Shittalpati
खोपले ल्याएको खुसी

कोरोना भाइरस विरुद्धको १० लाखको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएका ती खोप बिहीबार काठमाडौं झारिएसँगै नेपालीहरुमा खुसी छाएको छ । यसले सबै नागरिकमा ढिलोचाँडो खोप लगाउन पाइन्छ कि भन्ने आशासँगै खुसी छाएको छ । अब निकट भविष्यमै कोरोना भाइरसविरुद्धको खोप अभियानको प्रारम्भिक चरण सुरु हुने निश्चित भएको छ । बेलायत, अमेरिका लगायतका विकसित मुलुकले कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको करिब डेढ महिनापछि नेपालमा पनि यो खोप ल्याइनु आफैंमा स्वागत योग्य छ । नेपाललाई अनुदानमा खोप उपलब्ध गराउने भारत सरकारले गरेको यो सहयोगप्रति आभार व्यक्त गर्नुपर्छ । आफू नेपालको असल छिमेकी रहेको उसले यस पुनित कार्यबाट पुष्टि गरेको छ ।

सुरुमा सीमित मात्रामा भए पनि समयमै खोप ल्याउन सरकारले गरेको पहल सराहनीय छ । नेपालसित कूटनीतिक सम्बन्धका बाबजुद भारत सरकारले गरेको यो सहयोगको प्रशंसा गर्नुपर्छ । आफ्नो देशमा गत माघ ३ बाट खोप अभियान थालेको भारतले त्यसको एक सातामै नेपाल लगायतका छिमेकीलाई निश्चित थान खोप अनुदान उपलब्ध गराएर उदाहरणीय सहयोग गरेको छ । निश्चय पनि, अहिले उपलब्ध खोपको मात्रा ठूलो होइन, यसका लागि धेरै रकम पनि पर्दैन । तर, विश्व बजारमा यतिबेला खोपको जुन ढंगको माग छ, त्यसअनुसार भने भारतले यति नै मात्रा उपलब्ध गराउनु पनि सांकेतिक अर्थमा महत्वपूर्ण छ । नेपालमा कोरोना विरुद्धको खोप यति छिटो आउला भन्नेतर्फ कसैले पनि सोचेको थिएन । यो भनेको नागरिकले कोरोनाविरुद्धको युद्व अब लामो समयसम्म लड्नुपर्दैन भन्ने संकेत पनि हो । केही मात्रमा खोप नेपालमा भित्रिएकाले सरकारले किनेर ल्याउने खोप पनि छिट्टै आउनेछ भन्नेमा ढुक्क हुने आधार रहेको छ । उक्त खोप केही दिनमै प्रयोगमा ल्याउने सरकारी तयारी छ । जहिलेदेखि प्रयोगमा ल्याए पनि यसको वितरण पारदर्शी हुनुपर्छ । सरकारको ध्यान यो खोपको न्यायोचित वितरण र अन्य खोप आयातमा केन्द्रित हुनुपर्छ । सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क लगाइदिनेछ भन्नेमा आश्वस्त पार्न जरुरी पनि छ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update