Shittalpati
पुस्ता हस्तान्तरण गरौं

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल वास्कोटाको अडियो प्रकरण पछि फेरी अनियमितताको लौरो प्रधानमन्त्री केपी ओली तर्फ सोझिएको छ । वहालवाला प्रधानमन्त्रीलाई अख्तियार दुरुपयोग अनुसन्धानमा यसरी उजुरी पर्नुलाई पनि महत्वका साथ हेरिएको छ । वहालवाला प्रधानमन्त्री केपी ओलीलाई अख्तियारमा उजुरी परेपछि, मुलुकका मन्त्रीहरु आफ्नो ओहोदाको ख्यालै नगरेर भ्रष्टाचारमा संलग्न भएको आशंकामा आमजनमानसमा नेता र राजनीति प्रतिको वितृष्णा जागेको हो कि भन्ने चिन्ता बढेको छ ।

जनताका लागि जनताबाटै निर्वाचित प्रतिनिधि, सरकारको जिम्मेवार व्यक्ति, मन्त्री र विभिन्न पदमा रहेका भिआइपीहरुबाट नै करोडौ रुपैयाँको भ्रष्टाचार हुनु आफैमा अत्यन्त्यै गलत कार्य हो । यसले देशको विकास भन्दा पनि मन्त्री र ठूला व्यक्तिहरुसंग अकुत सम्पत्ति हुने आमजनता गरीवीको रेखाबाट बाहिर निस्कन नसक्ने जस्ता काम भएका छन् । त्यसकारण पार्टी र जनताबाट मनुमोदित भएर सरकारको जिम्मेवारी पाएका व्यक्ति र कर्मचारीहरुबाट हुने गरेका आर्थिक अनियमितताहरुलाई सबै मिलेर रोक्न सक्ने हो भने मात्र देशले आर्थिक सम्वृद्धिको परिकल्पना गर्न सक्छ । अन्यथा देश सधैँ छिमेकी र धनी मुलुकको दासी बाहेक केही पनि हुन सक्दैन ।

जनतामा आशाको दीयो बल्ने भन्दा पनि निराशा र चिन्ताका खाडलहरु पर्ने बाहेक केही पनि हुन सक्दैनन् । नेपाली जनताले राणा, राजतन्त्र र बहुदलका नाउमा भएका बेथितिहरुलाई सहन नसकेका कारण नेपालमा संघीय लोकतन्त्रका लागि दोस्रो पटक जनआन्दोलन भयो । एक दशक लामो माओवादी युद्व र पुरानो राज्यसत्ताका अवशेष पनि नरहने गरि मुलुकको पुर्नसंरचनाका माध्यमबाट निर्माण भएको लोकतान्त्रिक संविधान निर्माण सँगै कार्यान्वयनमा समेत यहाँ बढेका अनियमितताहरुले छाँयामा परेको वर्तमान अव नयाँ पुस्ताका हातमा नआए सम्म मुलुकले दीशावोध गर्न सक्ने अवस्था देखिदैन । त्यसकारण हाम्रो आनीबानी मात्रै होइन, व्यवस्था मात्रै पनि होइन अव त देशको सरकार हाक्ने र जनताका भावना बुझ्ने खालका नयाँ पुस्ता, प्रविधियुक्त हातहरुलाई अगाडि साह्रौं, अनि मुलुकलाई अगाडि बढाऔं । अन्यथा हामी सधै भ्रष्टाचारको दलदलबाट बाहिर निस्कन सक्ने अवस्था रहदैन । अव अख्तियारमा मुद्दा हाल्ने, कार्यवाही प्रक्रिया अगाडि बढाउने कामसँगै नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नुको विकल्प छैन ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०७६  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update