Shittalpati
तानसेन र खानेपानी

पानी नपाएर प्यासी भएका कतिपय तानसेनवासीका मागलाई पूरा गर्ने प्रतिबद्धता सहितको विज्ञप्ती मंगलबार समितिको तर्फबाट आएको छ । यसलाई सबैले आशा र भरोसाको प्रतिक मानेका छन् । धेरैले भने, अनि धेरैलाई अचम्म पनि लाग्यो कि पत्रकारले धर्ना गर्ने कि समाचार लेख्ने ? प्रश्नै प्रश्नका थुप्राहरुलाई दाज्यो भने सबै जिज्ञासाहरु अस्वभाविक होइनन् । स्वभाविक यस अर्थमा हुन कि धर्नामा बस्ने पात्रको मूल पेशा पत्रकारिता थियो । तर धर्नामा बस्ने पत्रकारले पानी पिउन नपाएको प्यास समाचारले मात्रै शान्त पार्न सकेन । धर्नाकारी पत्रकारले आफैसंग प्रतिप्रश्न गर्दै मनलाई सोध्यो, तिमी पत्रकार मात्रै हौँ कि, उपभोक्ता पनि हो ? पत्रकार मात्रै हौ भने आफ्नो मात्रै समस्या हो भन्ने ठानेर, एक कल फोन गरे तिम्रो धारामा पानी आउँला, अन्यथा समाजका लागि, छिमेक र सिङ्गो टोल हुँदै, सबै समस्या भोगिरहेका उपभोक्ताको पनि समस्या उजागर गर्नुपर्छ । सबैका अधिकारका बारेमा बोल्नुपर्छ भन्ने लाग्छ भने, लोकतान्त्रिक विधिको प्रयोग गर्दै अधिकारका लागि पैरवी गर्नु पनि पत्रकारको पनि दायित्व हो भन्ने राय मेरै मनले दिँदै जाँदा, अन्त्यमा धर्ना रोज्नुपर्ने बाध्यात्मक अवस्था आयो ।

हरेक आन्दोलन जनताका पक्षमा भए भनिन्छ । जनताले के पाए ? अर्को मनले भन्यो, पत्रकार तिमी भोलिदेखि धर्ना बस्ने निधो गर्दैछौ भने, वर्तमान अवस्थाको ख्याल गरेका छौ ? अनि झट्ट अर्को चेतना भयो कि कोभिड–१९ ले ग्रस्त उपभोक्ताहरु धर्नाका लागि ऐक्यवद्धता जनाउँन स–शरीर उपस्थित हुँदा कतै संक्रमणले प्रसय त पाउँदैन ? अनि झन् अर्को मनले भन्यो, पानी खान पाउँ भन्नका लागि जुुलुसै आउनुपर्छ भन्ने छैन, जे सोंचे ठीकै होला, शुरु गरौं भन्ने तेस्रो मनको मतलाई प्राथमिकता दिए, सबैको साथ पाइयो, सबैका लागि राम्रै नतिजा प्राप्त भयो, फलस्वरुप उपभोक्ता समितिबाट भएका प्राविधिक तथा मानवीय कमी कमजोर सच्याएर अगाडि बढ्ने र समस्याको समाधान खोज्ने प्रतिबद्धता सहितको विज्ञप्तीले शान्तिपूर्ण आन्दोलनलाई ममता रुपी उर्जा दियो । तर त्यो उर्जा हिजोका फोस्रा आश्वासन जस्तै नहोउन्, अनि कोरोनाको कहरबाट सुकेका घाँटीहरुले स्वच्छ पानीको प्यास मेटाउन सक्ने वातावरण बनोस्, भन्ने सकारात्मक अवधारणाका साथ हाम्रा माग समितिका प्रतिबद्धता अनुरुप समयमै सम्बोधन हुन सकुन्, यदि सकेनन् भने यो धर्ना पहिलो चरणको पनि थियो भन्ने दिन आउँन धेरै बेर लाग्दैन ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update