Shittalpati
सामाज सेवाको नाममा व्यापार नहोस्

आज सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो । सेवा नै धर्म हो, मन बचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यले परिषद्को स्थापना भएको थियो । समाज सेवामा नागरिकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषदले समाज सेवा दिवस मनाउन शुरु गरेको हो । हरेक वर्ष नेपाल लगायत विश्वका विभिन्न देशहरुमा विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाउने गरिन्छ । तर यस वर्ष भने कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी संक्रमणले गर्दा निक्कै कम मात्रामा सार्वजनिक कार्यक्रमहरु हुने भएका छन् । समाज सेवा विकासोन्मूख देशको विकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवा एउटा विशुद्ध सेवामूलक काम हो । तर पछिल्लो समय समाज सेवाको नाममा कही कतै ब्रम्हलूट पनि भएको हामीले समाचार सुनेका छौं । समाजसेवीको नामबाट गलत क्रियाकलाप पनि नभएका हैनन् तर त्यो समाज सेवाको रथ हाक्ने जिम्मा मानिसले लिएका हुन्छन् ।

समाजसेवा पवित्र कार्य हो भने समाजसेवीको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ र समाजसेवा गर्ने संस्थाहरु गनाउने भएका छन् । आजकाल छ्याप छ्याप्ती जहाँ गयो त्यहि समाजसेवी देख्न थालिएको छ । यो एक किसिमले राम्रो मानिए पनि यसको नाममा व्यापार गर्नुले भने समाज सेवा माथि नै प्रश्न चिन्ह खडा गरेको छ । सबैलाई समाजसेवी भन्ने हो भने खाँट्टी समाजसेवी त ओझेलमा पर्ने होकि भन्ने आशंका पनि उब्जिएको छ । मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवियता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवियता कायमै रहेको संकेत दिन दुःखीहरुको सेवा र सहयोगमा अघि बढेका सच्चा सेवीको हातले प्रमाणित गरिरहेका छन् । युवा क्लब हुन् वा कुनै पनि सामाजिक क्लब तथा संघ संस्था, उनीहरुले सामाजिक काममा आ–आफ्ना तर्फबाट हात बढाइरहेका छन् । यसले उनीहरुको सामाजिक कार्यमा सक्रियतालाई संकेत गरिरहेको छ । जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवियताको आवश्यकता छ । तसर्थ समाज सेवा मानवियतासँग जोडिनु पर्दछ । यस कार्यमा कुनै राजनिती, पूर्वाग्रह, धर्म या सम्प्रदाय मिसिनु र व्यापार गरिनु हुँदैन । सामाजिक सेवा दिवसको सबैलाई शुभकामना ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update