Shittalpati
विकास र समृद्धिका लागि शान्ति

कुनै पनि क्षेत्रको विकास तथा समृद्धिका लागि शान्ति आजको अपरिहार्य आवश्यकता बनिसकेको छ । शान्ति विना कुनै पनि देशको विकास र समृद्धिको कल्पना समेत गर्न सकिदैन । जहाँ शान्ति हुन्छ, त्यहाँ स्वतः विकासमूलक कार्यक्रमहरू विस्तार भएर जान्छन् । शान्तिलाई नै विकासको जग मान्न सकिन्छ । शान्ति र विकास यस्ता दुई पाटा हुन् जसको एकार्कासँग नजिकको सम्बन्ध रहेको हुन्छ । तर नेपाल जस्तो विकाशिल देशमा शान्तिको अभाव रहेको छ ।

अहिले पनि हाम्रो समाज हिंसा र विभेदको चक्रव्यूहमा जेलिएकै छ । साधन र स्रोतहरुको न्यायपूर्ण विभाजन हुननसक्दा समाज अव्यवस्थित बन्दै गएको छ । न्यायप्रणालीसमेत विभेदकारी भैरहेको अवस्थामा शान्तिको भ्रमले काम गर्न छोडेको छैन । शान्तिको अपेक्षा स्वाभाविक भए पनि त्यसलाई खल्बल्याउने तत्वहरु हाबी हुँदा शान्तिले ढुक्कसँग सास फेर्न पाएको छैन । हिंसाहरु अर्को नयाँ हिंसा उत्पादन गर्ने संयन्त्र हुन् । देशमा हिंसाको रुपमात्रै परिवर्तन भैरहेको छ, तर त्यसको असर भने न्यूनीकरण भएको छैन । विस्तृत शान्ति सम्झौतालाई आधार मान्दै २०६५ देखि प्रत्येक वर्षको सेप्टेम्बर २१ मा शान्ति दिवस मनाउन थालिए पनि त्यस सम्झौताअनुरुपको भावना र मर्मलाई भने आजसम्म आत्मसात् गर्न सकिएको छैन । यो आफैमा दुखद् हो । मूलतः सशस्त्र संघर्षको अन्त्य हुनु भनेको शान्तिको आधार तयार हुनु त हो, तर त्यसका रुप र सारहरु अनेक प्रकारले अहिले पनि देखा परिरहेको अवस्थामा शान्तिप्रति रहेको जोखिमलाई कम आकलन गर्न सकिँदैन । शान्ति प्रक्रियालाई सार्थक तुल्याउने हो भने सशस्त्र द्वन्द्वजस्ता क्रियाकलाप जन्माउने आधारहरुलाई सम्बोधन गर्नुपर्छ । यस्तो गर्न सकेको खण्डमा मात्र देशमा विकास र समृद्धि हासिल गर्न सकिन्छ । अन्यथा द्धन्द्ध र अशान्तिका कारण कहिल्यै पनि विकास र समृद्धि हुन सक्दैन ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update