Shittalpati
बुद्ध जयन्ती मनाउनुको सार्थकता

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज मनाईदै छ । भगवान विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप बुद्ध जयन्ती मनाइन्छ । गौतमबुद्धको २५६५ औं जयन्ती शान्तिको कामना गर्दै देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । यस वर्ष भने कोभिड–१९ को संक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गर्ने छन् ।
हरेक वर्ष शान्तिका अग्रदूधका रुपमा चिनिएका गौतम बुद्धको जयन्ती मनाईन्छ तर उनको उपदेश वा सन्देशको भने कोही कसैले पनि अनुसरण गरेको पाइदैन । जसको परिणमा मुलुकमा सधै अशान्ति, राजनितिक अस्थितरता सिर्जना हुनेको गरेको छ । यो अत्यन्त दुःखको कुरा हो । आज नेपालीले नेपाल बुद्ध जन्मिएको शान्तिभूमि हो भनेर गर्व गर्ने कुनै ठाउँ छैन । किनकि यस शान्तिभूमि रणभूमिमा परिणत भएर थुप्रै रगत बगिसकेको छ । बुद्धले जतिसुकै शान्तिको पाठ पढाएको भए तापनि त्यसको अनुसरण गर्न नसक्दा नेपालीले युद्धको त्रासदी भोग्नु परेको मात्र हैन अपितु त्यसको मूल्य नराम्रोसँग चुकाउनुपर्ने अवस्थाको सिर्जना भएको छ । बुद्धकालीन समाजमा पनि जनता उत्पीडित थिए । जातीय, वर्गीय शोषण एवं पुरातन धर्मको आडमा वर्णभेद, लिंगभेद, तथा धार्मिक विभेद चरमोत्कर्षमा थियो । त्यस्तो बेलामा पनि बुद्धले शान्ति र सत्यको मार्ग पहिल्याएका थिए । अहिले शान्ति र सत्यको मार्गमा कोही पनि छैनन् । जसले गर्दा अहिले नेपाली जनताले दुख भोग्नु परेको छ । अहिले यहाँ हत्या, हिंसा, अराजकता, स–साना कुरामा पनि बन्द र हड्ताल गर्ने प्रवृत्तिको विकास, अपहरण आदि दिनहँु देख्न पाइन्छन् । यसतर्फ कुनै राजनीतिक दल वा सरकारका प्रमुख व्यक्तित्व नै जिम्मेवार देखिदैनन् । यस्तो हुनु विडम्बना हो । बुद्धको उपदेशलाई अनुसरण गर्दै उनले दर्शाएको पथमा हिँड्ने हो भने यस्ता कुराहरु हुँदैन्थे । तर त्यसतर्फ कसैको ध्यान छैनन् । यसर्थ रिस, राग, द्वेष र ईष्र्याले कलह र द्वन्दबाट देश र जनतलाई मुक्त राख्न बुद्धको सन्देश पहिल्याउनु नै बुद्ध जयन्ती मनाउनुको सार्थकता रहने छ ।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update