Shittalpati
चाडपर्वमा महँगीको मार

नेपालीहरूको महान चाड शुरू हुन केही दिनमात्र बाँकी छ । चाडबाडको चहलपहल शुरू भइसकेको छ । अहिले बजारमा सामान किन्नेहरूको भीड ह्वात्तै बढेको देखिन्छ । कोरोना संक्रमणले बितेको दुई वर्ष नेपालीले राम्रोसँग चाडपर्वहरू मनाउन पाएका छैनन् । यसपटक कोरोना संक्रमणको अवस्था पातलिँदो छ । यस वर्षको चाडबाड राम्रोसंँग मनाउने तयारीमा लागेका नेपालीहरू बढ्दो महँंगीको मारमा पर्न थालेका छन् । दसैं–हतिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य दिनहुँजसो उकालो लागिरहेको छ । चाडबाडमा माग बढ्ने भएपछि मौका छोपेर व्यवसायीले मूल्य वृद्धि गरेका छन् । अहिले चामल, हरियो तरकारी, खाने तेल, मासु, लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ ।

चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा सर्वसाधारणको भान्सा खर्च अकासिएको छ । ढुवानी खर्च र परल मूल्य नै बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् । व्यापारिले आफु खुसी भाउ बाउनु दुखद् हो । यो उनीहरुले सरकारको नियम र कानुनको परिपालना नगरेको ठहर छ । यस्ता व्यापारिहरुलाई तत्काल कानुनी कारवाही गर्नु पर्दछ । अनुगमन प्रणाली फितलो हुँदा व्यापारीले आफूखुशी सामानको मूल्य बढाएका हुन । यस तर्फ सरकारले पनि ध्यान दिनुपर्दछ । सरकारले अनुगमनलाई तीव्र बनाउन नसक्नुले सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ । यो स्वभाविक नै हो । यहाँ अनुगमन नभएका होइनन् तर नाम मात्रको अनुगमनले आम उपभोक्ताहरू मारमा परेका छन् । कोरोनाले थिलथिलो पारेको अर्थतन्त्रबाट गुज्रिएका उपभोक्ताहरुलाई व्यापारीले हरेक सामानमा मूल्यवृद्धि गरेर निराश पार्ने काम गर्दासमेत सरकार मूकदर्शक बन्नुले राज्यको चरित्र छर्लंग भएको छ । जनतामारा व्यापारीलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा राज्यले महंँगी नियन्त्रण गर्नेतर्फ नलाग्नुले पनि कतै व्यापारीसंँग राज्य मिलेको त होइन भन्ने प्रश्न उठेको छ । आम जनताको समस्यालाई सरकारले सम्बोधन गर्न जरुरी छ । सरकार भनेको जनताको अभिभावक पनि हो । त्यसैले पनि मूल्य वृद्धि नियन्त्रणमा सरकारले चासो देखाउन जरुरी छ । यसो गर्न सके जनताले राहतको महसुस गर्न सक्ने छन् ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update