Shittalpati
कोरोना कहरका बिच दसैँ

कोरोना कहरका कारण यस वर्षको दसैँ उत्साहजनक हुन सकेन् । विगतमा दसैंका समयमा हुने उत्साह यस वर्ष देखिएन् । अहिले बाध्यता, प्रचलनले मात्र बहुसंख्यक मानिसहरुले घरमा परिवार बिच मात्र दसैँ मनाए । विगतका वर्षहरुमा जस्तो न गाउँघरमा चहलपहल देखियो न मानिसहरुमा कुनै उत्साह । कहि कतै आफ्ना मान्यजनको हातको टिका लगाउन जाँदा कोरोना सर्ने पो हो कि वा सारिने पो होकी भन्ने चिन्ताका बिच यस वर्ष दसैँको टिका लगाइएको छ । एक त यसपालिको दसैँमा मनग्य खर्च गर्नसक्ने क्रयशक्ति अधिकांशको रहेन । करिब ६ महिना लामो लकडाउनले कुँजिएका, आय आम्दानीको स्रोत गुमेका, खाइपाइ आएको रोजीरोटी गुमाएका, विदेशबाट खाली हात फर्किएका, व्यवसायबाट टाट पल्टिएका, कामविहीन मजदुर, तलब नपाएका निजी क्षेत्रका श्रमजीवी सबैको अवस्था चौपट भएकाले पनि दसैँमा खर्च गर्ने क्षमता कमै मानिसमा भयो ।

पटक–पटक दोहोरिने मनसुनजन्य विपत्ति र कोरोना महाव्याधिमा ज्यान गुमाउनेहरुका परिवार, आफन्त, छरछिमेक सबैतिर निराशा छाएको छ । दैनिक औसत दर्जन बढी मानिसले कोरोना संक्रमणका कारण ज्यान गुमाइरहेका छन् भने कुनै पनि अस्पताल बिरामी र तिनका आफन्तले भरिएका छन् । यस वर्षको दसैंमा समाजका कोही कसैको मनमा खुसी रह्यो, न रौनक नै । घरभित्रै ‘क्वारेन्टाइन’मा सीमित हुने भएकाले यसवर्षको दसैँ निरासजनक बन्न पुग्यो । दसैँ मान्नु/मनाउनुका पनि आ–आफ्नै तौरतरिका छन् । आर्थिक मन्दीका बिच दसैँ मनाउनुको चुनौति त आफ्नो ठाउँँमा छँदैछ । त्यो भन्दा ठूलो चुनौति त कोरोना संक्रमणबाट जोगिनु/जोगाउनु रहेको छ । कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएकाले पनि यसपटक सामूहिक रुपमा गरिने रमाइलो, भेटघाटजस्ता गतिविधि हुन सकेनन् । कोरोना माहमाारीबाट बच्न सके दसैँ अर्को वर्ष उत्साहजन किसिमले मनाउन सकिन्छ । आफ्ना मान्यजनबाट आर्शिवाद लिन दसैँ नै आउनुपर्छ भन्ने पनि छैन । कोरोनालाई बेवास्ता गरेर जथाभावी गर्दा दसैँ दशा निम्त्याउने कारक बन्न पनि सक्छ । तसर्थ यस्तो अवस्थामा सबैले धैर्यता र उच्च सर्तकता अपनाएर मात्र चाडपर्वहरु मनाउनु पर्दछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update