Shittalpati
असल प्रशिक्षक लागि प्रशिक्षण कला

मानिसलाई मात्र आवश्यक होइन कि प्रशिक्षण कार्यक्रम हरेक जीवहरुलाई पनि उसको आफ्नो आवश्कता अनुसार प्रशिक्षण दिन जरुरी पर्दछ । जसरी मानिसलाई जीवनमा हरेक तहबाट प्रशिक्षणको आवश्कता पर्दछ त्यसैगरी गोरु, घोडा, बाँदर, भालु, हात्ती, सुगा जस्ता जनावरलाई पनि मानिसको आफ्नो अनुकुल बनाई राख्नका लागि विभिन्न समयमा उनीहरुलाई तालिम दिइन्छ । प्रशिक्षणको आवश्यकता किन पर्छ भन्ने बारेमा मानिसले जानेको ज्ञानलाई जीवन्त राख्नका लागि र समय अनुसार थप ज्ञान प्राप्त गर्दै जानका लागि मानिसलाई प्रशिक्षण चाहिन्छ । हामीले आफु आफुमा जानेका ज्ञान र सीप तथा कलाको साटासाट वा आदानप्रदान बेला बेलामा गर्नुपर्ने हुन्छ ।

कुनै पनि कार्य सुरु गर्नु भन्दा पहिला त्यस कार्य माथि जानकारी राख्नका लागि वा सफलता पुर्वक सम्पन्न गर्नका लागि अनुभव प्राप्त व्यक्तिबाट तालिम अर्थात प्रशिक्षण उपलब्ध गराइन्छ । तालिम समूहमा मात्र नभएर व्यक्तिगत रुपमा पनि आवश्यक हुन्छ । भनिन्छ कि -- (education begins from crsdle to grave)  कुनैपनि व्यक्ति ज्ञानले पूर्ण हुन सक्दैन र कसैले आफुलाई पूर्ण ठान्छ भने त्यो व्यक्ति मुर्ख हो । मानिसलाई सधै आवश्यक पर्ने शिक्षण र प्रशिक्षण के हो र यसमा के फरक छ ? असल प्रशिक्षक बन्न के गर्नु पर्ला ? प्रशिक्षण कला के हो ? यस बिषयमा तलका लेखमा प्रष्ट्याउने कोशिस गरिन्छ । शिक्षण भनेको कुनैपनि विषयमा शिक्षा दिने वा ज्ञानार्जंन गराउने काम वा अध्यापन हो अर्थात कुनै बिषय सिक्ने सिकाउने काम र तालिम भनेर बुझिन्छ ।

शिक्षण विधि भन्नाले विद्यार्थीलाई शिक्षा दिने तरिका वा परिपाटी हो । विद्यालयमा शिक्षण विषयमा शिक्षकले भूमिका निभाउँछ । अर्कोतिर प्रशिक्षण भनेको प्राविधिक विषयहरुमा क्रियात्मक वा व्यवहारिक शिक्षा दिने कामसप्रायोगिक शिक्षा दिने वा त्यस सम्बन्धमा तालिम दिने कामः प्राविधिक वा शिल्पगत शिक्षण हो । अर्कोतिर प्रशासनिक कार्यविधि एवं अन्य व्यवहारिक विषयहरुको विशेष किसिमको शिक्षा भन्ने बुझिन्छ । यस लेखमा शिक्षण भन्दा पनि प्रशिक्षण कला बारे छलफल गर्ने कोशिस गरिने छ । विभिन्न विषयमा जानेका ज्ञानहरुलाई सबैले एकरूपताका साथ बुझ्नका लागि वा एकै तालमा हिड्ने र हिडाउनका लागि प्रशिक्षणको आवश्यकता पर्दछ । जानेका बिभिन्न विषयमा प्रशिक्षण दिने वा ज्ञान आदान–प्रदान गर्ने, एक आपसमा छलफल गर्ने गराउने व्यक्तिलाई प्रशिक्षक भनिन्छ ।

प्रशिक्षकको भूमिका के हो र उ कसरी अगाडी प्रस्तुत हुनुपर्छ वा प्रशिक्षकमा के के ज्ञान हुनुपर्ला ? यस विषयमा प्रशिक्षकले जान्न आवश्यक हुन्छ । किनकी प्रशिक्षण दिनुभन्दा पहिला प्रशिक्षक स्वयं तयारी अवस्थामा आत्मविश्वासका साथ कमजोरी नदेखाउने गरी प्रस्तुत हुनुपर्छ । जसरी एउटा शिक्षक आफ्नो तयारी बिना कक्षमा जानु हुदैन त्यसैगरी एउटा प्रशिक्षक पनि तयारी बिना प्रशिक्षण हलमा प्रवेश गर्नु हुदैन । भनिन्छ नजान्न पाइन्छ तर नसिक्न पाइन्न यसैले एउटा प्रशिक्षकले म को हुँ भन्ने थाहा पाउनुपर्छ । कुन विषयमा प्रशिक्षण दिने हो त्यस विषयमा प्रशिक्षकले राम्ररी जानकारी राख्नुपर्ने हुन्छ ।

अवधारणा – सबैभन्दा पहिले प्रशिक्षकले प्रशिक्षणको अवधारणा (concept) बारे प्रष्ट हुनुपर्छ । प्रशिक्षण के हो ? प्रशिक्षण र शिक्षण बिच के भिन्नता छ ? प्रशिक्षण किन र के का लागि आवश्यक पर्छ ? यस्ता प्रश्नको हल गर्न सक्ने क्षमता प्रशिक्षकले राख्नुपर्छ । प्रशिक्षण के हो र यसमा मेरो भूमिका के हुन्छ भन्ने बारे बुझ्न जरुरी हुन्छ । प्रशिक्षकबाट स्रोताले के के गुणहरुका अपेक्षा गरेका हुने छन र के यसमा म ठीक छु ? भन्ने विषयमा प्रष्ट हुनुपर्छ । मसँग के–के कमजोरी छन् ति हटाउन के गर्नु पर्ला भन्ने पनि प्रशिक्षकले थाहा पाउनुपर्ने हुन्छ । प्रशिक्षण कसरी सञ्चालन गर्ने र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ? प्रशिक्षकले यसबारे सोच्नु पर्छ । तालिम पूर्वको तयारी तथा तालिम अवधिभर के–के गर्नुपर्छ अनि तालिम समापन कसरी गर्ने र तालिम पछि के गर्ने यस विषयमा पनि राम्रो ज्ञान राख्नु पर्छ ।

आफु कुन संस्थाको तर्फबाट प्रशिक्षक भएर प्रशिक्षण दिन जाँदैछु र म कसरी प्रस्तुत हुनु पर्ला साथै सहभागीहरु कस्ता कस्ता आउलान् ? उनीहरुलाई आफ्नो विषय वस्तुमा कसरी ध्यान केन्द्रित गर्नुपर्ला र स्रोतालाई झर्को नलाग्ने गराउन के उपाय प्रयोग गर्नु पर्ला ? यसमा पनि प्रशिक्षकले ख्याल गर्नुपर्ने हुन्छ । अवसर र प्रेरणा प्रदानः– सहभागीलाई तपाई सिक्न सक्नु हुन्छ किनकी तपाईमा पनि धेरै ज्ञान छ तपाई आफुलाई कमजोर नठान्नुहोस भन्ने प्रेरणा र प्रोत्साहन दिनु पर्छ । मैले गर्न सक्छु भने तपाईले त मैले भन्दा धेरै राम्रो गर्न सक्नु हुन्छ । तपाईमा भएका वा छरिएर रहेका ज्ञानलाई क्रमवद्ध गर्न मात्र म आएको हुँ जस्ता वाक्य प्रयोग गर्न सकिन्छ । प्रशिक्षकले आफ्नो प्रस्तुतीकरणमा बोल्दा धेरै थेगो प्रयोग गर्नु हँुदैन जस्तै चाइने जो, क्यानाम सो, त्याबातले, अर, जो छ जस्ता थेगो भरसक प्रयोग नगरेकै राम्रो हुन्छ । प्रशिक्षकले आफुले लगाउने पोशाकलाई पनि ध्यान दिनुपर्छ ।

प्रशिक्षण दिने बेलामा जिब्रो निकाल्ने, नाक कोट्याउने माइक फु फु गरिरहने र नर्भस हुने बानी हटाउनु पर्छ र सहभागीलाई पनि हटाउन लगाउनु पर्छ । सहभागीलाई बुझाउने तरिकाः– प्रशिक्षकले सहभागीहरुलाई आफ्नो विषय सुनाउने, सुनेर ग्रहण गर्न लगाउने, मन्थन गर्न लगाउने, आँखा चिम्लेर सोच्न लगाउने र आवश्यक अनुसार समूह विभाजन गरी काम गर्न लगाउन सकिन्छ । प्रश्न गर्ने क्षमता राख्न लगाउने सहभागीको विचारलाई महत्व दिने गर्नुपर्छ । दिमागमा टिकाई राख्ने क्षमता – प्रवचन विधिबाट सिकाईएका कुराहरु सहभागीले २० प्रतिशत मात्रै दिमागमा टिकाई राख्न सक्छन भने ३० प्रतिशत कुराहरु सहभागीले आफै पढेर सम्झन सक्छन् । ५० प्रतिशत कुराहरु विभिन्न चित्रहरु देखेर सँगसँगै सुनेर दिमागमा टिकाई राख्न सक्छन् । त्यसैगरी ७० प्रतिशत ज्ञान सहभागीहरुले छलफलमा भाग लिएर त्यही विषय वस्तुमा बोल्न लगाएर दिमागमा टिकाई राख्न सक्छन् । ९० प्रतिशत कुराहरु सहभागीहरुलाई अभ्यास गर्न लगाइयो भने वा सम्बन्धित विषयमा नै सहभागीलाई पढाउन लगाइयो भने दिमागमा टिकाई राख्न सक्छन् ।

प्रशिक्षकले सकभर ३० प्रतिशत आफु बोल्ने ७० प्रतिशत सहभागीहरुलाई बोल्न दिने वातावरण तयार गराउनुपर्छ । एकहोरो प्रवचनको माध्यमबाट सिकाउने कलालाई राम्रो मानिदैन । विच विचमा छोटो उखान, टुक्का र कथाहरु, छोटो भिडियो सुनाउँदै प्रशिक्षकले आफ्ना कुराहरु राख्नुपर्छ । बोल्दा शारीरिक हाउभाउ मिलाउने, आँखाको नजर सहभागी तिर लगाउने,बोल्दा एक ठाँउ नअडीने र विस्तारै अगाडि पछाडी गर्ने, धेरै अगाडि गएर धेरै समय नरोक्ने र शारीरिक मुद्रालाई पनि ध्यान दिनुपर्छ । 

प्रशिक्षक कलाः– प्रशिक्षण दिनका लागि प्रशिक्षकले विभिन्न कलाहरुलाई ध्यान पुर्‍याउनु पर्ने हुन्छ । प्रशिक्षक आफु विज्ञको रुपमा नभई सहजकर्ताको रुपमा उपस्थित भएको सहभागीहरुलाई जानकारी गराउनु पर्छ । सबै सहभागीहरुलाई सञ्चारको सीपको विकास गर्न लगाउनुपर्छ भने प्रशिक्षकसँग पनि सञ्चारको ज्ञान हुनुपर्छ । प्राप्त सूचनालाई कुशलता पूर्वक संप्रेषण गर्ने कला हुनुपर्छ । प्रशिक्षकले आफुमा भएको नराम्रा बानी हटाउने र सहभागीहरुलाई पनि नराम्रा बानी छन भने हटाउन लगाउनुपर्छ । प्रशिक्षण सञ्चालन गर्ने दिनभन्दा पहिले नै आवश्यक तयारीमा ध्यान दिनुपर्छ । कोठाको व्यवस्थापन, बसाई व्यवस्थापन, प्रविधिको प्रयोग बारे जानकारी, समयको विभाजन, विषयवस्तुको बाडफाड, सहभागीको पहिचान, मंच व्यवस्थापन, सम्बन्धित स्थानको वातावरण आदि सबै कुरामा होशियार पूर्वक ध्यान पुर्‍याउनुपर्छ । यसैगरी बिजुली छ कि छैन, बिजुली बन्द भएमा वैकल्पिक व्यवस्था के छ, प्राविधिक ज्ञान भएको मान्छे को छन्, मौसम कस्तो छ ? आदि कुराहरु जानकारी लिनुपर्छ । खाजा नास्ताको व्यवस्था र पानीको व्यवस्था समेतलाई पनि ख्याल गर्नुपर्छ । विच विचमा मनोरञ्जन कार्यक्रम सहित समयको व्यवस्थापन गर्नुपर्छ ।

प्रशिक्षकलाई आउने चुनौती – विशेष गरी राजनैतिक दलहरुको कार्यक्रममा कार्यक्रमको शिर्षक प्रशिक्षण भन्ने नाम दिएतापनि कार्यक्रम भाषणको शैलीमा सम्पन्न गरिन्छ वा गर्ने पनि चलन छ । सबैले यो बुझ्न जरुरी छ कि भाषण एकहोरो हुन्छ भने प्रशिक्षण दोहोरो हुन्छ । भाषणमा दिने मात्रै काम हुन्छ भने प्रशिक्षणमा लिने दिने दुवै हुन्छ । प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रममा मुख्य विषय वस्तुलाई ओझेलमा पारेर बढी भाषणभिषण हुने कामलाई कसरी हुन्छ निरुत्साहित गर्नुपर्ने एउटा विशेष चुनौती देखेको छु । प्रशिक्षण कार्यक्रममा प्रशिक्षकलाई भन्दा नेताजीहरुलाई महत्व दिनुपर्ने अर्को चुनौती हुन्छ यस्ता समस्यालाई पनि कसरी हुन्छ कम गर्दै लैजानुपर्छ ।

प्रशिक्षणमा सहभागीहरुलाई कार्यक्रमको अन्तिम सम्म कसरी टिकाई राख्ने र सहभागीहरुलाई प्रशिक्षण कार्क्रममा संख्यात्मक रुपमा कसरी बढाउने, प्रशिक्षक सहजकर्ताको रुपमा प्रस्तुत हुँदा कुन–कुन तरिका अपनाउने यस विषयमा पनि ध्यान दिनुपर्छ । सहभागीहरुले पढाएका कुराहरु बुझे नबुझेको पत्ता लगाउनु पर्ने हुन्छ । किनकी सबै सहभागीहरु बुझे पनि बोल्दैनन् बरु घरतिर जान, बाहिर गई चुरोट खैनी खान, फोन गर्न, फेसबुक चलाउन हतार हुन्छन् भने कसै कसैले ध्यानपूर्वक पनि सुन्छन् । प्रशिक्षकले यस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । समूह विभाजन गरी छलफल गराउदा स्थानको समस्या अर्थात अभाव आउन पनि सक्छ भने कसैले हलमा बच्चाहरु लिएर पनि आउँन सक्छन् त्यसको पनि व्यवस्थापन गर्नुपर्ने चुनौती हुन्छ । यस बाहेक अन्य चुनौतिहरु हुन सक्छन् यी चुनौतिहरुलाई सामना गरी अगाडि बढ्न सक्ने क्षमता जो सँग छ त्यसलाई कुशल प्रशिक्षक भनिन्छ ।

प्रशिक्षकको दावित्व – प्रशिक्षक भएर कुनैपनि कार्यक्रममा गई सकेपछि आफुलाई जिम्वेवार ठान्नु पर्छ । कार्यक्रम अवधिभर कसरी प्रशिक्षण सफलतापूर्वक सम्पन्न गर्ने र यस अवधिमा मैले के गर्नु पर्छ मेरो कर्तव्य के हो भन्ने बारे विर्सनु हुदैन । प्रशिक्षण सम्पन्न भइसकेपछि सहभागीहरुलाई यो अवधिको प्रशिक्षण कार्यक्रम कस्तो रहन गयो ? भन्ने बारे मूल्यांकन फारम भर्न लगाउने, प्रशिक्षणमा प्रयोग गरिएका सामाग्रीहरु सम्बन्धित ठाँउमा पुर्‍याइदिने, प्रशिक्षण सञ्चालन गर्दा यदि खाना र नास्ता एवं हल भाँडा बापतका हिसाबकिताब छन भने फर्छ्यौट गर्ने । प्रशिक्षण अवधिभर गर्नुपर्ने दैनिकी कार्य गर्न नबिर्सने र सैहाद्पूर्ण तरिकाले समापन गरी बिदावारी हुने वातावरण तयार गर्नुपर्छ । इमेल ठेगाना र फोन नं.पनि एक आपसमा आदानप्रदान गर्नु पर्छ ।

प्रशिक्षण सम्पन्न गर्नका लागि गएका समूहका सदस्यहरुले आफुलाई बराबर जिम्वेबार ठान्नुपर्छ । एउटा असल र कुशल प्रशिक्षक हुनका लागि धेरै कुराहरुमा ख्याल गर्नु पर्ने हुन्छ । एक पटकको प्रशिक्षण कक्षा ९० मिनेट भन्दा माथि हुनु हुदैँन । प्रशिक्षण दिदै गर्दा नरिसाउने र नझर्किने तथा मुस्कान सहितको उपस्थिति हुन आवश्यक हुन्छ । करिब करिब प्रशिक्षकमा सबै खाले अनुभव हुनु आवश्यक हुन्छ । अवस्था अनुसार चल्ने क्षमता पनि हुनुपर्छ जस्तै कार्यक्रम संचालन गर्ने, कार्यक्रमको सभापतित्वको भूमिका निभाउने, स्वागत मन्तव्य दिने, भाषण गर्ने र नेताको भूमिका निभाउने जस्ता बहुमुखी कला हुनु आवश्यक हुन्छ ।

किनकी प्रशिक्षकले के गर्दैछ कसो गर्दैछ भनेर सहभागीहरुले उसलाई हेरिरहेका हुन्छन् । विशेषगरी प्रशिक्षकले प्रशिक्षण प्रदान गर्दा आत्मभित्र बाटै ज्ञान प्रदान गर्नुपर्छ । प्रशिक्षकले प्रस्तुतिकरण गर्दा दुई प्रकारका बाटाहरु हुन्छन् । (१) सचेतीकरण (अयलकअष्भलतष्शबतष्यल) (२) अन्धविश्वास (उचयकभथितष्शबतष्यल) । एकदमै सचेतीकरण (अयलकअष्भलतष्शबतष्यल) अर्थात आत्मसचेतनाबाट प्रस्तुत हुनुपर्छ । सामन्य रुपमा प्रशिक्षकको मनमा डर पैदा भएको महशुस उसलाई भईरहेको हुन्छ । प्रस्तुत हुँदा डराउनु हुँदैन तर सचेत भने हुनुपर्छ किनकी सचेत हुनु भनेको डराउनु होइन । उपस्थित भएका अतिथिहरुलाई आफु भन्दा ठूला हुन् भन्ने बिर्सेर सहभागी नै हुन भन्ने ठान्नुपर्छ । प्रष्ट बोली, भाषा र शब्दको ज्ञान हुनुपर्छ । यी माथिका कुराहरु बाहेक पनि धेरै कुराहरु हुन सक्छन् सबै उपाय प्रयोग गरेर आफुलाई असल र कुशल प्रशिक्षकको रुपमा परिचय गराउनु होस । जय नेपाल !

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update