Shittalpati
सामुदायिक वनको सकरात्मक कदम

चैत महिनामा देशका धेरै ठाउँका वनजंगलमा डढेलो लागेको छ । एकैचोटि धेरै स्थानमा डढेलो फैलिएका कारण त्यसमाथिको नियन्त्रण दिनानुदिन चुनौतीपूर्णसमेत बनिरहेको छ । अघिल्ला वर्षहरुमा हिउँदको समयमा पर्याप्त वर्षा हुनाले आगलागी र डढेलोका घटनाहरु निकै कम हुने गर्दथे, तर अहिले यसवर्ष त्यति पानी नै पर्न नसकेका कारण डढेलोका घटनाहरु तीव्र रुपमा फैलिइरहेका छन्, जसले समग्र मानवजीवनलाई नै खतरामा पारिरहेको छ । पाल्पाका पनि ६४ बढी स्थानका जङ्गलमा डढेलोले वन सखाप पारेको छ । डढेलोले स–साना विरुवाहरु समेत नास भएका छन् । यो अत्यन्त दुखको कुरा हो । मानवीय लापरवाहीका कारण पनि डढेलोका घटनाहरुमा वृद्धि भएका हुन् । डढेलोले मानव स्वास्थ्यमा निकै प्रतिकूल असर पुर्‍याइरहेको छ । हालको सुख्खा मौसममा डढेलो नै प्रदूषणको ठूलो कारकसमेत बनिरहेको हुँदा विभिन्न स्वास्थ्य समस्याहरु देखा परिरहेका छन् । डढेलोले वनबिनाशमात्रै गरिरहेको छैन, अझ स–साना बोटबिरूवाहरुमा समेत ठूलो क्षति पुर्‍याइरहेको छ । मूलतः वनजंगल क्षेत्रमा डढेलो फैलिएकै कारण जैविक विविधताहरुको विनास भैरहेको छ । डढेलोले जंगली जनावरहरुको बासस्थान त नष्ट गरिरहेको छ नै, अझ असङ्ख्यक पशुपक्षी र जनावरहरु पनि त्यसबाट मर्दै जानु ठूलो चिन्ताको विषय बनिरहेको छ । डढेलोकै कारण अमूल्य जडीबुटीहरु समेत नासिँदै गएका छन् ।

प्राकृतिक रुपमा नै दुष्चक्र निम्त्याउने डढेलोजस्तो विपत्तिलाई पूर्णरुपमा नियन्त्रण गर्न नसकिने हो भने त्यसले जीव जनावर र वनस्पतिहरुको ठूलो क्षति गरी जीवनचक्रलाई नै गम्भीर संकटमा पार्न सक्ने देखिन्छ । डढेलो नियन्त्रणमा उपभोक्ता आफै सचेत हुनुपर्ने हुन्छ । पाल्पामा डढेलोका घटनाहरु बढ्दै गएपछि पाल्पाका केही सामुदायिक वनहरुले भने त्यसको नियन्त्रणमा विशेष चासो देखाएका छन् । जिल्लाका २२ वटा सामुदायिक वन उपभोक्ता समुहहरुले डढेलोले विकराल रुप लिएपछि त्यसको नियन्त्रणका लागि विशेष सामग्रीहरुको जोहो गरेका छन् । यो आफैमा सकरात्मक कदम हो । उनीहरुले आफ्नै बजेट मार्फत डढेलो नियन्त्रणका लागि जिल्लाका तीनै निकायका सुरक्षा निकायहरुलाई आवश्यक सामग्रीहरु दिएका छन् । डढेलो लागेर ठूलो क्षति हुनबाट बचाउनका लागि सामुदायिक वनहरुले आवश्यक सामग्रीको व्यवस्था गरेर सकरात्मक कदम चालेका छन् । यस्तो कदमको सबैले समर्थन र साथ दिन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update