Shittalpati
स्तनपान सप्ताहको सान्दर्भिकता

विश्व स्तनपान सप्ताह नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरूपमा मनाइँदै छ । विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापीरूपमा मनाइन्छ । यो सप्ताहको मुख्य उद्देश्य स्तनपान र यसको महत्वका बारेमा जनचेतना फैलाउनु, वकालत गर्नु र प्रभावकारी ढंगले आमाहरुको स्तनपान गर्ने बानी–व्यवहारमा परिवर्तन ल्याउनु हो । बालबलिकाको मृत्युदर कम गर्ने सबै प्रतिकारात्मक उपायमध्ये पूर्ण स्तनपान एकमात्र सबैभन्दा प्रभावकारी उपाय भएको अध्ययनहरुले देखाएका छन् । एक तरिकाको सर्वमान्य कथन नै छ कि, आमाको दूधलाई प्रतिस्थापन गर्ने कुनै पनि कुरा छैन । आमाको दूधले आमा र बच्चामा गर्ने अनगिन्ती फाइदालाई बुझेर सन् १९९० को इनोसेन्टी धोषणा पश्चात् सन् १९९२ देखि अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउन थालिएको हो । सन् २०१६ पछि त स्तनपानलाई दिगो विकास लक्ष्यसित जोडेर हेर्न थालिएको छ । दिगो विकास लक्ष्यमा उल्लेखित सम्पूर्ण १७ वटै लक्ष्य प्राप्त गर्नमा स्तनपानको ठूलो महत्व रहेको छ । यसैले पनि यो सप्ताहको सान्दर्भिकता बढेर गएको देखिन्छ ।
आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । दूधले बच्चालाई धेरै रोगहरूबाट लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । जस्तै शारीरिक, मानसिक र बौद्धिक क्षेत्रमा मात्र नभई स्वस्थ वातावरणका लागि समेत स्तनपानको महत्व फराकिलो छ । एक ब्यक्ति स्वस्थ हुन उसलाई विभिन्न सामाजिक, आर्थिक, शैक्षिक, सँंगै पौष्टिक आहारको विशेष भूमिका रहेको हुन्छ । प्रत्येक आमाहरुलाई स्तनपानका सहि तरिका र फाइदाहरु बुझाउन सके पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने बिरामी र मृत्युदर कम गर्नुका साथै भविष्यमा हुन सक्ने स्वस्थ समस्याको न्यूनीकरण गर्ने सरल, सजिलो र कस्ट इफेक्टिभ समाधान हुन्छ । तसर्थ आमाहरुलाई स्तनपानको महत्व र फाइदाका विषयमा बुझाउन सके मात्र स्तनपान सप्ताहको सान्दर्भिकता पुष्टि हुन सक्छ ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update