Shittalpati
सोह्रश्राद्ध प्रारम्भ

दिवंगत सबै पितृहरूको कल्याण गर्ने उद्देश्यले पिण्डदान गर्ने पर्व सोह्र श्राद्ध हो । सूर्य कन्या राशिमा प्रवेश गर्दा यो पर्व पर्छ । हिन्दु धर्ममा विशेष रुपमा लिइने सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्धअन्तर्गत पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आजदेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । १६ दिनको यो पितृपक्षमा पितृको मृत्यु तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारिक शुरुवात हुने गर्दछ ।

सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ–आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्द छन् । यसरी पूर्णिमाबाट शुरुभएको पितृपक्ष औंशीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यु तिथिका दिन हिन्दूधर्मावम्वीहरुले पितृकर्म अर्थात् श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ । सोह्रश्राद्धमा पिताको तिथि भेट्टाएमा पिताको तिथिमा नभए पितामहको तिथिमा यसमा पनि नभए प्रपितामह (जिजुबाजे) को तिथिमा श्राद्ध गर्नुपर्छ । यदि जिजुको तिथिमा पनि श्राद्ध गर्न नपाए त्यस पक्षमा जुन तिथिमा मिल्छ त्यसैमा श्राद्ध गर्नुपर्छ । सनातन धर्ममा वर्णाश्रम धर्मका अनुयायीहरू पितृऋणत्राट मुक्त हुनका लागि तर्पण र श्राद्ध गर्नुपर्छ । द्विजातिलाई नित्य कर्म सन्ध्याबन्दनका साथ जलले तर्पण गर्ने निर्देशन शास्त्रद्वारा प्राप्त छ । मरणपछि तर्पण दिएर तृप्त गर्ने सन्तान होस् भन्ने प्रबल इच्छा सनातन धर्मका अनुयायीहरू सबैमा हुन्छ । यो आफैमा सकारात्मक छ । जुन पिता माताबाट हामीलाई यो शरीर मिल्यो, लालन पालन भयो मरेपछि उनीहरूका लागि कुनै विशेष सत्कार गर्न सकेनौं भने त्योभन्दा ठूलो कृतघ्नता अरू केही हुन सक्दैन । मातापिताको ऋण सय वर्ष भोग्न सयौं जन्मसम्म पनि तिर्न सकिँदैन । उनीहरूको नाममा दान गर्दा उनीहरूको आत्मा तृप्त हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update