Shittalpati
अक्सिजनको थप अभाव हुन नदेऊ

कोरोना भाइरस संक्रमण दोस्रो लहरमा फैलिएसँगै मुलुकभर अक्सिजनको चर्को अभाव भएको छ । दिनहुँ हजारौं संक्रमित थपिन थालेपछि अक्सिजनको माग उच्च परिमाणमा बढेको हो । संक्रमितको संख्या वृद्धिदरको तुलनामा अक्सिजनको उपलब्धता निकै न्यून देखिएको छ । यही दरमा कोरोना फैलिने हो भने अक्सिजनको माग पूरा गर्न नसकिने देखिन्छ । कोरोनाका कारण श्वास–प्रश्वासमा समस्या भएका बिरामीहरूलाई अत्यावश्यक र निर्विकल्प वस्तु अक्सिजन हो ।
छिमेकी देश भारतमा अक्सिजनको अभावले बिरामीहरुको बेहाल भएका समाचारहरू आइरहेका छन् । नेपालमा पनि त्यही अवस्था आएको छ । दिन प्रतिदिन संक्रमण र त्यसको अनुपातमा मृत्युदर पनि सँगैसँगै बढ्दै गएपछि अस्पतालमा संक्रमितको भीड लाग्न थालेको छ । बिरामीको भीड लागेसँगै महामारी संक्रमित बिरामीका लागि अत्यावश्यक मानिएको अक्सिजनको अभाव हुन गएको हो । बिरामीले आवश्यकता अनुसार अक्सिजन पाउन सकिरहेका छैनन् । यसले संक्रमितलाई झनै ठूलो र गम्भीर समस्या पारिरहेको छ । यसले गर्दा सरकारले चाँडो भन्दा चाँडो अक्सिजनको बन्दोबस्त गर्नु अहिलेके आवश्यक हो । अक्सिजन अभावमा मृत्युवरण भयो भन्ने सूचना सुनेका संक्रमित र उनीहरुका परिवारलाई यो विषयले थप पीडा दिएको छ । अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ बताइसकेकाले पनि संक्रमित तथा परिवारजनहरु त्रसित हुनु स्वाभाविक नै हो । अस्पतालले अक्सिजन अभावका कारण नयाँ कोभिड बिरामी भर्ना गर्न नसक्ने सूचना सार्वजनिक गरेका छन् । अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएकाले यसको वास्तविकता पहिचान गरी नियामक निकायले समयमै सम्बोधन गर्नुपर्ने छ । अक्सिजन भए पनि पर्याप्त मात्रामा सिलिन्डर नभएका कारण पनि अक्सिजन भर्न नपाउँदा कोभिड संक्रमितको उपचारमा समस्या भइरहेको छ । यसका लागि सरकारले समयमै ध्यान दिन जरुरी छ । अहिले अक्सिजनको अभाव रहनु भनेको हाम्रो स्वास्थ्योपचारको क्षमतामाथि ठूलो चुनौती हो । आजसम्म जे–जे भएपनि सरकारले अब भने अक्सिजनको थप अभाव दिनुहुँदैन । बरु बाहिरी देशहरुसँग कुटनितिक पहल गरेरै भए पनि सरकारले अक्सिजन लगायत अन्य पूर्वाधारको जोहो गरी बिरामीलाई उपचार सेवा पुर्‍याउन ढिलाई गर्नु हुँदैन ।

प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update