Shittalpati
खेल क्षेत्रको विकासमा ध्यान देऊ

आज विश्व खेलकुद दिवस विश्वभर मनाइदै छ । ‘अन्तराष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ भन्ने मूल नाराका साथ आज अप्रिल ६ मा अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै छ । खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो । खेलकुद दिवस संयुक्त राष्ट्रसंघ(यूएन) को आह्वानमा सन् २०१४ देखि मनाउन थालिएको हो । समाजमा सामाजिक परिवर्तन, सामुदायिक विकास र शान्ति तथा आपसी समझदारी स्थापनामा खेलकुदलाई माध्यम बनाउनका लागि वार्षिक रूपमा यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि २०१५ यता यो दिवस निरन्तर रूपमा मनाइँदै आएको छ । नेपालमा हरेक वर्ष यो दिवस मनाइए पनि खेलकूद विकासमा देखिएका समस्याहरु भने जस्ताको तस्तै छन् ।


यो अत्यन्त दुःखको कुरा हो । सरकारले खेल दिवसका लागि ठूलो मात्रमा बजेट विनियोजन गरे पनि त्यसको सहि सदुपयोग भने हुन सकेको छैन । यो आफैमा विडम्बनाको कुरा हो । खेलकुद नीतिको तीखो अभाव र निषेधको राजनीतिका कारण नेपालमा खेल क्षेत्रको विकास हुन सकेको छैन । मुलुकमा हरेका क्षेत्रमा विकासका प्रचुर सम्भावना छरिएर रहेजस्तै खेलक्षेत्र मात्र अपवाद रहन सक्दैन । यहाँ खेलमैदान र स्तरीय रंगशालाको उचित व्यवस्था हुन सके पनि खेलकुदले राम्रो फड्को मार्न सक्छ । मात्र सरकारसँग खेलकुद क्षेत्रको विकास गर्ने इच्छा र आकांक्षा हुनुपर्दछ । राष्ट्रको पहिचान, सम्मान र गरिमा अभिवृद्धि गर्न पनि खेलकुदको विकास अपरिहार्य नै छ । खेलकुदमार्फत नागरिकको शारीरिक र मानसिक स्वास्थ्य, सामूहिक भावनाको विकास र अनुशासित तथा मर्यादित जीवनयापनमा सघाउ पुग्नेछ । अहिले देशभर खेलकुदका क्रियाकलापहरु भइरहेका छन् । तर त्यसलाई थप परिस्कृत तरिकाले लैजान सकिएको छैन । यसर्थ आगामी दिनहरुमा खेल क्षेत्रको विकासतर्फ सरकारी गैरसरकारी निकायहरुको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update