Shittalpati
चाडपर्वमा मात्रै अनुगमन

विगतमा जस्तै दशैंको मुखमा आएर बजार अनुगमन हुने परम्पराले यसपटक पनि निरन्तरता पाएको छ । विशेषगरी दशैं तिहार जस्ता ठूला चाडपर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने क्रमले निरन्तरता पाएको हो । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहन्छन् । तर पनि अनुगमन र कारवाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दशैं तिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय हुने गरेका छन् ।

गत बुधबार तानसेनका पसलहरूमा बजार अनुगमन भएको समाचारहरु बाहिर आए । चाडपर्व आउन लाग्दा मात्र यहाँ अनुगमन गर्ने प्रचलनले अहिले पनि निरन्तरता पायो । बजार अनुगमन गरिनु राम्रो हो तर चाडपर्वको बेलामा आएर मात्र गरिनुले अनुगमनको खास अर्थ राख्दैन । वर्षभरि गर्नुपर्ने काम चाडपर्वको मुखमा मात्र गरिनु दुखद् हो । बजारभाउ आकाशिएको छ । दैनिक उपभोग्य सामानको मूल्यले उपभोक्ता मारमा परेका छन् । तर पनि अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको सरोकारवाला एवम् सरकारी निकाय दसैंतिहार नजिकिन थाल्दा मात्रै बजार अनुगमनमा सक्रिय देखिन थालेका छन् । यो वर्ष मात्रै होइन हरेक वर्ष पाल्पामा दसैं अगाडिदेखि बजार अनुगमनको कर्मकाण्ड यही रुपमा चलिरहेको छ । अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ । गुणस्तहीन खाद्यवस्तुले चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि मानिसको स्वास्थ्यमा हानी गर्छ । यो सम्बन्धित निकाय बुझ्न जरुरी छ । चाडपर्वको समयमा मात्र अनुगमन हुने र त्यसपछिको समयमा खासै अनुगमन नहुने क्रम दोहोरिएपछि बजारमा अखाद्यवस्तुको विक्री निरन्तर हुने गर्दछ । सरकारले बजार अनुगमनको कार्य नियमित रूपमा वर्षैभरि गर्न सकेमात्र उपभोक्ताका लागि सहज हुन्छ । अन्यथा, मौसमी अनुगमनले अनुगमनकर्तालाई मात्र फाइदा हुने र उपभोक्ता भने सधै मर्कामा परिरहने हुन्छन् ।

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update