Shittalpati
सहिद सप्ताह र यसको सार्थकता

शनिबारदेखि सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह मनाइने गरिन्छ । सप्ताहको पहिलो दिन हिजो शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरी मनाइएको छ । प्रजातन्त्रको माग गर्दा तत्कालिन राणा शासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए । त्यसैको स्मरणमा सहिद सप्ताह मनाइदै आइएको छ । पछिल्लो समय सहिद दिवस वा सहिद सप्तालाई औपचारिक कार्यक्रममा मात्र सिमित बनाइएको छ । यसो हुनु गलत हो । सच्चा सहिदको सधै भरी नै सम्मान र उनीहरुको योगदानको अनुसरण गर्नु पर्दछ । तर यसो हुन सकिरहेको छैन । बरु जुनसुकै घटनामा परी मृत्युवरण गर्ने व्यक्तिहरुलाई पनि सहिद घोषण गर्ने प्रचलन व्याप्त बन्दै गएको छ । जसले गर्दा वास्तविक सहिदको अपमान भएको छ । यसो हुनु हुदैन्थ्यो । जथाभावी सहिद घोषणा गर्ने प्रचलनले सहिदको अपमान र अवमूल्यन भइरहेको छ ।

जनता माथिको शोषण, दमन, अन्याय एवम् अत्याचार सहन नसकी शासकहरू र शासन प्रणालीका विरुद्ध आवाज उठाउँदा मारिएका ती महान् सहिद समस्त नेपालीका आस्थापुञ्ज हुन् । तर, आज सहिदको योगदान ओझेलमा पर्दैछ । सहिदको परिभाषा, मापण्दड र गरिमाबारे सरकार नै स्पष्ट छैनन् । यस्ता महान् आत्माहरूको योगदानको सम्मान र शहादतको गरिमा बचाउने दायित्व वर्तमान पुस्ताको र त्यसमा पनि राजनीतिक नेतृत्व र मुलुक हाँक्नेहरूको हो । यस्तो संस्कृतिको विकास हुन भने सकेको छैन, जुन विडम्बनाको विषय हो । विशेषतः यो सत्ता सञ्चालकहरूले बुझ्नुपर्ने विषय पनि हो । तर, विडम्बना, त्यस्ता सपुतको सही लगत नै सरकारसँग छैन । सहिद सप्ताह र सहिद दिवस केवल औपचारिकतामा सीमित हुन थालेको छ । तर, यस्तो दिवसलाई केवल परम्परा धान्ने वा औपचारिकतामा मात्र सीमित राख्नु बिडम्वना हो । यस्ता अवसरलाई सहिदले देखाएको बाटो र दिशातर्फ इमानदारीका साथ अग्रसर हुने प्रतिवद्धता जनाउने अवसरको रूपमा लिन सक्नुपर्छ । त्यसो हुन सके मात्र सहिद दिवस वा सहिद सप्ताह मनाउनुको सार्थकता रहन सक्छ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update