Shittalpati
विद्यालय खोल्दा सावधानी अपनाऔं

कोरोना भाइरस (कोभिड—१९) को कारण बन्द रहेका विद्यालय सञ्चालन गर्नसक्ने अधिकार स्थानीय तहलाई तोकिएपछि धमाधम विद्यालय खोल्ने तयारी अघि बढेको देखिन्छ । केही स्थानीय तहहरुले ९ महिनादेखि बन्द रहेका विद्यालय खोलेका छन् भने केहीले खोल्ने तयारी थालेका छन् । यो आफैमा सकरात्मक भएपनि विद्यालय खोल्नुअघि र खोलेपछि आउनसक्ने समस्याको बारेमा एक पटक भने गम्भीर हुन जरुरी छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक कार्यढाँचा तयार गरी व्यवस्थापन गर्न स्थानीय तहलाई अधिकार दिएपछि स्थानीय तहले आन्तरिक तयारी थालेका छन् । यो तयारीले संक्रमण कायमै रहेकाले अभिभावक र विद्यार्थीवर्ग भने सशंकित भएका छन् । अभिभावकहरु अझै पनि ढुक्कसँग आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउन भने सकिरहेका छैनन् । तर कोभिडका बिच पनि स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा विद्यालय खोल्नसक्ने भएपछि विद्यालयहरु जोखिम मोलेरै भएपनि विद्यालय सञ्चालन गर्ने गरी अगाडि बढेका छन् ।
हुन त पाल्पा र गुल्मीका केही स्थानीय तहले विद्यालय खोलेका थिए । ती स्थानीय तहमा कोभिड संक्रमण पुनः बढ्न थालेपछि विद्यालय बन्द गर्न थालेका छन् । तर, विद्यालय खोल्नु त्यति महत्वपूर्ण विषय भने होइन । तर विद्यालय खोलेपछि विद्यार्थीलाई संक्रमण हुनसक्ने होकि भन्ने विषय गम्भीर हो । विद्यालय खोल्दा सावधानी अपनाउनु त पर्छ नै त्योभन्दा पनि विद्यार्थीलाई कसरी विद्यालयमा फर्काउने भन्ने विषयमा चनाखो हुनु जरुरी छ । किनभने, विद्यार्थीलाई जबरजस्ती कक्षामा राख्न सकिन्न । न त यसरी राखिएका विद्यार्थी पठन–पाठनमा सक्रिय हुन नै सक्छन् । विद्यालय खोल्ने अधिकार स्थानीयतहलाई भएपनि अहिलेकै अवस्थामा विद्यालय खोल्नसक्ने अवस्था देखिएको छैन । लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिक सत्रमा समेत असर पर्ने भएपछि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरिएको हो । यद्यपि विद्यालय खोल्ने नै हो भने पनि स्वास्थ्य सुरक्षा अपनाएर कार्यढाँचालाई आत्मसाथ गरी विद्यालयहरुले सावधानी अपनाउन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update