Shittalpati
घाम नझुल्किने मरुभूमि ‘खाडी’

नवराज बस्याल
तानसेन, पाल्पा
हाल खाडी

झण्डै–झण्डै जीन्दगीको तीन दशक बित्नलाग्दा चार दिन लगातार घरबाहिर रात नबिताएको म त्यो दिन एक्कासी परदेश हानिएको थिए । मेरो परदेश यात्रा त्यतिबेला नै सुरु भएको थियो जतिबेला पासपोर्ट बनाउने फारम भर्दै थिए । म सोच्दथे परदेश जान पाए साच्चिकै जीन्दगी सप्रीन्छ होला, आर्थिक अवस्था त पक्कै बलियो नै हुन्छ ! गाउँले दाजुभाइ परदेशबाट आउदाँको त्यो शान, पातला मान्छेको शरीर पनि एक्कासी मोटो झ्याट्ट हेर्दा नचिनिने भएर आउँदा सुनौलो सपना बोकी जीवनको यात्रा गर्न समय लाग्दो रहेनछ । कुनै–कुनै निर्णयहरु क्षणिक आवेग हुन सक्छन् अथवा निकै महत्वाकांक्षी तर दिमाग दिल बाझिएको अबस्थामा होस् वा सहयात्री नै रहेको अवस्था होस् निर्णायक क्षण इतिहास बनिसक्दो रहेछ अनि भोगाइ जीन्दगीभर, सायद मृत्यु पछी पनि !

यात्रा परदेश तिर थियो जसरी हुन्छ छिटोभन्दा छिटो हवाईजहाजमा उड्नु पर्ने थियो मलाई । यसैले दायाँबायाँ नसोधी/नसोची हानिए काठमाडौं । काठमाडौ आएसकेपछी सुन्दा निकै मिठो लाग्ने तर भोग्दा अत्यन्तै तितो ‘दलाल’को चुङ्गुलमा परिसकेको रैछु भनेर थाहा पाए तर अब त जानीजानी जालमै बस्नुपर्ने बाध्यता थियो मेरो । किनभने त्यहीँबाट घर फर्कन सम्भव थिएन । दलाल पनि अचम्मका हुँदा रहेछन् । जानीजानी फस्न मन लाग्ने । १७ दिन काठमाडौ बसाई पछि चढे हवाइजहाज, ओर्लिए परदेशी ‘खाडी’ झभुमीमा । जब बिमानस्थलमा ओर्लिए त्यतिबेला नै मलाई थाहा भयो मैले सोचेको र अब भोग्नुपर्ने परदेश समान छैन भनेर ।

विमानस्थमा ओर्लिएपछिको त्यो चार घण्टा, त्यो बिरानो ठाउँमा यसै अलमल्ल परे कहाँ कता जाने पत्तो छैन लिन आउने आउदैनन् । बल्लतल्ल आइपुग्यो । त्यहाँको दलालले लिएर गयो एउटा कोठामा । त्यहाँ पुगेपछि पहिला मोबाइल चार्ज गर्न ठाउँ खोज्दै थिए, कोठामै भएको अर्कोले सुनाइहाल्यो मोबाइल चार्ज गर्न लाइनमा राख्नुस् भोलिसम्म पालो आउँछ । कोठा चारैतिर हेरे मुस्किलले चार जना अटिने रहेछ, बुझ्दै जादा सुत्ने बेलासम्म पन्ध्र उस्तै समयमा बीस जनासम्म जम्मा हुने रहे छन् । त्यहाँ बस्न सम्भव थिएन, मेरो भाग्य बलियो भन्नुपर्छ सोही ठाउँमा मेरो दाजु, साथीभाई हुनुहुन्थ्यो । दाई आइपुग्नुभो सिधै भन्नू भो यहाँ नबस हिड् मेरो कोठामा ! मसँग जवाफ थिएन लुरुलुरु दाइको पछि लागे ।

परदेशी ठाउँ अब आफैले काम खोज्नुपर्ने । करिब करिब एक महिनाको दाइको कोठाको सहज बसाइपछी भेट्टाए काम । त्यतिबेला के कस्तो काम सोचिन बस काम पाए सुरु गरे । खाडी भनेपछि गर्मी ठाउँ भाग्यबस घरभित्रै गर्नुपर्ने काम थियो मेरो । बिहान चार बजेदेखि रातको एघार बजे (बिचमा केहि घण्टा आराम) सम्म काम करिब–करिब चौध पन्ध्र घण्टा दैनिक काम चल्थ्यो मेरो । यसैगरी दैनिकी कटाउदा तीन बर्ष बितिसकेछ ।

यसबिचमा गाउँ घरकाले सोच्दा हुन फलानोले यति कमायो के सम्झिन्थ्यो तिनीहरुलाई के थाहा परदेशको हालत, यहाँको मेरो हालत । तर जहाँ पुगेर जे गरे पनि आफ्नो परिवार, गाउँ, साथीभाई आफन्तको सम्झना त किन हुँदैन र तर सबै मनमै थुपारेर राख्नुपर्ने बाध्यता रहेछ यहाँको । यहाँ काम नगरी बस्न नसकिने आज बिसञ्चो भो भोलि गरम्ला भन्न नपाइने, बिरामी पर्दा कोही कस्तो छ भनेर बोलाउने मान्छे समेत हुदैनन् । सोच्दथे मेरो शरीर पनि कतै बाकसमा त फर्कदैन ! कहिले काँही यसै बिरक्त लागेर आउथ्यो । धेरै पटक रोएको पनि थिए घरपरिवारको यादमा तर आँखैमा आँसु सुकाउथे आँसु झर्‍यो भने सङ्लो हुने थिएन रगतका थोपा बर्सन्थे आँखाबाट । घरमा के भनौं होला, तल्लार, माथिल्लार साथिभाइको हालखबर के छ होला ! गाउँमा नयाँ केहि हुँदै पो छ कि ? यस्तै यस्तै सोच्दै यहाँको दिन रात कटिरहेको थियो !
मेरो मात्रै होइन अधिकाश परदेशीको कथा,व्यथा, दुखःसुख सबैको एकनास कै हुन्छ । कतिपयले दुख गर्दा गर्दै आफ्नो ज्यान गुमाएका हुन्छन् परदेशमा । धनको आशमा बर्षौ बितायो घर फर्कने समयमा संसार नै छोड्नु पर्ने ठाँउ हो परदेश । देखाई र भोगाईको जीवन कति फरक छ त्यो त हामी प्रदेशीलाई मात्र थाहा हुन्छ ।

खाडी भन्ने बित्तिकै निकै गर्मी, टन्टलापुर घाम भन्ने सुनेको बुझेको मैले तर मेरा लागि नितान्त फरक थियो अवस्था ! तीन बर्षभन्दा बढीको बसाइमा मैले कतिबेला घाम उदाउथ्यो कतिबेला अस्थाउथ्यो देख्न पाइन । जेल जीवनजस्तो थियो दिनचर्या । साच्चै घाम नझुल्कीने मरुभुमी नै थियो मेरो लागि ।
(लेखक नवजनचेतना राष्ट्रिय दैनिकका पूर्व पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update