Shittalpati
विश्व खाद्य दिवसको साथर्कता

अक्टोबर १६ अर्थात् आज विश्व खाद्य दिवस । आज नेपाल लगायत विश्वभरीका १५० माथिका देशहरुमा खाद्य दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ लाई खाद्य दिवसको रुपमा मनाउन थालिएको हो । संगठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६ मा यो दिवस मनाउँदै आइएको छ । सन् १९४५ अक्टोबर १६ मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले संगठनको स्थापना भएको दिनलाई खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । यो निर्णयसँगै सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आइएको छ । सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । ‘उब्जनी बढाऔँ, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ मूल नाराका साथ खाद्य दिवसमा सरिक भएको नेपालले लामो समय पुरा गरेको छ । तर नारा र घोषणामा प्रतिवद्धता जनाए अनुरुप नेपालले कृषि तथा खाद्यान्न उत्पादन, सञ्चिती र वितरणमा भने खासै प्रगति गर्न सकेको छैन ।

कृषि प्रधान देश भनिएको नेपाल अहिले पनि कृषि उत्पादन र उपभोगमा आत्मनिर्भर हुन सकिरहेको छैन । वार्षिक झण्डै ५० अर्ब हाराहारीको कृषि उपज विभिन्न देशहरुबाट नेपालले आयात गरिरहेको छ । ६० प्रतिशत कृषि व्यवसाय र ५८ प्रतिशत कृषियोग्य भूमि रहेको कृषि प्रधान देश भनिएको नेपाल कृषिजन्य निर्यातमा होइन आफ्नै उत्पादनले आत्मनिर्भर बन्न सकिरहेको छैन । स्वदेशी उत्पादनले उपभोगको करिब ७० प्रतिशत पनि धान्न सकिरहेको छैन । प्रमुख खाद्यान्नमा पर्ने धान, मकै, गहुँ, कोदो, जौ, फापरमै नेपाल आत्मनिर्भर हुन सकिरहेको छैन । बर्सेनि मनाइने खाद्यान्न दिवसमा सबैभन्दा पहिले स्रोत–साधनमा पहुँच नभएका, रातदिन कृषि कर्ममा समर्पित तर सधैं खाद्यान्न अभाव भोगिरहेका लाखौं नेपाली किसानको आवश्यकता परिपूर्तिका लागि हामीले कति सार्थक प्रयत्न गरेका छौं भन्ने कुरा मनन् गर्नु आवश्यक छ । त्यसो गर्न सके मात्र खाद्य दिवस मनाउनुको सार्थक रहन सक्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update