Shittalpati
पोसिलो माघे संक्रान्ति

        —मदन देउराली

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर संक्रान्ति अर्थात् माघे सत्रंmान्ति । सूर्यनारायण एक रााशिबाट अर्को राशिमा सर्ने प्रक्रियालाई संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्र अनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयलाई मकर सक्रान्ति भन्दछन् । मकर संक्रान्तिदेखि दशौं सौरमास अर्थात् माघ महिना प्रारम्भ हुन्छ । हुन त सबै संक्रान्तिहरुको आ–आफनो महत्व हुँदा हुँदै पनि मकर संक्रान्तिमा उत्तरायण र कर्कट संक्रान्तिमा दक्षिणायण आरम्भ हुने हुँदा यी दुबै संक्रान्ति विशेष महत्वका मानिन्छन् । माघे संक्रान्तिदेखि ६ महिनासम्म सूर्य उत्तरायण हुने हुँदा आजदेखि उत्तरी गोलार्धमा दिन लामो र रात छोटा हुन थाल्छन् । यसलाई वर्षायामको आरम्भ पनि भनिन्छ तथा जाडोको समाप्ति र बसन्त ऋतुको आगमन तथा खेतिपातीको मौसम मानिन्छ । मकर संक्रान्तिबाट नयाँ ऋतु प्रारम्भ हुन्छ भनिन्छ । यो पनि विश्वास गरिन्छ कि मकर संक्रान्ति नयाँ धार्मिक पर्वहरुको प्रारम्भ हो जुन शित महिना संगै समाप्त हुन्छ । मकर संक्रान्तिलाई सूर्यदेवको पूजा गर्ने चाडको रुपमा पनि मानिन्छ । सूर्यदेवलाई शक्तिको, देवत्वको, ज्ञानको प्रतिकको रुपमा लिइन्छ ।ंंं यस चाडलाई मौसमको परिवर्तनको रुपमा मनाइन्छ । पौष महिनाको उराठीलोपनलाई हटाएर अगाडि आउँछ माघे संक्रान्ति । आजको दिन स्नान,तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । त्यसैले मानिसहरु आजको दिन पूण्य प्राप्तिका लागि विभिन्न पवित्र नदिहरुमा गई स्नान गरी दान, दक्षिणा, सिधा दिने गर्छन् । विभिन्न मुख्य नदिहरु देवघाट, त्रिसुली, काली गण्डकी, बाग्मती इन्द्रावती, त्रिवेणी, रिडी लगाएतका पवित्र नदिहरुमा माघे स्नान गर्न भक्तजनहरुको भीड लाग्ने गर्दछ । आजको दिन विहानै तिर्थस्थलमा गई स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।


माघे संक्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पोसिलो पर्व पनि हो । माघे संक्रान्ति समुदायअनुसार आ–आफ्नै नाम छन् । पहाडतिर माघे संक्रान्ति, थारूहरूले माघी, तराईमा तिला संक्रान्ति, मगरहरूको माघे संकराई, नेवारहरूले चाकु पर्व आदिआदि । नाम जसले जसरी पुकारे पनि यो पर्वमा खाइने खानेकुरा पोसिला हुन्छन् । चाहे तरुल होस् या त तिलको लड्डु वासिलाम, खिचडी, घुँगी, माछादेखि गिठ्ठा भ्याकुर, सखरखण्डसम्म हामीलाई फाइदा गर्ने पोषक तत्व पाइने खाने कुरा हुन् । माघे संक्रान्तिका दिन हामीले खानेकुराहरु पनि समय र शरिरको आवश्यकता अनुसार निर्धारण गरिएको हुन्छ । जाडो मौसममा शरिरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा विशेष गरेर माटो मुनि फलेको बालीको रुपमा तरुल, सखरखण्ड, पिंडालुका साथै घ्यू चाकु तिलको लड्डु खाने प्रचलन रहेको हो । यसरी संक्रान्तिमा खाइने सबै खानेकुराहरु गरम प्रकृतिका हुन्छन् । चाकु, घ्यू, तरुलले जाडो भगाउनुका साथै यससँग लड्ने शक्ति प्रदान गर्दछ तथा शरिरको तापक्रम बढ्ने शरिर स्वस्थ्य तथा तन्दुरुस्त बनाउँछ । जसरी जनै पूर्णिमामा क्वांटी खाने गरिन्छ त्यसैगरी नै जाडोको बेला गरम खानेकुराहरु तरुल, सखरखण्ड, घ्यू, चाकु, तिलको लड्डु खाइन्छ । यस्ता खानाहरु धेरै पच्ने र खाना रुच्ने हुँन्छ त्यसैले छिटो छिटो भोक लाग्ने गर्दछ । यस्तो बेलामा चाकु र तिलको लड्डु, तरुल, सखरखण्ड जस्ता खानेकुराले शरिरलाई आवश्यक शक्ति दिन्छ भने रोगसंग लडने प्रतिरोधात्मक शक्ति बढ्छ । यस्ता खानेकुरा हाम्रो शरिरको लागि पनि हितकर हुन्छ । भदौ महिना पछि शुरु हुने चिसो मौसम माघको महिनामा उत्कर्षमा पुग्दछ । त्यसैले माघे संक्रान्तिमा धेरै जाडो हुन्छ भनिन्छ । यस दिनको खानाको मात्र हैन तेलको पनि विशेष महत्व हुन्छ । यस दिन शरिरमा तोरीको तेल मालिस गर्नाले शरिरका सम्पूर्ण दुषित पदार्थ बाहिर निस्कन्छ भने शरिरका नाडी तथा स्नायुमण्डल र हड्डीहरुलाई तेल मालिसबाट सुदृढ र स्वस्थ्य राख्न मद्दत गर्दछ तथा छाला सम्बन्धि रोग पनि सञ्चो हुन्छ भनिन्छ ।
 

यस दिन खाइने लडडु चाकु र तिल मिसाई बनाइन्छ । तिललाई हाम्रो संस्कृतिमा पवित्र अन्नको रुपमा लिइन्छ । यसलाई धार्मिक कार्यको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । भनिन्छ तिलमा क्याल्सियम र भिटामिन प्रशस्त मात्रामा हुन्छ जुन हाम्रो शरिरको लागि अत्यन्त फाइदाजनक हुन्छ । आयुर्वेद अनुसार तिलको प्रयोगले विभिन्न रोगहरुलाई आराम दिन्छ । यसको सेवनले खोकी कम हुने, शरिरलाई शक्तिदिने, कमजोरीपन हटाउने, शरिर तथा मस्तिष्कलाई फाइदा गर्छ भनिन्छ । तिलमा क्याल्सियमको मात्रा बढी हुने भएकाले गर्भवती महिलाहरुको लागि पनि उत्तिकै फाइदा हुन्छ भनेर तिलको लड्डु खुवाउने चलन पनि छ । त्यस्तै गरी संक्रान्तिमा खाने अर्को खानेकुरा हो तरुल । जमिन मुनि फल्ने यस्मा प्रशस्तमात्रामा कार्वोहाइडे«ट, क्याल्सियम, म्याग्नेसियम, फसफोरसका साथै एन्टी अक्सिडेन्ट, भिटामीन बी तथा सी आदि पाइन्छ जस्ले शरिरलाई न्यानो पारि राख्छ । कार्वोहाइडे«टको नियमित सेवनले दमका रोगी, बाथरोगका रोगी तथा क्यान्सर प्रतिरोध तत्वको रुपमा पनि काम गर्छ भनिन्छ । त्यस्तै गरी रेशादार यो तरुललाई तरकारीको रुपमा प्रयोग गर्दा कव्जियतको समस्यालाई मद्दत गर्दछ । तरुललाई उसिनेर खान योग्य बनाइन्छ । संक्रान्तिमा खाइने अर्को खानेकुरा हो चाकु । सख्खरबाट बनाइने चाकुमा एकप्रकारको कालो पदार्थ आइरन हुन्छ जस्ले शरिरलाई रगतको मात्रा कम हुनबाट बचाउँछ । कसैले चाकुमा सेतो वा कालो तील राखेर लड्डु बनाउँछन् भने कसैले बदाम आदि राखेर चाकुसला बनाउँछन् । त्यस्तै अर्को खानेकुरा हो मासको दाल, घ्यू र चामल मिसाइ बनाइएको खिचडी । आजको दिन खिचडी खाने चलन पनि रहेको छ । खिचडीले शरिरमा गर्मीको मात्रा बढाउने तथा ताकत दिन्छ भनिन्छ । त्यसैले यस पर्वलाई घ्यू, चाकु तथा तरुलको पर्व पनि भनिन्छ । विभिन्न जातजातिहरुले भरिएको हाम्रो देशमा सबैले आ–आफनो तरिकाबाट माघे संक्रान्ति मनाउँछन् । विशेषगरी नेवार, थारु, मगरहरुको आफनो तरिका रहेको भनिन्छ । नेवारहरु यस दिनलाई घ्यू, चाकु सल्हु अर्थात् घ्यू, चाकु संक्रान्ति भनेर मनाउँछन् ।
 

काठमाडांैका नेवारहरुले माघको ठिहि¥याउने जाडोका दिन चिसोसँग लडन आजको दिन चाकु खान्छन् । वर्षको एक दिन मात्र भए पनि चाकु खानु पर्छ त्यो पनि घ्यूसँग जस्ले न्यानो लिएर आउँछ भनेर नेवारहरुले चाकु खाने पर्व मनाउने गरेको भनिन्छ । आजको दिन पाल्पाका मानिसहरु मकर स्नान गर्न नजिकैका पवित्र नदीहरु रिडी, राम्दी, रानीघाट जाने गर्छन् । पाल्पा, गुल्मी र स्याङ्गजाको संगमस्थल पवित्र धार्मिकस्थल रिडीमा तीन दिनसम्म भव्य मेला लाग्दछ । तानसेनमा नेवार समुदायमा यस दिन आमाहरुले आफनो परिवारको सदस्यहरुको सुस्वास्थ्यको कामना गर्दै आफना बच्चाहरुको टाउको तथा शरीरमा तोरीको तेलले मालिस गरिदिन्छिन्, कानमा तेल हाली दिन्छिन् । यसरी तेल मालिसले शरीरलाई भित्रबाट न्यानोका साथै स्वथ्य गराउँछ भन्ने विश्वास गर्दछन् । परिवारका सदस्यहरु तथा आफना ज्वाई, छोरी सबै आपसमा जम्मा भई चाकु, घ्यू, तरुल, खिचडीका साथै अन्य विभिन्न मीठा मीठा खानेकुरा खान्छन् । यस दिन मौसम सफा हुने भएकाले अपरान्हतिर कतिपय स्थानीयवासीहरु श्रीनगरडाँडमा गई उत्तरतिर देखिने लामो हिम श्रृंखलाको मनोरम दृष्य अवलोकन गर्ने गर्दछन् तथा कोही बनभोज गर्न जाने गर्छन् । मगर समुदायमा पनि यस दिन आफना चेली बेटी तथा आफन्तहरुलाई बोलाई तरुल, बटुक, सेलरोटी लगाएत मीठा मीठा खानेकुराहरु खाई यो संक्रान्ति मनाउने गर्दछन् । यसरी विभिन्न जातजातिहरुले माघे संक्रान्ति पर्व आफनो संस्कृति तथा धार्मिक परम्परा अनुसार संरक्षण गरी राखेका छन् । अस्तु ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update