Shittalpati
कोरोनाको नयाँ प्रजातिबाट बचौं

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको रिपोर्टमा तीन जनालाई यूके भेरिएन्ट (बी–११७) नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको छ । बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण परीक्षण गर्दा ३ जनामा नयाँ भाइरस देखिएको आशंकामा पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएको थियो । जसमा २८ वर्षीया महिला, ६७ वर्षीय र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको भाइरस संक्रमण पुष्टि भएको छ । कोभिड–१९ नै कायम रहेका बेला नयाँ प्रजातिको कोरोना भाइरस देखिनुले झन जोखिम बढ्दै गएको महशुस गर्न सकिन्छ ।

बेलायतमा सेप्टेम्बरको अन्तिमतिर यो नयाँ प्रजातिको भाइरस देखिएको थियो । बेलायतमा देखिएको झण्डै तीन महिनापछि भयावह रूप लियो । नेपालमा पनि अहिले नै सावधानी नअपनाएको खण्डमा जोखिम बढ्ने विज्ञहरूले बताउँदै आएका छन् । बेलायतमा पनि देखिएको तीन महिनापछि अहिले खतरनाक अवस्था सिर्जना भएको छ । सावधानी अपनाएनौं भने हाम्रो पनि त्यही अनुसार समस्या नहोला भन्न सकिन्न । यो प्रजाति अहिलेको तुलनामा ५० प्रतिशतको तीव्र गतिमा फैलिन सक्ने देखिएको विज्ञहरुले बताएका छन् । यो भाइरसको संक्रमणदर बढी भएकाले समयमै सावधानी अपनाउन नसकिएको खण्डमा जोखिम बढ्ने देखिन्छ । यो प्रकारको भाइरस धेरै संक्रामक हुनुको कारण हावाबाट फैलिनु पनि हो । साधारण कोरोना हावाबाट केही कम फैलिने भएपनि यो भने हावाबाट धेरै फैलिन्छ । यद्यपि यो प्रारम्भिक अनुमान हो । अहिलेसम्म यसको पुष्टि भने हुन सकेको छैन । लक्षण नै नदेखिदा पनि संक्रमण देखापर्ने अवस्था भएकाले यो महाव्याधिबाट मुक्ति पाउन कि स्वास्थ्य सतर्कतासहित सुरक्षित रहन सक्नुपर्छ कि त खोप नै लगाउनु एकमात्र विकल्प हो । तर, नेपालजस्तो गरिब मुलुकमा खोप उपलब्ध हुन कति महिना लाग्छ त्यो सरकारलाई नै थाहा छैन । त्यसकारण, सरकारको सक्रियता र जनताको सावधानीले मात्र सम्भावित कोरोना संक्रमणको दोस्रो लहरको जोखिमबाट जोगिन सकिन्छ । तसर्थ सबैले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने लगायतका मापदण्ड कडाईका साथ पालना गर्न जरुरी छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update