयोगमा कार्य सम्पन्न गर्न सकिन्छ । अपाङ्गता भएका व्यक्तिका लागि काम गर्ने भनेर नेपालमा धेरै संघ संस्थाहरु सक्रिय छन् तर अपाङ्गता भएका व्यक्तिका पीडा भने ज्यूँकात्यूँ छन् । यो आफैमा दुखद् हो ।

हरेक वर्ष विभिन्न नारा तय गरी दिवस मनाइने गरिन्छ तर दिवस नारामै मात्र सिमित बन्न पुग्नु गलत हो । यसो हुनु हुँदैनथ्यो । सरकारी र गैरसरकारी क्षेत्रले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा पुनःस्थापना र परिचालन गर्न धेरै लगानी गरे पनि अपाङ्गगता भएका व्यक्तिको अवस्थामा भने खासै परिवर्तन आउन सकेको देखिदैन । नेपाली समाजमा दिनैपिच्छे विभिन्न दिवस मनाउने गरिन्छ । औपचारिक रुपमा दिवस मनाउँदा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण भइरहेको भ्रम पर्न जान्छ । तर, हाम्रै गाउँसमाजमा अपाङ्ग व्यक्तिहरुको नियति भने बिल्कुलै फरक छ । उनीहरुलाई अझै पनि पारिवारिक बोझका रुपमा तिरस्कार गरिएका र दाम्लो/सिक्रीले बाँधेर पशुवत् व्यवहार गरिएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । अपाङ्गता सम्बन्धी जे–जति गतिविधि भइरहेका छन्, त्यो पर्याप्त छैन । हरेक वर्षका दिवसका नारा अपाङ्ग मैत्री बन्छन् तर ति व्यहारमा भने कहिल्यै पनि लागु हुँदैनन् । यसले गर्दा दिवसले सार्थकता पाउन सकेको छैन् । दिवस नारामै सिमित नबनोस् अपाङ्गता भएका व्यक्तिहरुलाई तिरस्कार गरेर होइन, मानव अधिकारको संरक्षण र संवद्र्धन गर्दै समाजमा सम्मानपूर्वक बाँच्ने अवसर प्रदान गर्न सकियोस् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update