Shittalpati
झनै जोखिम

लामो समयदेखिको लकडाउन सरकारले हटाएपछि झन जोखिम बढ्दै गएको छ । दैनिक जीवनदेखिको नयाँपनलाई सहज बनाउनका लागि लकडाउन हटाइएपनि मानिस जथाभावी रुपमा बाहिर निस्कन थालेका छन् । नेपाल सरकारले तोकेका न्यूनतम स्वास्थ्य मापदण्डको समेत परिपालना नगरी मानिस बाहिर निस्कने र जमघट गर्न थालेपछि जोखिम झन बढ्दै गएको छ । लामो समय सुस्त रहेको कोरोना संक्रमणको दर केही दिनयता ह्वात्तै बढेको छ । नेपालमा दिनप्रति संक्रमणको दर बढ्दै गएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि दिनप्रतिदिन वृद्धि भएको छ । कोरोना पोजेटिभ देखिएर आइसोलेशन सेन्टरमा रहेका नागरिकहरुलाई समेत १४ दिन पुरा भएपछि लक्षण नदेखिएमा परीक्षण नै नगरी घर पठाईने गरिएको छ । यसले गर्दा झन समुदायस्तरमै जोखिम बढ्ने देखिएको छ । सहरबाट गाउँ जाने लहर सेलाउन नपाउँदै फेरि गाउँबाट सहरतिर, तराईबाट पहाडतिर मानिसहरू आवत–जावत गर्न थालेका छन् । यता लकडाउनकै समयमा पनि सरकारको निर्देशन उल्लङ्घन गर्दै मानिसहरू जम्मा हुने क्रम रोकिएको छैन् ।

सामाजिक गतिविधि घटाएर मानिस–मानिस बिचको भौतिक दूरी कायम गर्ने र आवश्यक सुरक्षा प्रबन्ध गरेर मात्र गतिविधि गर्न सरकारले निर्देशन दिएपनि यसको ब्यापक उल्लङ्घन भएको छ । यसको परिणाम चाहीँ विस्तारै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा संक्रमण सुरु भएको छ । प्राकृतिक विपत्तिमा होस् वा महामारीको अग्रमोर्चामा खटिनुपर्ने सुरक्षाकर्मी नै हुन्छन् । यतिबेला कोरोना नियन्त्रणका लागि प्रभावकारी बनाउन, सीमा सुरक्षा गर्न, संक्रमितको खोजी र तिनको सम्पर्क पत्ता लगाएर परीक्षणका लागि ल्याउन तथा कोरोना पोजेटिभ देखिएकालाई स्वास्थ्य संस्थासम्म पु¥याउन सुरक्षाकर्मी नै परिचालित भएका छन् । सेनाका उच्च तहका अधिकारीदेखि जनपद र सशस्त्र प्रहरीसम्म फैलिएको कोरोनाको प्रभावले भावी दिनमा कोरोना विरुद्धको लडाइँ कमजोर हुने सम्भावना बढ्दै गएको छ । पछिल्लो समय सुरक्षामा खटिएका सुरक्षाकर्मीमा पनि कोरोना पोजेटिभ पुष्टि हुँदै गएको छ । यस्तो अवस्था बढ्दै जाने हो भने भोलि अग्रमोर्चा कमजोर हुने र कोरोनाविरुद्धको लडाइँमा मानिस पराजित हुने अवस्था आउला भन्न सकिदैन । तसर्थ लडकडाउन हट्यो भन्दैमा कुनै चुनौती नै छैन भनेर बुझ्नु हुँदैन । कोरोना संक्रमणको उच्च बिन्दुमा पुग्ने सम्भावना अझै पनि कायमै छ । त्यसैले सरकारले लगाएका नीति र नियमहरुलाई पालना गर्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०७७  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update