Shittalpati
सेना दिवस र राष्ट्रको गौरव

हरेक वर्ष महाशिवरात्रीका दिन नेपालमा सेना दिवस मनाइन्छ । यसवर्ष पनि देशको रक्षार्थ रहेका सेनाले धुमधामका साथ दिवस मनाएको छ । दिवसमा देशको रक्षार्थ रहेका सेनाले आफ्नो अदम्य साहस र कुटनैतिक कौशलता प्रदर्शन गर्ने गर्दछन् । सेना दिवस मनाउने चलन राजा वीरेन्द्रका पाला र प्रधानसेनापति महारथी सत्चित शमशेर राणाको कार्यकालबाट सुरु भएको हो । संसारका प्रायः सबै सेनाले आफ्ना दिवस मनाउँछन् । त्यस बखत नेपाली सेनाको खर्च, समय र परिश्रम जोगाउने हिसाबले शिवरात्रीका दिनलाई नै सैनिक दिवस मानिएको हो । शिवरात्रीमा सेनाको ठूलो खर्च हुन्छ ।

फूलपाती, घोडेजात्रा, शिवरात्री–सैनिक पर्व होइनन् । सामाजिक–सांस्कृतिक पर्व हुन् । सेनाले नेपाली संस्कृतिमा ठूलो सहयोग गरिरहेको छ । वास्तवमा अब यसको जिम्मा स्थानीय सरकार वा नगरपालिकाले लिन जरुरी देखिन्छ । सेना दिवसलाई छुट्टै मान्ने हो भने अर्को ठूलो व्यङ्ग्य हुने हुँदा ‘एक पन्त दो काज’ जस्तै भएको हो । यसमा कुनै धर्म जोडिनु संयोग मात्र हो । तर पहिलेदेखि युद्वका बेला नेपाली दैवी शक्तिमा भरपर्ने भएकाले नेपाली सेनाको निशान, पुजाआजा तिनै शक्तिमा आधारित छन् ।

यो सत्यता नबुझेर हाल समाज भड्काउने खालका अपव्याख्या पनि गरिन्छ । सन् १७४४ बाट आजसम्म पनि नेपाली सेनाले अविछिन्न राष्ट्रप्रेम अनि साहस प्रदर्शन गरिरहेको छ । विश्वयुद्वदेखि गृहयुद्वसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता देखिएको छ । भूकम्प होस् या कुनै दुर्घटना या अन्य कुनै प्राकृतिक प्रकोप, सेना हरेक ठाउँमा पुगिदिन्छ । बाटोघाटो, खेलमैदान, परेड, राष्ट्रिय शानदेखि बैदेशिक शान्ति सैनिकका रुपमा नेपाली सेना सर्वत्र चर्चामा छ ।

सन् २००२ देखि सन् २००७ सम्म नेपाली सेनाले आफ्नो सख्या ५० हजारबाट ९५ हजार बनाएको हो । माओवादी दस्ताबाट पनि सेनामा समायोजन गरिएको छ । परापूर्वकालदेखि वर्तमानसम्म नेपाल र नेपालीका लागि वीरगति प्राप्त गर्ने ज्ञात/अज्ञात सम्पूर्ण नेपाली सेनाप्रति सेना दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जली सहित सलाम । नेपाली सेना दिवस राष्ट्रको गौरव हो, नेपालीको इज्जत हो । यसर्थ रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा नेपाली रहिरहोस् ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update