Shittalpati
विश्व दूरसञ्चार दिवसको सन्दर्भ

आज विश्व दूरसञ्चार दिवस मनाईदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । दशक अघिसम्म यस्तो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित रहन्थ्यो । पछिल्लो समय भने यस्तो दिवस यसको गुणस्तर वृद्धि र बढ्दो डिजिटल खाडल कम गर्नुपर्ने विषयमा लक्षित हुन थालेको छ ।
नेपालमा पनि विश्व दूरसञ्चार दिवस यसअघिका वर्षाहरुमा भव्यरुपमा मनाईने गरिन्थ्यो । तर यो वर्ष भने कोरोना भाइरको विश्वव्यापी महामारीले गर्दा दूरसञ्चार दिवसलाई ओझेलमा पारिदिएको छ । नेपालमा पनि लकडाउन भएको र कोरोनाभाइरसबाट हजारौ संक्रमित र सयौंको ज्यान गएपछि मानिसहरुमा थप डर उत्पन्न भएको छ । मानिसहरु घरभित्रै बसेर कोरोना भाइरस फैलनबाट रोक्ने प्रयास गरिरहेका छन् । जहाँ घर भित्रैबाट दूरसञ्चार सेवाहरु प्रयोग गरिरहेका छन् । विश्वभर महामारीले गर्दा यो वर्ष कतैपनि विश्व दूरसंचार दिवस भौतिक र तामझामका साथ मनाईएको छैन् । अझ नेपालमा त आज विश्व दूरसंचार दिवस हो भन्ने सो क्षेत्रका मानिसहरुले नै बिर्सेको जस्तो देखिएको छ । अरु वर्ष विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेकोमा यो वर्ष जानकारी नै नहुनु अहिलेको अवस्थामा स्वभाविक नै मानिनुपर्दछ । सरकारले त कोभिड–१९ बाट देशबासीलाई बचाउने कार्यमा लागेको बेला विर्सियो होला तर यहि क्षेत्रमा आवद्ध संस्थाहरुको हरेक दिन जसो विभिन्न नाममा भर्चुअल कार्यक्रम र तामझाम गरिरहेपनि यसबारेमा कुनै काम गरेका छैनन् । कोरोनाका कारण अन्य क्षेत्र जस्तै सूचना तथा सञ्चार क्षेत्रमा पनि प्रभावित भएको छ । मानिसहरुको रोजगार गुमेको छ । अर्थतन्त्र तहसनहस भएको यो अवस्थामा सूचना तथा सञ्चार क्षेत्रलाई तिर्ने करमा समेत असर पर्ने देखिन्छ । अहिलेको अवस्थामा टेलिकम सेवा प्रदायकले संस्थाहरुको क्षमतामा ह्रास आई सूचना तथा सञ्चार प्रविधिको क्षेत्र तहसनहस हुने जोखिम उच्च हुने देखिन्छ । तसर्थ समयमै उपयुक्त कदम चाली सूचना तथा सञ्चार प्रविधिमा लगानी बढाए मात्र नेपालले डिजिटल नेपाल तथा विश्व दूरसञ्चार दिवस मनाउनुको सार्थकता रहने छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update