Shittalpati
मन्त्रिमण्डललाई पूर्णता देऊ

नयाँ सरकार गठन भएको तीन साता वितिसक्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । नेपाली काँगेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले सत्तारूढ गठबन्धनमा आवद्ध दलहरूबीचको आन्तरिक किचलोका कारण मन्त्रिमण्डल विस्तारलाई पूर्णता दिन नसकेको हो । गठबन्धन दलहरुमा मन्त्रीका आकांक्षीहरु धेरै देखिएकाले प्रधानमन्त्री देउवालाई मन्त्रीमण्डल वितार गर्न सकस देखिएको छ । यो सम्पादकीय तयार पार्दासम्म सरकारले पूर्णता पाउन सकेको छैनन् ।

प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिमण्डललाई पूर्णता दिन नचाहेका भने होइनन् । तर सत्ता साझेदार दलबीच विमति हुँदा मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदै गएको हो । यसो भन्दैमा शेरबहादुर देउवा उम्कन भने पाउँदैनन् । उनले जसरी पनि वर्तमान समस्या समाधानका लागि छिटो भन्दा छिटो मन्त्रीमण्डल विस्तार गर्नु पर्दछ ।मन्त्रिमण्डलको विस्तारको ढिलाइले पनि खासगरी महामारी नियन्त्रणमा गम्भीर असर पारेको देखिन थालेको छ । नागरिक जीवनलाई सुचारु गर्न राज्यले निर्वाह गर्नुपर्ने भूमिकामा नेतृत्वमा रहेको तरलताले असर पार्नु स्वाभाविकै छ । कोरोना भाइरस विरुद्धको खोपको समयमै उपलब्धता र न्यायोचित वितरण गर्नुपर्ने बेलामा सत्ताकेन्द्रित किचलोले थप समस्या सिर्जना गरेको छ । देश समस्यामा छ । महामारीको पीडा र भोगाइ छ । विकास निर्माणका काम असरल्ल छन् । प्रणाली सञ्चालनको परिपाटीमा सुधार आउन सकेको छैन । यो राम्रो संकेत होइन । यस्तो बेलामा सरकारले तीव्र गतिमा आफ्नो काम गर्नुपर्नेमा सामान्यरूपमा अगाडि बढाउनुपर्ने कामसमेत अगाडि बढाउन सकेको छैन । मन्त्रीमण्डल विस्तार एउटा सामान्य प्रक्रिया हो । राजनीतिक दलहरूले एकै दिनमा टुंगो लगाउन सक्ने विषयमा समेत दिनहुँ भेटवार्तामा बिताउने गरेका छन् । सत्तारूढ गठबन्धनमा दैनिकरूपमा मन्त्रिमण्डल विस्तारको एजेन्डामा दौडधूप हुने गरे पनि सार्थक परिणाम आउन सकिरहेको छैन । पाँच जना मन्त्री नियुक्त गरेर प्रधानमन्त्री देउवाले काम गरिरहेका छन् । विगतमा पनि मन्त्रिमण्डल विस्तारमा झमेला र विवाद नभएको होइन । तर सरकार गठन हुनुपूर्व सत्तारूढ गठबन्धनले गरेको प्रतिवद्धताअनुसार पनि अगाडि बढन सकिरहेको छैन । यो अत्यन्त दुःखको कुरा हो । अहिलेको समस्या समाधानका लागि भए पनि छिटो भन्दा छिटो सरकारले पूर्णता पाउनु पर्छ । तसर्थ प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिमण्डललाई पूर्णता दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update