Shittalpati
कोरोनाको त्रासमा जेलिएको दसैँ

मदन देउराली 
जय देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता, नमोस्तस्यै नमोस्तस्यै नमोस्तस्यै नमोनम : नेपालीहरुको महान चाड दसैँ शुरु भैसकेको छ । वर्ष दिनको चाड मनाउन टाढा–टाढा देश विदेशबाट दसैँ मनाउन घर फर्कनेहरुको लर्को देखिनु पर्ने हो, घर–घरमा रमाइलो हुनु पर्ने हो । तर सरकार भन्छ कोरोनाको महामारीको कारण यो दसैँमा जो जहाँ छ त्यही बसेर मनाउनु । त्यति मात्र नभएर दसैँमा भिडभाडमा सपिङ्ग पनि नगर्नु बरु घरैमा भएका पुराना कपडा लुगा लगाएर यसपालीको दसैँ मनाउन सुझाव दिएका छन् ।

बेसार पानी, गुर्जो र तुलसीको रसपान गर्नु आदि भन्दै जनतालाई ढाडस दिंदैं छन् । यस्ता प्रकारका सन्देश सुन्दा सुन्दै जनता वाक्क भइसके । तर के थाहा कोरोनाको संक्रमण उच्च भएको ठाउँबाट घरतिर आउँदा कहि आफैले कोरोना संगसंगै ल्याएका त छैनन् ? अनि आफुले ल्याएको कोरोनाले कहीं घरमा भएका बुढा आमा बुबा कोरोनाले ग्रस्त हुने त हैन त्यति मात्र नभएर आफनै कारण आफना आफन्त, छरछिमेकी, साथीभाई तथा समाज नै सबै संक्रमित हुने त हैन ? त्रासै त्रास । त्यसैले पनि सरकारले दसैँको टीका लगाउन पनि यताउता नजाऔं भन्नुको अर्थ सबै सुरक्षित रहौं भन्न खोजिएको भनेर बुझ्न पर्छ की । त्यस्तै गरी जिल्ला प्रशासन पाल्पाले पनि घरैमा बसी पाल्पालीहरुलाई चाडपर्व मनाउन आग्रह गरेको छ । दसैँ, तिहार, नेपाल संवत, छठ आदि पर्वमा यातायातका साधन, धार्मिक स्थल, पसल लगायत सार्वजनिक स्थलमा हुने भीडभाडले संक्रमणको जोखिम अझै बढ्ने भएकाले चाडपर्व मनाउने क्रममा आवश्यक आवागमन, भेटघाट, मेला नाच र मानिस जमघट हुने कुनै पनि धार्मिक, सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम नगर्न तथा उच्च सतर्कता अपनाई परिवार मात्र स्वस्थ वतावरणमा आफ्नो धर्म, संस्कृति परम्परा अनुसार चाडपर्व मनाउन तथा अनुष्ठान सम्पन्न गर्न अनुरोध गरेको छ । कस्तो विडम्बना वर्ष दिनको चाडवाड पनि रमाइलोसँग मनाउन नपाइने । दसैँमा घर आउन नपाइएको तितो यर्थाथ कतिपयले गीत संगीतमार्फत पनि पोखेको पाइन्छ । विष्णु गैरेको शब्द, हरि लम्सालको संगीत र स्वर रहेको यो गीतले आफ्ना परिवारजनसँग टाढिएर परदेशमा रहेका हरेक युवापिढीका पिडालाई समेटेर उतार्न सक्ने गरी अत्यन्त मार्मिक गीत पस्केको छ । आउँछु भन्थे पोहर आमा त्यसै त्यसै भयो, यसपाली त आउँछु त भन्थें समय निको भएन ।

समय सान्दर्भिक अति मुटु छुने नेपालीहरुको वास्तविकता अनि नेपाली युवाहरुको भोगाईको यथार्थता । के गरुन् विचराहरु पनि बाध्यताले परदेश लाग्नु परेको छ । हुन पनि वर्षको एकपटक आउने महान चाड दसैँ यसपाली कोभिड–१९ कोरोनाको महामारीको चपेटामा परेको छ । कामको सिलसिलामा घरबाट बाहिर रहेका नेपालीहरु यो अवसरमा आ–आफ्नो घर फर्कने हो । यो अवसरमा आफ्ना परिवारजन, साथीभाई छर छिमेकी सबैसँग भेटघाट रमाइलो गर्ने, मीठा–मीठा परिकार खाने, आफ्ना आदरणीय मान्यजनहरुबाट टिका जमरा प्रसाद तथा आर्शिवाद थाप्ने चाँड हो । घरमा आफ्ना बुढा आमा बुवा कहिले हाम्रा छोराछोरी अरु बेला नआए पनि दसैँ जस्तो महान् चाडमा त पक्कै पनि घर आउलान् भनेर बाटो पर्खेर बसेका हुन्छन् । तर अहिलेको समय कोरोनाले गर्दा सबैको योजनाहरुमा तुषारापात भएको छ । अब चाहेर पनि घर फर्कन सक्ने स्थिति छैन । कहीँ कोरोना पनि आफूसँग सँगै आएका छन् कि के थाहा । अझ गृहमन्त्रालयले त दसैँका बेलामा मन्दिर तथा शक्तिपीठहरु समेतमा नियमित पूजा गर्न बाहेक भक्तजनहरुको लागि खुला नगर्न पनि भनेको छ । हिन्दू धर्म अनुसार दसैँको बेला विभिन्न शक्तिपीठहरुमा विशेष पूजाआजा गरिन्छ भने धेरै संंख्यामा भक्तजनहरु मन्दिर पुग्ने गर्छन् । त्यसैले पनि मन्दिरमा भिडभाड नगर्न नै यस्मा रोक लगाइएको हो । एउटा सानो लापरवाहीले समाज नै संक्रमण हुन सक्दछ । त्यसैले सरकारको सूचनालाई सकारात्मकरुपमा लिनु आवश्यक छ । वर्ष दिनमा एकपटक मनाउने चाड दसैँ सम्पूर्ण नेपालीहरुको एक प्रमुख महान् चाडपर्व हो । नेपाली पात्रो अनुसार प्रत्येक वर्ष आश्विन शुक्लपक्ष प्रतिपदाको घटस्थापनाको दिनदेखि कोजागत पूर्णिमासम्म यो चाड मनाइन्छ । वडा दसैँ असत्य माथि सत्यको जित भएको पर्वको रुपमा मनाइने गरेको तथा यो अवधिमा मर्यादा पुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजयश्री प्राप्त गरेको, शक्तिस्वरुपा माता भगवतीले महिषासुर दैत्यको बध गरी विजयश्री प्राप्त गरेको पुनित सम्झनामा मनाउने गरिन्छ । परापूर्वकालदेखि मातृशक्तिको पूजा उपासना गर्ने परम्परा चल्दै आएको छ । यही मातृशक्तिको कृपाले असत्य माथि सत्यको विजय, दानवता माथि देवताको विजय, अमानवता माथि मानवताको विजय हुँदै आइरहेको छ । पन्ध्र दिनको दसैँ भएतापनि पहिलो दिन घटस्थापना र त्यसपछि सप्तमी, अष्टमी, नवमी, दशमी तथा कोजागत पूर्णिमालाई विशेष रुपमा मनाइन्छ । दसैँको पहिलो दिनदेखि दशमीको दिनसम्म माता नवदुर्गा एवं त्रिशक्ति देवी माता महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिवत पूजाआजा गरिन्छ ।

नवरात्रीमा प्रतिपदाको दिनदेखि नवदुर्गाको नौ विभिन्न रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, तथा सिद्धिदात्रीको पूजा गरिन्छ । सातौ दिनमा फूलपाती भित्र्याउने कार्य हुन्छ, आठौं दिनमा माता दुर्गा भवानीको पूजा आराधना गरी महा अष्टमी मनाइन्छ । नेवार समुदायमा साँझ कुछी भ्वे खाने चलन छ । कुलका सबै सदस्यहरु एकै ठाउँमा बसी खाइने भएकाले यसलाई कुलभोज अर्थात् कुछी भ्वे भनिएको हो भनिन्छ । नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । चामुण्डा देवीले रक्तवीज नामक दैत्यको संहार गरेको दिनको रुपमा महानवमीलाई लिइन्छ । यसदिनलाई स्याक्व टयाक्वो अर्थात् जति बडी बलि उती बढी विजय प्राप्त गर्ने दिनको रुपमा लिइन्छ । साँझ सपरिवार बसी भोज खाने गर्दछन् । दशमीको दिनमा मातृशक्तिको आराधना गरी दसैँ कोठामा उमारिएको जमरा आफना कुलदेवतालाई चढाई निकालिन्छ । यसै दिन घरमूलि तथा आफु भन्दा ठूला बडा मान्यजनबाट घरका सबै सदस्यहरुलाई दही चामल, अविर मिश्रित रातो टिका, जमरा, फूल प्रसादका साथै यस, ऐश्वर्य, तथा दिर्घायूको आशिष दिने गरिन्छ । विजया दशमीलाई एकता, भातृत्व, तथा प्रेमको रुपमा लिने गरिन्छ तथा सबै आफन्तहरु एकै ठाउँमा जम्मा भई टीका लगाउने गरिन्छ । कतिपय जातीमा दशमीको दिन मात्र टीका लगाउने चलन रहे तापनि नेवारी समुदायले कोजागत पूर्णिमासम्म नै टीका लगाउने गर्दछन् । त्यसपछिका दिन कोजागत पूर्णिमाको दिन को सुतेको छ को जागा छ भनेर हेर्न लक्ष्मीमाता नै पृथ्वीमा आउनु हुन्छ भनेर रातभरि जागरण बस्न जुवा खेल्ने गरिएको पनि भनिन्छ ।

तानसेनमा दसैँको आगमनसँगै घर आगन सफा गर्ने लिपपोत, रंगरोगन गर्ने गरिन्छ । घटस्थापनाका दिन कति घरमा जमरा रोपिन्छ भने जमरा नरोपिएका घरहरुले नवमीका दिन मन्दिरमा गई जमरा लिने गर्दछन् । घटस्थापनादेखि नै श्री रणउजीरेश्वरी भगवती मन्दिरमा भक्तजनहरुको बाक्लो चहलपहल हुन्छ । मन्दिर प्रागनमा माातको गुणगान गरिएको भजन हुन्छ । श्री रणउजीरेश्वरी भजन खल र तानसेन भजन संरक्षण समितिले आ–आफनो तरिकाले भजन गर्दछन् । अष्टमीको दिन सबै परिवार एकै ठाउँमा बसी कुछी भ्वे खान्छन् । केराको पातमा एक कुरुवा चिउरा, मासुका थरिथरिका परिकारका साथ अन्य विभिन्न परिकार खाने गर्दछन् । नवमीको दिन बिहान सबेरैदेखि नै पूजा लिएर तानसेनमा भएका करिव करिव सबै मन्दिरहरुमा पुग्दछन् । श्री रणउजीरेश्वरी भगवती मन्दिर, श्री गणेश मन्दिर, श्री अमरनारायण मन्दिर, श्री महादेव मन्दिर, श्री बटुक भैरव मन्दिर, श्री भीमसेन मन्दिर, श्री सरस्वती मन्दिर तथा अन्य मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्छ । श्री भगवती मन्दिर, श्री बटुक भैरव मन्दिर तथा श्री भीमसेन मन्दिरमा बलि चढाइन्छ अरु मन्दिरहरुमा बलि चढाइदैन । साँझ विभिन्न परिकारहरु बनाई भोज खाने गर्दछन् । दशमीको दिन आफनो घरमा पूजा गरिसके पछि घरमूलिले परिवारका सदस्यहरुलाई टिका, जमरा, फूल, प्रसाद, दक्षिणाका साथै आशिष दिने गर्दछन् । त्यसपछि आफना नातेदारहरुकोमा गएर टीका लगाउने गर्दछन् । पहिला–पहिला दसैँ धेरै नै रमाइलो हुन्थ्यो । सप्तमीको दिन दरवार परिसरमा रहेको दसैँ घरबाट चार पल्टनले सजिएको लावा लश्कर सहितले फूलपाती टुँडिखेल तल नागपोखरीमा लैजाने गरिन्थ्यो । त्यहाँ राखिएको ठूलो तोप पड्काएर बढाई गरिन्थ्यो । दिउँसो टँुडिखेलमा सेनाले लस्करै बन्दुक पड्काई बढाँइ गर्थे । दशमीको दिन सेनाले तारो हान्ने चलन थियो । टुँडिखेलबाट हाल पाल्पा अस्पताल भएका ठाउँमा तोप लगिन्थ्यो र त्यहाँबाट बनदेवीमा तारो हान्थ्यिो । हुन त यो मनोरञ्जनका लागि मात्र गरिन्थ्यो किनकी त्यसबेला मनोरञ्जनका अरु साधनहरु केही थिएनन् । दसैँको बेला चङ्गा उडाउने चलन पनि थियो । घरहरु साना–साना थिए विजुलीका तारहरु थिएनन् त्यसैले पनि बच्चाहरु चङ्गा उडाउन रमाइलो मान्थे । किँबदन्ती अनुसार मौसमले शरद ऋतुको स्वागत गर्दै वर्षाका देवता देवराज इन्द्रलाई अब पानी पुग्यो भन्ने संकेत दिन चङ्गा उडाइएको भनिन्छ । आजकाल यस्ता चलनहरु सबै हराइसके ।

कोजागत पूर्णिमाका दिनदेखि आकाशदीप (मतकल) बाल्ने चलन छ । हुन त यो चलन पनि केवल केही नेवारहरुमा मात्र सिमित भैसकेको छ । भनिन्छ भगवान श्री विष्णु तथा माता लक्ष्मीको स्वागतका लागि आकाशदीप बालिएको रे तर यस्को अर्को पक्ष त्यसबेला तानसेनमा विजुली थिएन बाटो हिड्ने बटुवाहरुले थोरै भए पनि बत्तिको उज्यालो पाओस् भनेर यो चलन चलाएको भनिन्छ । सबेरै एकाविहान मालश्री रागको मिठो गीत सुन्न पाइन्थ्यो । होनीमाया गन्धर्वका बुवा र उनीपछि होनीमाया गन्धर्वले धेरै समयसम्म घर–घरमा गएर मालश्री रागमा आधारित कति सुतिरहेको नन्दलाला भन्ने गीत गाउँथे । अब यस्ता पुराना कुराहरु सबै एकादेशका कथा भैसकेका छन् अझ यसपाली त झन कोरोनाको महामारीले कतै गएर टीका लगाउन जाने स्थिति पनि देखिएन । कतिपय घरहरुले त सल्लाह गरिसके रे कि यसपाली टीका लगाउन कोही पनि नआओ हामी पनि आउँदैन भनेर । कुरा ठीकैै पनि हो तानसेनमा त कोरोना संक्रमितहरु छैनन् भन्दै बसेकाहरु विस्तारै तानसेन बजारमा कोरोनाको संक्रमितहरु बढ्न थालेको देखे पछि घर बाहिर निस्कन पनि डराइरहेका छन् । एकातिर सरकारको आग्रह अर्को तिर महामारी बन्दै गइरहेको कोरोना । यसपालीको दसैँलाई कोरोनाले जेलिसकेको छ । त्यसैले घरैमा आफनो परिवारसँग बसी दसैँ मनाऔं । घरै बसौं स्वस्थ रहौं । श्री रण उजीरेश्वरी भगवती माताले सबैको कल्याण गरुन् । सम्पूर्णमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना । अस्तु ! (लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update