Shittalpati
विदेश पलायन र यसले निम्त्याएको निराशा

दुर्गा प्रसाद अर्याल

युवालाई देशको उच्च जनशक्ति तथा मानव स्रोत मानिन्छ । युवा विनाको आर्थिक विकास र देश भित्रको स्रोत साधनको परिचालनको कल्पना पनि गर्न सकिदैन । अभिभावकलाई आफ्ना छोराछोरीको ठूलो भरोसा हुन्छ भने, देशलाई त युवा वर्गको भरोसा नहुने त कुरै भएन । भनिन्छ विदेश पलायन रहर होइन बाध्यता हो । आफू जन्मे पछि हुर्केको माटोलाई चटक्कै छोडेर जाने रहर त कसैलाई पनि हुँदैन । तर देशको अस्थिर र अव्यवस्थित अवस्थाले विदेश पलायनलाई भने वृद्धि गरेको पाईन्छ । नेपाल सरकारका सचिव, अधिकृत, प्राध्यापक ,शिक्षक नेपाल सरकारको सेवाबाट राजिनामा दिएर वा अनुमति विना नै डिभी परेका कारण नेपाल छोडेर अमेरीकामा गए । अन्तर्राष्ट्रिय खेलमा भाग लिन गएका खेलाडी सम्पर्क विहिन भए । विदेश भ्रमणमा गएका जनप्रतिनिधि सम्पर्क विहिन भए । यी केहि प्रतिनिधि घटनाहरु हुन । यस्तै घटनाहरु खोज्न थाल्ने हो भने प्रसस्त मात्रामा यहाँ भेटिन्छन् । यस्तै यस्तै समाचारले प्राथमिकता पाइरहेको छ यहा वर्षौ देखी । यी समाचारले एकातिर हामीलाई लज्जाबोध बनाएको पाइन्छ भने अर्को तर्फ देश भित्रको अस्थिरता र अवसरको अवस्थालाई देखाउन खोजेको छ । सामान्य मानिस त अवसरको लागि विदेशीनु स्वभाविक नै हो तर देशको उच्च पदमा बसेका प्रतिष्ठा कमाएका व्यक्तिहरु पनि डिभी, पिआर तथा अन्य माध्यमको प्रयोग गरी स्थायी रुपमा अमेरीका, अष्ट्रेलिया बेलायत लगायतका देशमा स्थायी बसोवासको रुपमा जानुले भने प्रश्न चिन्ह पक्कै खडा गरेको छ । नेपालमा पछिल्लो समयमा विभिन्न माध्मको प्रयोग गरेर विदेशीने प्रवृत्ति तिव्ररुपमा बढेको पाईन्छ । कुनै रहरले, कुनै बाध्यताले र कुनै देशको अस्थिरता र बेथितिले स्थायी र अस्थायी दुवै रुपमा विदेशीने गरेको पाईन्छ । कहिलै समाधान गर्न नसकिने बेथितीले नागरिकमा छाएको निराशाका कारण उत्पन्न पलायनको विषय यसमा उल्लेख गरिएको छ । यि नै र अलि फरक विषय वस्तुलाई आजको यस लेखमा चर्चा परिचर्चा गर्न खोजिएको छ ।

जहानीया राणा शासनदेखि लिएर हालसम्मको गणतन्त्रसम्म आउदा जनतामा आशा र सन्तुष्टि होइन निरासै निराशाले भरिएको पाईन्छ । नेपाल सरकारको इञ्जिनियरिङ सेवामा कार्यरत उप सचिव सबै कुरा त्याग गरेर अष्ट्रेलिया स्थायी बसोवासको रुपमा गएका व्यक्तिसँग भेटभयो किन यस्तो प्रतिष्ठाको जागीर छोडेर अष्ट्रेलिया जानु भयो उहाँको उत्तर थियो यो देशमा अवसर र सिस्टम छैन । जहिले पनि राजनितिक अस्थिरता र सरकारको परिवर्तन दर देख्दा नै वाक्क लाग्यो मलाई त हाम्रो भविष्यत यहि अस्थिरता देखेर गयो । बच्चा बच्चीको भविष्य पनि यस्तै गरी वित्ने डर भो त्यसैले म नेपाल छाडे । यो उत्तर सुनेर मन खिन्न भयो हुन पनि राणा शासन,प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र विभिन्न शासन प्रणाली नेपाली जनताले सामना गर्न पर्‍यो । एक पछि अर्को शासन व्यवस्थालाई विकासको बाधक मानियो तर शासन गर्ने हाम्रो बादरे प्रवृत्तिको अन्त्य गर्न भने सकिएन । केन्द्रदेखी स्थानीय तहसम्म जहाँ हेर्‍यो जुन क्षेत्रमा हेर्‍यो बेथिति नै बेथितिले भरिएको छ । आफूले सरकार सञ्चालन गर्न नसकी असफल भएको मान्न नसक्ने तर व्यवस्थालाई भने दोष दिने प्रवृित्तको अन्त्य भने गर्न नसक्दा जनतामा व्यापक निराशा छाएको पाईन्छ । यसलाई सुधार गर्न न कुनै सरकारले सक्यो न कुनै राजनितिक दलले सक्यो ।

नेपालका राजनितिक दलहरु आफूले देश सञ्चालन गर्न नसक्ने, कहिले जनतामा गयो व्यवस्थालाई दोष दियो परिवर्तनका लागि आह्वान गर्‍यो । कहिले बहुुमत भएन भन्यो जनतामा गयो बहुमतका लागि आह्वान गर्‍यो । कहिले आफ्नैले मनपरी गर्न दिएन भन्यो जनतामा गयो । जनताले पनि एक पछि अर्को दलले भनेका कुरालाई साथ दिदै गए तर राजनितिक दलले जनतालाई भने विश्वास गर्ने र उत्साह थपिदिने कुनै पनि काम गर्न भने सकेनन् । जनताको जीवनस्तर र दैनिकी भने सधै उस्तै नै रह्यो । हाम्रा धार्मिक, साँस्कृतिक र ऐतिहासिक पहिचानहरु राजनितिक दलले सस्तो लोकप्रीयता र भोट पाईने आसमा राजनितिक दलहरुले मेटाइदिए । हरेक क्षेत्रमा राजनितिक भागवण्डाले प्रभाव पार्‍यो अझै पुरस्कार वितरण जस्तो कार्यमा पनि यो अलग हुन सकेन जसको कारण राजनीतिक पहुँच नहुनेहरु सबै अवसरबाट बञ्चित हुनुपर्‍यो जसको कारण विदेश पलायन हुनेको संख्या अत्याधिक मात्रामा बढेको पाईन्छ ।

सरकारले प्रकाशन गर्ने आर्थिक तथ्याकं देशको यर्थाथ चित्रण गर्ने खालको हुनुपर्ने हो तर यो पनि सरकार पिच्छे फरक हुनु र गलत तथ्याकं राखेर भए पनि जनतालाई अलमल पारी सरकार सफल भएको र सरकारले सुधार गरेको देखाउने प्रतिस्पर्धा बढेको पाईन्छ । आजको २१ औं शताव्दीमा पनि सरकारबाट यस्ता कार्य गरेको देख्दा जनतामा निरासा छाएको छ । विकास, योजनाका कार्यान्वयनको अवस्था, ति योजनाहरु सम्पन्न भईसके पछिको गुणस्तरको अवस्था , त्यसमा खर्चको अवस्थालाई हेर्ने हो भने अलि अलि शिक्षित र चासो राख्ने नागरिकमा निराशा उत्पन्न गराएको छ ।

वि.स २०४७ देखि हाल सम्म करीव ३२ वर्षमा २८ वटा सरकार परिवर्तन भएको देखिन्छ भने कुनै सरकारको कार्यकाल जम्मा २ महिना मात्र पनि रहेको देखिन्छ । यो अवस्थाले विकास र समृद्धि तथा योजनाको सफल कार्यान्वयनमा अवरोध त सिर्जना गरेको छ नै त्यो भन्दा बढी यसले नागरिकमा निराशा उत्पन्न गराएको छ । जसको परिणाम स्वरुप युवाहरुमा स्थायी तथा अस्थायी रुपमा विदेशीने कार्यमा प्रोत्साहन गराएको पाईन्छ । विगत ५ वर्षको अवधिमा करीव ३५ लाख युवा पलायन भएको कहालीलाग्दो र निराशाजनक तथ्याकं रहेको छ । यस अलावा ५० लाख मानिसहरु विदेश पलायनको तथ्याकं रहेको पाईन्छ । जनता र देशको सीमा सुरक्षामा सुरक्षाकर्मीको अभाव बनाई वर्तमानदेखि भूतपूर्वसम्मका विशिष्ट व्यक्तिलाई आजिवन सुरक्षा तथा अन्य सुविधा दिएको देख्दा र प्रसस्त सम्पत्ती भएका व्यक्तिलाई ऐन नियम मिचेर स्वास्थ्य उपचार दिने तर नागरिकले सिटामोल र जीवनजल पनि नपाउने अवस्था र यसलाई जुनसुकै शासन व्यवस्था आउदा पनि परिवर्तन गर्न नसक्नुले जनतालाई निराशा र विदेशीन बाध्य बनाएको पाईन्छ ।

सामान्यतया विदेश पलायन आर्थिक र गैर आर्थिक कारणले उत्पन्न हुने गर्दछ । आर्थिक समस्यामा परेका गरीव वर्ग र रोजगारी नपाएर हैरान भएका वर्ग भने मलेशीया, दुवै, कतार लगायतका देशमा हुमिएको पाइन्छ भने गैर आर्थिक कारणले उत्पन्न विदेश पलायन भने अमेरीका,अष्ट्रेलीया लगायतका देशमा केन्द्रित भएको पाईन्छ । यी दुवै अवस्था आउनुको मूख्य कारणको रुपमा अस्थिर राजनिति, सधै सत्ता र कुर्सीको खिचातानी , रोजगारी र अवसरमा वृद्धि ल्याउन नसक्नु , अव्यस्थित राज्य सञ्चालन प्रणाली आदि रहेका छन् । यी समस्याहरुको समाधान गर्न नेपालका राजनितिक दल र यीनका नेतृत्वहरु प्रतिवद्ध हुन जरुरी छ । असल शासनको अभ्यास व्यवस्थित राज्य सञ्चालन गरी जनतामा उत्पन्न वितृष्ण र निराशाको अन्त्य गर्न सक्ने हो भने पक्कै पनि विभिन्न किसिमका विदेश पलायनलाई रोक्न सकिने थियो की ? (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)

 

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update