Shittalpati
बालिका दिवसको सार्थकता

आज अक्टोवर ११ अन्तर्राष्ट्रिय बालिका दिवस । ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने मूल नाराका साथ यो दिवस विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्षको अक्टोबर ११ का दिन बालिका दिवस मनाउने गरिएको हो । बालक र बालिकाबिच हुने विभेदलाई अन्त्य गरेर बालिकाको विकास लागि पहल गर्ने उद्देश्यले दिवस मनाउने गरिएको हो । यस पटकको दिवसलाई राष्ट्रसंघले डिजिटल पुस्तामा केन्द्रित गरेको छ ।

यो दिवस मनाउँदै गर्दा नेपाल सहित विश्वभर नै बालिकाहरु विभिन्न प्रकारका हिंसा, शोषण, दुव्र्यवहार र उपेक्षाबाट सुरक्षित बन्न सकिरहेका छैनन् । बालबालिकाको अधिकारका लागि काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था युनिसेफका अनुसार नेपालसहित विश्वभरका सबै प्रकारका आर्थिक–सामाजिक पृष्ठभूमि, उमेर समूह, धर्म तथा संस्कृतिका लाखौँ बालबालिका हिंसा, शोषण र दुव्र्यवहारबाट पीडित भइरहेका छन् । लाखौँ बालबालिका भने जोखिममा रहेका छन् । बालबालिका प्रकृतिका सुन्दर संरचना हुन्, आमाबाबुका सुनौला सपना हुन्, समाज र राष्ट्रका भविष्यको संवाहक पनि हुन् । फलतः बालबालिकाबिनाको समाजको कल्पनासम्म गर्न सकिँदैन । आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार हुन् । वास्तवमा भन्ने हो भने कुनै पनि देशको भविष्य उनीहरूको उमेरसँगै बढिरहेको हुन्छ । त्यसैले बालबालिका वा उनीहरूको समस्या कुनै एक व्यक्ति वा विषयसँग मात्र सम्बन्धित नभई सबै क्षेत्र, वर्ग, समुदाय, पेसा, समाज र आममानिसको सरोकारको विषय हो । तर यसतर्फ कसैले पनि ध्यान दिएको पाइदैन । बालविवाह, बालश्रम, बेचबिखन, महिला र बालिकाविरुद्धको हिंसा, बालबालिकालाई अनावश्यकरूपमा अनाथालय वा सुधारगृहमा राख्ने र बालमैत्री तथा लैंगिक संवेदनशील न्याय सेवामा अपूरो पहुँचजस्ता समस्या अझै विद्यमान छन् । यद्यपि, पछिल्लो समय बालिकाहरुको विवाह हुने क्रम घट्दो देखिएको भए पनि बालिकामाथिको हिंसासका घटना भने बढ्दो छ । बालिका चिनेजानेका र परिवारको नाता सम्बन्धभित्रैबाट पीडित बन्ने गरेका छन् । बालबालिकामाथि यौन हिंसा एवं बलात्कारका घटना सबैभन्दा बढी देखिएका छन् । यस्तो हुनु दुखद् हो । बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घरपरिवारदेखि नै जागरण ल्याउन जरुरी छ । बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गर्दै बालविवाह, गरिबी र अशिक्षाबाट बालिकाहरुलाई मुक्त गराउने अभियान सञ्चालन गर्न सके मात्र वालिका दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update