विचार

शान्ति दिवसको साथर्कता

Shittalpati Reporter

आज सेप्टेम्बर २१ विश्व शान्ति दिवस । सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ । संसारका सबै देश र जनतामा शान्तिको कामनासहित यो दिवस प्रारम्भ भएको हो । नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ । कुनै पनि मुलुकको समाज व्यवस्था व्यवस्थित गर्ने परिप्रेक्ष्यमा अहिंसा र शान्तिको महत्व र उपादेयता दर्शाउनु यसको मुुख्य ध्येय हो । अनि समाजमा विद्यमान असमझदारी, द्वन्द्व र अशान्तिको शान्तिपूर्ण रुपान्तर गर्नु र समाजमा रहेका द्वन्द्व, अशान्ति र हिंसा, हत्याका प्रवृत्ति र प्रक्रियाको शान्तिपूर्ण उपचार गर्दै जाने क्रिया–अनुक्रियालाई प्रोत्साहित गर्नु र राजनीति एवं राज्यव्यवस्था, न्याय व्यवस्था, सुरक्षा व्यवस्था, बजार व्यवस्था, विकास व्यवस्था र एनजिओ÷आइएनजिओ व्यवस्थासमेतका सबै व्यवस्था व्यवस्थित गर्नु यसको प्रक्रियागत प्रयोजन हो ।

आज शान्तिको अधिकार अन्तर्राष्ट्रिय कानुनको अभिन्न अंग बनेको छ । सबै मानव अधिकारहरु शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न पाउने हुँदा शान्तिको अधिकार अरु अधिकारको तुलनामा बढी महत्वपूर्ण हुन्छ । विश्वमा हिंसा न्यूनीकरण हुन नसक्नुको मुख्य कारण हिंसा हुनुका कारणहरुको सम्बोधन हुन नसक्नु हो । आज अशान्ति रोक्ने जे÷जति प्रयास भएका छन् ती हिंसालाई बलका भरमा रोक्नेतर्फ मात्र केन्द्रित छन् । हिंसा हुनका कारणहरुको सम्बोधनतर्फ विश्वको ध्यान केन्द्रित भएको छैन । शान्ति, अहिंसा, मानव अधिकार र लोकतन्त्र एकापसमा पृथक रहन नसक्ने भएकाले मानव अधिकार र प्रजातन्त्रको जगमा नै शान्ति स्थापना हुन्छ भन्ने कुरामा अझै पनि सरकारहरुको ध्यान पुगेको छैन । शान्ति भनेको त संस्कृति हो, शान्ति खोज्न अन्त जानुपर्दैन । शान्ति मानवको मनमस्तिष्कमा हुनुपर्छ । त्यसैले हरेक मानवले मनमस्तिष्कबाट हिंसा हटाई शान्तिलाई स्थान दिन सकेमात्र समाजमा शान्ति स्थापना हुन्छ । मानव मस्तिष्कमा यो वातावरण निर्माण गर्ने दायित्व राज्यको हुन्छ । मानव अधिकारको सम्मानबाट शान्ति स्थापना हुन्छ र उल्लंघनबाट नै शान्ति खल्बलिन्छ भन्ने मूल मन्त्रलाई राज्यले आत्मसात गर्न सके समाजमा शान्ति स्थापना हुन्छ । समाजमा शान्ति स्थापना हुन सकेमा नै विश्व शान्ति दिवसको सार्थकता हुन्छ ।


प्रकाशित मिति: सोमवार, आश्विन ५, २०७७, १०:१९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

खेलले चाहेको लोकतान्त्रिकरण सोमवार, आश्विन ५, २०७७, १०:१९:००
सांसद र भत्ता सोमवार, आश्विन ५, २०७७, १०:१९:००
भड्किलो नहोस् दसैँ सोमवार, आश्विन ५, २०७७, १०:१९:००
कोरोनाको त्रासमा जेलिएको दसैँ सोमवार, आश्विन ५, २०७७, १०:१९:००