Shittalpati
आशाभित्रको निराशाः सिद्धबाबा सुरुङ्गमार्ग

जीवनमा परिकल्पना गरिएका आशा मध्ये पनि सबै पूर्ण हुँदैनन् । त्यसले निराशा पनि बनाउछ हो । त्यस्तै माध्यमको एउटा विषय हो, सिद्धबाबा सुरुङ्गमार्ग यस मार्गलाई पाल्पाली जनताले निराशा भित्रको आशाभन्दा हुन्छ । यसका लागि बजेट त पूर्वावर्ती सरकारले प्रस्तावित गरेको हो । तर पनि लाजैलाजले गर्दा मात्र बजेट प्रस्तावित गरी ग्लोवल टेण्डर प्रक्रियामा पुगेको हो । यसमा पनि पाल्पाली जनता पूर्ण रुपमा आशावादी बन्ने अवस्था छैन । उत्तर दक्षिण जोड्ने यो एक मात्र राजमार्ग हो । यो सडक खण्ड ठप्प हुँदा धेरै जिल्ला प्रभावित हुने गर्दछन् । यस राजमार्गका विषयमा कुनै पनि माननीयहरु संवेदनशिल बनेको नदेखिदा यस राजमार्ग भएर यात्रा गर्ने सबै यात्रुले सास्तीको सामना गर्नुपरेको यथार्थ हो ।

पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णु पौडेलले सडकको विकल्पमा वा सुरक्षित यात्राका लागि सुरुङ्गमार्ग बनाउन रकम प्रस्तावित गरेको छु भनेर भाषण नगर्दा हुन्छ । उनी पहिलो निर्वाचन पाल्पाबाट लडेका हुन । २०५६ सालमा उनी बुटवल झरे त्यसपटक उनले पराजयको सामना गर्नुपर्‍यो । त्यसपछि उनी निरन्तर रुपमामाननीय भए तर उनको लागि यो सडक कहिल्यै पनि प्राथमिकतामा परेन । उनले त बेलवास नुवाकोट सडकका लागि रकम प्रस्तावित गरे । त्यसको कारण थियो बुटवलका जग्गादलालले नुवाकोटमा जमिन खरिद गरेका छन् । दलालीको जमिनमा उनको अघोषित लगानी भएकाले त्यस सडक खण्डलाई प्रमुख प्राथमिकतामा राखेका हुन । उनी दोश्रो पटक अर्थमन्त्री भएका बखतमा अन्त कतै ठाउँ नपाएर बल्ल सुरुङ्गमार्गका लागि रकम प्रस्तावित गरेका हुन । त्यसैले यसमा हामीले गर्व मान्नु पर्दैन । अब त समस्या सिद्धबाबा दोभान खण्डमा मात्र छैन । त्यसका लागि आवश्यक सोच नै छैन । गत वर्षातमा झण्डै एक हप्ता सडक अवरुद्ध भयो । डुम्रे तल माथिबाट आएको पहिरोका कारण यस वर्ष पनि गतवर्षको वर्षको ठाउँ भन्दा माथी एउटै पहाडबाट खसेको पहिरोले दुःख दियो । अबको वर्खामा बुटवल तानसेन सडक खण्डमा सुरुङ्गमार्गले सुरक्षित यात्राहोला भन्नु मनको लड्ड् घिउसँग खानु जस्तै हुने छ । हुन त यस सडक खण्डका विषयमा यस सडक खण्ड भएर यात्रा तय गर्ने गुल्मीका प्रदिप ज्ञवाली, गोकर्ण विष्ट , हाम्रा पाल्पाली माननीयहरुलाई पनि लाजलाग्नु पर्ने थियो । तर लाग्दैन । त्यतिमात्र होइन बुटवल,पाल्पा सडकको अवस्थाका विषयमा प्रदेश सरकार र प्रदेश सरकारका माननियहरु पनि सधैव सितकालको कोइली जस्तै भएका छन् । समस्या त तलदेखि माथी सम्म हो । सडकको पनि एउटा निश्चित मापदण्ड हुन्छ । यति टनक्षमता भन्ने हुन्छ । तर मापदण्ड कार्यान्वयन नहुँदा दर्जनौ ठाउँमा सडक धुजाधुजा भएका छन् । माननीय, दलका नेता र आफन्तका सयौ टिप्पर विस टन भन्दा बढी खानीजन्य सामग्रीबोकेर सयौको संख्यामा गुड्ने गर्दछन । त्यहि टिप्परका कारण आज सडक यो अवस्थामा आएको हो । यस कार्यलाई नियमन गरौ भनेर कुनै पनि नेता माननीयहरुले भनेको कहिल्यै सुनिदैन । त्यस कारणले पनि सडक प्रतिदिन दयनिय अवस्थामा पुगेको हो । एकातर्फ सडक अतिक्रमणको चपेटामा परेको छ । अर्कोतर्फ भारवहनयुक्त सवारीले नराम्रोसँग च्याप्दा सडक भासिने क्रम बढेको यथार्थ हो ।

जब भैरहवामा विमान स्थलको निर्माण कार्य के अगाडि बढेको मात्र थियो तव लुम्बिनीदेखि बुटवलको गोलपार्कसम्म स्देशी विदेशीपर्यटकलाई लक्षित गरेर ठूलो संख्यामा होटल खुल्ने क्रम बढेको छ । यदि बुटवल तानसेन सडक खण्ड राम्रो भएको खण्डमा भैरहवादेखि पाल्पासम्मको दुरी डेढ घण्टाको मात्र हो । रुपन्देहीका होटल व्यवसायी बुटवल पाल्पा सडकको अवस्था राम्रो होस भन्ने चाहादैनन् । त्यसको पछाडी के रहस्य छिपेको हुन सक्दछ भने कतै हाम्रा माननीय, नेताहरुको पनि होटलमा लागानी त छैन ? भन्ने आशंका उव्जीनु स्वभाविकै हो । सडकको अवस्थाबारे एउटा पनि माननीयहरुले सदनमा कुरा उठाएको अहिलेसम्म सुनिदैन । अबको समस्या दोभान सिद्धबाबा खण्ड मात्र होइन ? समस्या त डुम्रेसम्म देखियो । त्यसको दिर्घकालिन समाधानको उपाय खोज्नुपर्दछ त्यसका लागि अब गुल्मीले गर्दैन । पाल्पाका माननीयहरुले पहल गर्नुपर्ने थियो । तर प्रधानमन्त्रीसँग नै छलफल गरेर एउटा निकास निस्कने गरी बजेट विनियोजन गर्न सक्ने हाम्रा माननीयहरु नभएकाले विष्णु पौडेलको निगाहमा बस्नु परेको हो । यसो भनि रहँदा हाम्रा माननीयहरुलाई यसो भन्ने ? जस्ता कुरा उठ्न सक्दछन यस विषयमा पूर्व सांसदहरुको पनि दम छैन । यहाँबाट विजयी भएका धेरै नेकपा एमाले थोरै काँग्रेस हो । दुवै पार्टीका वर्तमानपूर्व सांसदहरुले जनतालाई झुक्याउन निर्वाचनको समयमा यस सडक खण्डलाई मत माग्ने लाइसेन्स मात्र बनाए । माननीयहरु मात्र होइन स्थनानीय सरकार प्रमुखहरुले समेत माननीयहरुलाई दवाव दिन सक्दैनन् । यस्ता यस्ता कारणले गर्दा सदरमुकाम तानसेनको भविष्य छोटिदै गएको छ । यस विषयमा त माननीय, तानसेन नगरका प्रम्खले गम्भिर भएर चिन्तन गर्नुपर्ने थियो । तर अहिले सम्मन देखिएको पनि त्यहि नै हो । हुन त एक हप्तासम्म विजुली नआउदा, १५ दिन सम्म धारामा पानी नआउदा किनआएन वत्ती पानी भनेर नगरवासीले कहिल्यै भन्दैनन् । त्यसैले पनि ठगिएको हुन सक्दछन् तानसेनवासी । जब सम्म सडकको विषयमा बैकल्पिक सोच राखेर कार्यान्वयनको चरणमा नपुग्ने हो भने तानसेनवासीको अस्तित्व समाप्त हुनेछ । त्यसका लागि दलिय स्वार्थ भन्दामाथी उठ्नुपर्ने हुन्छ । माननीयहरु र नगर प्रमुख यस प्रकरणमा सफलभए । यसको श्रेय कसले लिने भन्ने पनि छ त्यसले पनि अलिकती समस्या पारेको छ । तर साँझा विकासका अवधारणा उनीहरुले लिन सकेका छैनन । त्यसैगरी दलगत स्वार्थ भन्दामाथी उठ्न नसक्दाको परिणाम पनि यही हो ।

लुम्बिनी प्रदेश सरकारको जुन समयमा शंकर पोखरेलले नेतृत्व गरेका थिए । त्यसको अन्तिम अन्तिम समयमा आमजनतालाई भन्दा कार्यकर्ताको आवश्यकताको लागि भनेर विसवटा भन्दा बढी सडकहरुमा २४ लाखका दरले बजेट विनियोजन गरेको थियो । त्यस सडक खण्डमा भन्दा राष्टिूय राजमार्गकोस्तर उन्नतीका लागि बजेट विनियोजन गरेको भए के हुन्थ्यो । माननीयहरुको तलव भत्ता वा निजी सम्पत्ति विक्री गरेर विनियोजन गर्ने होइन होला पछिल्लो समयमा त्यस्ता सडकको रकम वर्तमान प्रदेश सरकारले खारेज गरिदियो । त्यो ठिक बेठिक आफ्नो ठाउँमा छ तर राष्टिूय राजमार्गमा राखिदिएको भए राम्रो हुने थियो भन्ने मात्र थियो । अबको निकास भनेको वैकल्पिक व्यवस्था नै हो । त्यसो नगरिए सडकको समस्याको समाधान नै हुँदैन विकल्प खोज्नुपर्दछ । सडक विभाग सडक कार्यालयलाई दोष दिने मात्रप्रवृत्ती छ । सबैले अ आफ्नो ठाउँबाट सरकारलाई दवाव नै दिएर विकल्पमा पुरानो मार्ग पहिल्याएर नक्साड्ढन गर्नु अहिलेको आवश्यकता हो ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update