Shittalpati
इन्धनको मूल्य बढेको बढै

पछिल्लो समय नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको बढै गरेको छ । निगमले महिनदिनमा नै तीन पल्टसम्म इन्धनको भाउ बढाएको छ । जसले गर्दा उपभोक्ता बढी मारमा परेका छन् । निगमले गत सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धनको मूल्य २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर १ सय १६ रुपैयाँ कायम भएको छ । यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रुपैयाँले वृद्धि गरी ७२ रुपैयाँ कायम गरेको छ । यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८ सय ९३ प्रतिकिलोलिटर कायम गरिएको छ । खाना पकाउने एलपी ग्याँसको खुद्रा मूल्य भने यथावत नै कायम राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी ग्याँसमा प्रतिसिलण्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । निगमले एक महिनामै तीनपल्टसम्म इन्धनको भाउ बढाएपछि आम उपभोक्ताहरु चिन्तित बनेका छन् ।निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिको आधारमा मूल्य वृद्धि गर्नुपरेको जनाएको भए तापनि माघको अन्तिम सातादेखि, फागुन ४ गते, त्यसपछि फागुन १७ गते राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको छ ।हुन त मूल्यमा निगमको हात हुँदैन, अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि घरेलु बजारमा पनि स्वतः बढ्छ र अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि स्वतः घट्छ । तर, निगमले विगतमा पनि धेरैपल्ट अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा नघटाउने तर बढ्दा बढाउने गरेका कारण यसबाट निगमले उपभोक्तालाई सधैं मारमा पार्ने काम गरिरहेको देखिन्छ । निगमले चोरी–निकासीजस्ता तर्क दिँदै भाउ नघटाउने गरेको भए तापनि सरकार वा सुरक्षा निकाय वा निगम आफैंले चोरी–निकासी रोक्न पहल नगर्ने तर त्यसैको बहानामा भाउ भने नघटाउने चलन पुरानै हो, जसका कारण निगममाथि सधैं शंका गर्नुपर्ने ठाउँ छ । तसर्थ निगमले अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मूल्य समायोजन गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update