Shittalpati
आतंकित नबनाऊ

यतिबेला विश्व नै कोरोनाले चपेटामा छ । हरेक मानिसका दिमाग पनि कोरानाको भ्रम र भयले भरिएका छन् । मानिसको दैनिक जीवन नै कोरानाले कुँजिएको छ । सामाजिक सम्बन्धहरू खल्बलिएको अवस्था छ । विश्व अर्थतन्त्रमा कसैले नसोचेको गिरावट आएको छ । सेयरबजारदेखि रियल स्टेटसम्मका लगानीका क्षेत्र सुनसान छन् । होटेल, पर्यटन, मनोरञ्जनजस्ता चलायमान उद्यमहरू अस्तव्यस्त छन् । स्कुल तथा कलेजसमेत बन्द भएका छन् । औसत मानिसको गुजारा नै संकटमा पर्ने खतरा देखिएको छ  । जसले गर्दा मानिसहरू हडबडाएका छन् । व्याकुल छन् । उनीहरूमा अनौठो छटपटी छ । अन्योल छ ।

विश्व सहित नेपालमा समेत संक्रमण अवस्था भयावह बन्दै गएपछि मान्छेमा सन्त्रास झनै बढेको छ । नेपालमा दैनिक हजारौंको संख्यामा संक्रमित भएका छन् भने सयौंको संख्यामा नागरिकहरुको मृत्यु भइरहेको छ । यस्तो अवस्थामा सुरक्षित भएर धर्य गर्नुको विकल्प छैन । तर पछिल्ला केही दिन यता सामाजिक सञ्जालमार्फत मानिसलाई आंतकित पार्ने काम भइरहेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको तस्बिरहरु सामाजिक सञ्जालमा राख्ने र श्रद्धाञ्जली दिनेहरुको अहिले लर्को नै लागेको छ । यसो गर्नु गलत हो । यसबाट संक्रमित मानिहरुलाई बढी मनोवैज्ञानिक प्रभाव पार्ने देखिन्छ । त्यतिमात्र होइन संक्रमित भएका व्यक्तिहरुका समेत तस्विर राखेर शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको पाइन्छ । यसले अनावश्यक रूपमा समाजमा भय फैलाउने र स्वस्थ मानिसको पनि मनोबल गिराउने काम भइरहेको छ । यस्ता अनेक विषयले आम मानिस आतंकित भएका छन ्। मानिसहरू भावनात्मक हिसाबले झनै जोडिनुपर्ने बेला हो यो । यस्तो बेला मान्छेलाई सान्त्वना आवश्यक पर्छ । हाम्रोजस्तो कमजोर स्वास्थ्यसेवा र प्रणाली भएको ठाउँमा एकले अर्कोलाई सहयोग गर्न जरुरी छ  । सामाजिक सञ्जालहरुमा संक्रमित र मृतकका तस्वीरहरु राख्ने काम बन्द गर्नुपर्छ । आमनागरिकलाई कसैले पनि आतंकित बनाउनुहुन्न । तसर्थ यो बेला सके सहयोग, सहानुभूति दिऊं नसके आतंकित नबनाऊ ।

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update