Shittalpati
पर्यटन दिवसको सार्थकता

आज विश्व पर्यटन दिवस । नेपालमा पनि सरकारी तथा निजी क्षेत्रबाट पर्यटन दिवस मनाइदै छ । विगतदेखि सरकारी निकाय तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । यस वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण कार्यक्रमहरु खासै नहुने देखिएको छ । कोरोना भाइरसका कारण यस वर्ष विश्वभरको पर्यटन क्षेत्रमा गम्भीर असर पारेको छ । होटेल, रेस्टुराँ, ट्राभल, ट्रेकिङ, एयरलाइन्स सबै क्षेत्रमा नोक्सानी र असर परेका बेला पर्यटन व्यवसायीहरु उत्साहित छैनन् । जसले गर्दा निजी क्षेत्रबाट दिवसका अवसरमा खासै औपचारिक कार्यक्रमहरु नहुने देखिएको छ । सरकारी तवरबाट भने केही औपचारिक कार्यक्रम भने हुँदै छन् । प्रायः दिवसहरूलाई औपचारिकतामा सिमित गरिन्छ । अथवा केही गरेको देखाउन औपचारिक कार्यक्रम आयोजना गरिन्छन् । पर्यटन दिवस पनि यसबाट अछुतोे रहन सकेको छैन । विभिन्न निकाय तथा क्षेत्रले आ–आफ्नै ढंगले पर्यटन दिवस मनाउनुले पनि सहजै अनुमान गर्न सकिन्छ ।

नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको भए पनि त्यसले सार्थकता पाउन भने सकेको छैनन् । हुन त कोरोना माहारीका कारण पर्यटन क्षेत्र अत्यन्त प्रभावित भएको छ । यसो भन्दैमा पर्यटन दिवसको औचित्य र महत्वलाई भने विर्सन हुँदैन । कोरोनाले थिलो–थिलो पारेको पर्यटन व्यवसायीलाई अझ सशक्त ढंगले अगाडि बढाउने अवसरको रुपमा दिवसलाई लिनुपर्दछ । पर्यटनलाई प्रदेशको द्रुत आर्थिक समृद्धिको बलियो र प्रमुख आधारका रुपमा पटक–पटक प्रस्तुत गरिएको छ । प्रदेश पाँच सरकारले समृद्धिका प्रमुख तीन आधारमा कृषि, पर्यटन र उद्योगलाई नै प्राथमिकतामा राखेको छ । प्रदेशको द्रुत आर्थिक समृद्धिका लागि यी तीन आधार नै प्रमुख हुन् भन्नेमा विमति पनि रहदैन । तर, फेरि पनि प्रमुख सवाल भनेको यी आधारलाई कसरी प्रभावकारी तथा उपलब्धीमूलक ढंगले उपयोग र परिचालन गर्ने भन्ने नै हो । पर्यटन दिवस मनाइरहँदा कम्तिमा प्रदेश सरकारले कोरोनाका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको समस्या र चुनौतिबारे गम्भीरतापूर्वक छलफल गर्ने तथा विगतका कमीकमजोरीलाई दोहोरिन नदिनेतर्फ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना बनाउन तर्फ उत्तिकै सजगता अपनाउनु जरुरी छ । यसो गर्न सके मात्र दिवस मनाइनुको सार्थकता रहन सक्छ ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update