Shittalpati
नेकपा विवादको अन्तर्य

जनताबाट बहुमत पाएर शक्तिशाली बनेको नेकपा पार्टीभित्र विवाद चुलिएको छ । हुन त यो विवाद पहिलो होइन । पार्टी विभाजन हुनेसम्मका विवादहरु यसअघि पनि भएका हुन् । दुई ठूला कम्युनिष्ट पार्टीले स्थायित्व र समृद्धिको नारा दिँदै चुनावी गठबन्धन गरेपछि जनताले त्यसलाई विश्वास गरी झण्डै दुईतिहाइ मत दिए । अहिले त्यही नेकपाको शक्तिशाली सरकार छ । नेकपाभित्रको विवादका कारण सरकार नै संकटमा पर्न थालेको छ । यो सरकारको असफलता भनेको कुनै व्यक्ति विशेषको मात्र नभएर सिंगो कम्युनिस्ट पार्टी कै हो । यसको समाधान भनेको शीघ्र निर्वाचन वा मध्यावधि नै हो । अहिले देखिएको अन्योलको सहज अवतरण पनि त्यही नै हो । दुवैका स्वार्थ बाझिए । त्यसैको परिणाम हो–नेकपामा देखिएको शृंखलाबद्ध विवाद । प्रचण्ड र ओलीबीच सत्तासंघर्ष मात्र नभएर उत्तराधिकारीको विषयलाई लिएर पनि संघर्ष चलिरहेको छ । सोहीअनुसार पार्टीभित्र पनि फरक–फरक समीकरण विकसित हुँदै आएका छन् ।

यतिबेला बलियो सरकारको नेतृत्व गरेका ओली पार्टीभित्र कमजोर सावित भएका छन् । उनी एक्लिएको अवस्था छ । तर ओली आफ्ना विरुद्ध भइरहेका मोर्चाबन्दीबाट डराएका छैनन् । उनी सहजै हार स्वीकार गर्ने पक्षमा छैनन् । अर्का पक्षको चाहना अनुसार ओली सत्ता र पार्टी नेतृत्व छाड्ने मनस्थितिमा छैनन् । एउटाले जसरी पनि हटाउने र अर्का पक्ष कुनै पनि हालतमा पद नछाड्ने अडानकै परिणाम नेकपाभित्र अन्तरविरोध चर्किंदै गएको छ । यो विरोध र विवाद पारदर्शी छैन । अहिले नेकपा निहित स्वार्थ समूहहरूको महासंघजस्तो भएको छ । विचार बनाउने टाउकाहरू अलग, क्रिया–प्रतिक्रिया गर्ने शरीरहरू अलग, गतिशील हुने खट्टाहरू पनि अलग–अलग दिशातिर फर्केका तर सत्तास्वार्थको मसिनो धागो माथि टुप्पीमा र पार्टी फुटेर छँदाखाँदाको सरकार पनि जाला, सारा अवसर पनि जाला, पद पनि जाला भन्ने डरको नाम मात्रको डोरीले एउटा–एउटा खुट्टामा बाँधिएको भरमा त्यो पार्टीको एकता मुस्किलले बचेको छ । त्यो मसिनो धागो र डोरी चुँडिने बित्तिकै पार्टी एकता कुनै पनि क्षण भताभुङ्ग हुने स्थिति छ । नेकपाका शीर्ष नेताहरू सबैजसोको यतिखेरको मूल प्रवृत्ति पार्टी फुट नै देखिएको छ । परन्तु कार्यकर्ताको मूल प्रवृत्ति भने अझ पनि पार्टी एकताकै पक्षमा देखिन्छ । तथापि यसका दोस्रो र तेसो तहका सारा नेता–कार्यकर्ताहरू यति बेला औधी निरीह र निष्क्रिय देखिएका छन् । माथिको फुटको असर तलसम्म सर्दै छ । यो परिस्थितिमा सर्वशक्तिमान केन्द्रीय समिति सक्रिय भएमा बाहेक नेकपाको पार्टी एकतालाई जोगाउने तागत अरू कसैको छैन ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update