Shittalpati
अर्थतन्त्र मजबुत बनाउनतर्फ ध्यान देऊ

कोरोना कहरबाट थिलो–थिलो बनेको अर्थतन्त्रको वृद्धितर्फ सरकारले चासो नदेखाएको व्यापक गुनासाहरु आउन थालेका छन् । तर सरकार भने आर्थिक वृद्धिदर हासिल भएको आत्मरतिमा रमाइरहेको छ । यतिबेला जुरमुराउन थालेको अर्थतन्त्रका केही सूचक नकारात्मक देखिन थालेका छन् । कोरोना कहरका बेला आयात–निर्यातको सीमितताले बढेको विदेशी मुद्रा सञ्चिति हाल घट्न थालेको छ । आयात ह्वात्तै बढ्दा कोरोनाका बेला तत्कालीन सरकारले मुलुकमा उत्पादन बढाउन गरेका प्रयत्न फगत कागजी मात्र थिए भन्ने स्पष्ट हुँदैछ ।

अर्थतन्त्रमा नकरात्मक संकेत देखिनु पक्कै पनि देश र जनताका लागि फाइदा छैनन् । यस्तो अवस्थामा सरकार मुकदर्शक भएर बस्नु कदापी राम्रो हुन सक्दैन । आयातभन्दा निर्यात घटेको छैन । व्यापार घाटा बढ्दो छ । रेमिट्यान्स, शोधनान्तर र विदेशी मुद्रा सञ्चिति ओरालो लागेको छ । चालू खर्च बढ्दो मात्रामा छ भने पूँजिगत खर्च चालू आर्थिक वर्षको कात्तिकसम्ममा २० अर्ब रुपैयाँ बराबर मात्र छ । अर्थतन्त्रको स्थायित्व खासगरी बढ्दो चालू खाता घाटा र घट्दो विनिमय सञ्चितिले बाह्य क्षेत्रमा पार्ने चापप्रति सरकार संवेदनशील हुन जरुरी छ । तर, सरकारले सामान्य आर्थिक वृद्धिदरलाई आफ्नो सफलताको सूचकका रूपमा प्रस्तुत गरिरहँदा अर्थतन्त्रका अन्य परिसूचकले भने अर्थतन्त्रमा दबाब बढाएकै छन् । सबै तथ्यांकले अर्थतन्त्र संकटतर्फ अघि बढेको प्रष्ट पार्छ । अर्कातर्फ सरकारले पूँजिगत खर्च समेत गर्न सकेको छैन । सरकारले ५ प्रतिशत पनि पूँजिगत खर्च गर्न नसक्नु लजास्पदको विषय हो । पूँजिगत खर्च गर्नुपर्ने विकासे मन्त्रालयहरूको ध्यान खर्च बढाउनेभन्दा पनि राजनीतिक लाभ लिने, सरुवा–बढुवामा ध्यान दिने र नियुक्ति दिलाउने काममा मात्रै केन्द्रित हुँदा पनि यो समस्या विकराल बन्दै गइरहेको छ । यसले भोलिका दिनमा अर्थतन्त्रमा ठूलो समस्या निम्त्याउन नसक्ला भन्न सकिदैन । यसर्थ अर्थतन्त्रका सूचकांकहरू नकारात्मकतर्फ लागेकाले अर्थतन्त्रलाई मजबूद बनाउनेतर्फ सरकार संवेदनशील हुन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update