Shittalpati
सांसद र भत्ता

महामारीका बोलामा पनि सांसदहरुले भत्ता लिएको विषयले यति बेला चर्चा पाएको छ । मन्त्री तथा संसदहरूलाई राज्यको ढुकुटीबाट दसैँ खर्च उपलव्ध गराइएको विषयले यतिबेला चर्चा पाएको हो । दसैँ मनाउने अवस्था नै नभएको बेला राज्यको ढुकुटीबाट खर्च लिनु भनेको मोजमस्तीका लागि हो । एकातिर नागरिकहरू उपचार खर्च नभएर मरिरहेका छन्, रोजगारी गुमेपछि खानै नपाएर श्रमिकहरू मरिरहेका छन्, कतिपय श्रमिकहरूले आत्महत्या गरिसके । तर, देश र जनताको पक्षमा काम गर्नुपर्ने दायित्व बोकेका नेताहरू भने राज्यको ढुकुटी लिएर मोजमस्ती गर्दै छन् भन्ने सन्देश गएको छ । हजार–आठ सय सांसदहरूले दसैँ खर्च लिँदैमा राज्यको ढुकुटी रित्तिएला त ? भन्ने प्रश्न पनि कोही कोहीले उठाएको देखिन्छ । यो प्रश्न केबल कुर्तक हो । यो रकम ठूलो नहोला, तर मानवीय संवेदनाका दृष्टिले पनि आपत्तिजनक हो । आठ सय सांसदको ६० हजार रुपैयाँका दरले ४ करोड ८० लाख रुपैयाँ हुन्छ । यो रकमले धेरैको चुलो बल्छ । यसैगरी आपैmँले बनाएको कानुनको पनि सांसदहरूले ख्याल गर्नुपर्ने थियो । तर त्यसो हुन सकेको छैनन् । जनस्तरबाट चर्को विरोध आएपछि यतिबेला भत्ता फिर्ता गर्ने लहर नै चलेको छ ।

फिर्ता गरेर मुलुकका लागि ठूलो गुण लगाएको भन्दै वक्तव्यका बाढी आउन थालेका छन् । जनताको व्यापक दवाबपछि लाचार भएर फिर्ता गरिएको प्रकरणलाई बहादुरीको रूपमा प्रस्तुत गर्नु अर्को अपराध हो । चर्को विरोध एवं कटाक्ष भएपछि संघीय सांसदहरूले अब दसैँ खर्चका नाममा पाएका विशेष भत्ता लिन नपाउने भएका छन् । केही सांसद्ले आलोचना सुरु हुनेबित्तिकै अहिलेको बेला दसैँ खर्च लिन नहुने भन्दै नलिने घोषणा गरेका थिए । प्रमुख विपक्षी नेपाली काँग्रेस र अर्को विपक्षी दल जनता समाजवादी पार्टीले आफ्ना सदस्य सांसदहरूलाई दसैंको विशेष भत्ता नलिन निर्देशन दिएका छन् । प्रधानमन्त्री एवं मन्त्रीहरूले भने दसैँ विशेष भत्ता कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको सार्वजनिक भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कतिपय सांसदले भने दसैँ विशेष भत्ताको रकम आफू खुसी विभिन्न संस्था वा व्यक्तिलाई दिने बताएका समाचारहरू सार्वजनिक भएका छन् । सामान्य जनतालाई महामारीका अवस्थामा पनि परीक्षणदेखि उपचारमात्र हैन शव व्यवस्थापनसम्म आफ्नै खर्चमा आफैँ गर्नु गराउनु भनेर पन्छिने सरकारले सांसद लगायतका विशिष्ट पदमा रहेका व्यक्तिहरूलाई दसैं मनाउन विशेष भत्ता दिनु नैतिक र सैद्धान्तिक दुवै दृष्टिमा गलत देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update