Shittalpati
काँग्रेस महाधिवेशन अनिश्चय

नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा नहुने संकेत बढेको छ । जसले गर्दा महाधिवेशन अनिश्चयको बन्दी बनेको छ । अनेक असहमति, विवाद, तेरो मेरो, अनि तल्लो तहमा नै एक–अर्का प्रतिस्पर्धीलाई किनारा लगाउने रणनीतिका कारण तल्लो तहदेखि केन्द्रीय तहमा समेत निर्णय क्षमता ह्रास भएको देखिन्छ । चार वर्षको कार्यकाल थप हुँदै पार्टीको विधान र देशको मूल संविधानले निर्धारण गरेको समयावधि पनि अब जम्माजम्मी ३० दिनभन्दा बढी छैन ।

पटक–पटक स्थगित हुँदै आएको महाधिवेशन आगामी भदौ १६ देखि उद्घाटन हुने तालिका तय भएको छ । तर क्रियाशील सदस्यता वितरणको समस्याले महाधिवेशन प्रभावित हुने खतरा बढेको छ । काँग्रेसको साउन ९ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैंठकले वडा अधिवेशन स्थगित गरेको छ । १२ साउनमा निर्धारित वडा अधिवेशन सार्ने काँग्रेसको निर्णयले महाधिवेशन निर्धारित समयमा नहुने अनुमान गर्न थालिएको छ । किनभने अझैपनि काँग्रेसको क्रियाशील सदस्यता वितरणमा विवाद कायमै छ । यसअघि पनि क्रियाशील सदस्यता वितरण लगायतको समस्या देखाएर चार वर्षमा हुनुपर्ने महाधिवेशन हुन सकिरहेको छैन । अहिलेसम्म न्यूनतम काम पनि नहुँदा अधिवेशन अनिश्चित देखिएको छ । महाधिवेशनका लागि अनिवार्य तीन विषयको टुंगो नलागेसम्म महाधिवेशन अनिश्चित नै हुने छ । पहिलो क्रियाशील सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने, निर्वाचन समितिले निर्वाचन निर्देशिका जारी गरी निर्वाचनका लागि अधिकृत तोक्ने र अन्य राजनीतिक दलबाट आएकाहरूलाई समायोजित गर्नुपर्ने छ । तर, यी तीनै कामहरू अहिले सम्पन्न भएको अवस्था छैन । अहिले पनि नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा केही जिल्ला र क्षेत्रका प्रतिनिधिहरू कुनै आमरण अनशन त कोही धर्नामा बसिरहेका छन् । हुन त निर्धारित समयमै महाधिवेशन गराउनु अब काँग्रेसका लागि संवैधानिक बाध्यता हो । तर काँग्रेसको यो गतिविधिले त्यो संवैधानिक बाध्यता पनि तोडिने खतरा बढेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update