Shittalpati
टेलिभिजन दिवस र यसको महत्व

‘विश्व टेलिभिजन दिवस’ आज विश्वभर मनाईंदै छ । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रुपमा विकास भएको छ । आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाईन्छ । टेलिभिजन च्यानलहरुको स्थापनको संख्या मात्र होईन पछिल्लो समय सर्वसाधारणमा विश्वास समेत बढ्दै गएको छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियो । नेपालमा धेरै पछि मात्र टेलिभिजन प्रशारणको सुरुवात भएको हो । वि.सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा पनि यसले फूल्ने, फल्ने र मौलाउने मौका पायो । आज यो वरदानकै रुपमा विकास भएको छ ।

नेपालमा पनि धेरैका घरमा टेलिभिजन छन् । टेलिभिजनकै कारण रोजी रोजी ‘च्यानल चेन्ज’ गरेर हेर्न हामीलाई सजिलो भएको छ । बालबालिकाका लागि, युवाका लागि, वृद्धवृद्धाका लागि, विद्यार्थी, व्यापारी, गृहणी लगायत सबै पक्ष र वर्गका लागि टेलिभिजन कार्यक्रमहरुको निर्माण र प्रशारण भएका छन् । यो सबै टेलिभिजनका कारण सम्भव भएको हो । नेपालमा अहिले दर्जनौ टेलिभिजन च्यानल नियमित प्रसारणमा रहेका छन् । टेलिभिजनको विकास क्रमले पछिल्लो समय धेरै फड्को मारेको छ । विशेष गरेर पर्दा पछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समूह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिनको रुपमा हेरिएको छ । टिभीमार्फत नयाँ कुरा, ज्ञान, सीप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाउँ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ । टेलिभिजनले मनोरञ्जन प्रदान गर्नुका साथै आम दर्शक श्रोतालाई सूचना दिएर सूचनाको पहुँचमा पु¥याउन अहम भूमिका खेलेको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खवरदारीको भूमिका निर्वाह गर्दै ताजा–ताजा समाचार, कार्यक्रम, विज्ञापन र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गरेर दर्शक र श्रोतालाई सु–सूचित गर्नका लागि टेलिभिजनहरुले महत्वपूर्ण भूमिका खेलका छन् । सूचनाको क्षेत्रमा टेलिभिजनले पु¥याएको योगदान अतुलनिय रहेको छ भन्दा फरक पर्दैन । यसर्थ आगामी दिनहरुमा पनि सूचनाबाट सबैको समान पहुँच पुग्ने गरी टेलिभिजनको विकास र विस्तारमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update