Shittalpati
बीपी : संक्षिप्त जीवन यात्रा

पुष्करराज रेग्मी

कृष्णप्रसाद कोइराला र दिब्यालक्ष्मी कोइरालाको सुयोग्य सुपुत्र विश्वेश्वर प्रसाद कोइरालाको जन्म वि.सं. १९७१ साल भाद्र २४ गतेका दिन भएको हो । न्वारनको नाम चुडामणि भएता पनि भगवान विश्वनाथको स्मृतिमा विश्वेश्वर प्रसाद रहन गयो । उनी बीपी कोइरालाको नामले संसार प्रशिद्ध भए । मेष राशि र तुला लग्नमा बीपीको जन्म भएकाले बाँचुञ्जेल चर्चित हुने र मरेपछि अमर रहने योग थियो । लाभस्थानमा स्वगृही सूर्य बसेकाले उनी अमर रहे । मृत्यु हुनु भन्दा डेढ महिना अघिमात्र शुरु भएको उल्का ग्रहले सुख आउने बेलामा उनलाई बाच्न दिएन् । बीपीको जन्मकुण्डली अनुसार उल्का, राहु, र शनि ग्रहको प्रभावले नै मृत्यु पछि पनि क्रियाक्रम गर्न दिएन ।

वाराणसीको एक अस्पतालमा प्राकृतिक नियमलाई तोडेरै शल्यक्रियाद्वारा जन्मिएका उनी तीन वर्षको उमेरमै पिताजीसँग देश निकालामा परे । साथी, आमा र बहिनीको कानको सुनको रिङ बेचेर आएको पैसाले उनी वनारसको हरिश्चन्द्र स्कूलमा भर्ना भए । एकजोर कुर्ता, पाइजामा र खाली खुट्टाको भरमा पढ्दै रहे । सन् १९३२ मा इण्टरमिडियट पास भएपछि समय क्रमसँगै उनले राजनिती शास्त्र, अर्थशास्त्र र कानुनमा समेत स्नातक उत्तीर्ण गरे । विद्यार्थी जीवनमै १५ वर्षको उमेरमा उनी पक्राउ परे । रुसमा स्टालिनको क्रूर शासन थियो भने भारतमा अङ्ग्रेजको दमनात्मक शासन थियो । नेपालमा निरङ्कुश राणाशासन थियो । भारत स्वतन्त्रताको लागि महात्मा गाँन्धीले चालेको अहिंसात्मक आन्दोलनको प्रभाव बीपीमा पर्दै गयो । यहि क्रममा जयप्रकाश, डा.लोहिया आदि सोसलिस्ट नेताहरुको सम्पर्कमा रही काँगे्रस सोसलिष्ट पार्टीको सक्रिय संस्थापक सदस्य समेत रहेर काम गर्न लागे ।

सन् १९३६ मा कलकत्ता विश्व विद्यालयबाट कानुनमा स्नातक गरी दार्जिलि·मा वकालत गर्ने क्रममा सन १९३७ मा तत्कालीन झापा जिल्लाका वडा हाकिम कमला प्रसादको सुपुत्री सुशिलासँग बीपीको शुभ विवाह भयो । बीपी कोइराला ईश्वर प्रतिआस्तिक वा नास्तिक कुनै पनि नभई निरपेक्ष व्यक्ति थिए । वि.सं. १९९८ मा मजदुर, आन्दोलनमा पक्राउ र वि.सं. १९९९ मा ‘भारत छोडो’ आन्दोलनमा महात्मा गान्धीलाई सघाए वापत तीन वर्षसम्म कारागार जीवन व्यक्तित गरेका बीपीले वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेस मार्फत गणेशमान सिंहसँग भेटघाट बढेपछि यस पूर्व घनिष्ठ भइसकेका कृष्णप्रसाद भट्टराई समेतको त्रिमूर्तिले नेपालबाट राणा शासनको जरैदेखि उन्मूलन गर्न राजनैतिक पूर्वाधार तय गर्‍यो । विराटनगरबाट शुरु भएको मजदुर हड्तालको नेतृत्व गरिरहेको बीपीलाई गिरफ्तार गरी राणा शासकले २९ दिनको बाटो हिडाएर काठमाडौँ ल्याई थुनामा राख्यो । परिवारका अन्य सदस्यहरु, आमा, भाई, बहिनीहरु समेत पक्राउ परे पछि महात्मा गांधीले अनुरोध गरेपछि राणा प्रधानमन्त्री पद्म शम्सेरले सबैलाई थुना मुक्त गरिदिए । राणा विरोधी साथीहरु, भेट्दै, कार्यकर्ताहरु तयार गर्दै, गोप्य आन्दोलन छेडने तयारी गरिरहेका बीपीलाई राणाहरुले फेरी गिरफ्तार गरे । छ महिनासम्म उनलाई बडो यातना दिई सेण्ट्रल जेलमा राखियो । उनी लगातार २९ दिनसम्म आमरण अनसन बसे । बीपीको आमाले नीडरका साथ भनिन, ‘म अनसन तोडाउँदिन । मेरो छोरा बीपी मरे मरोस्, त्यसको मलाई चिन्ता छैन् । जेलमै मरेको पतिको चार वर्ष पहिले यहीँ अन्त्येष्टी गरे । छोराको पनि यहीँ अन्त्येष्टी गर्न तयार भएर आएको छु ।’ अन्ततः लाचार भएर राणा प्रधानमन्त्रीले मोहन शमशेरले बीपीलाई छाडिदिए ।

वि.सं.२००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय काँग्रेस र वि.सं. २००५ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस दुवैले वि.सं. २००६ सालमा कलकत्ता सम्मेलन गरी नेपाली काँगे्रसलाई जन्मदिए । भारत तथा नेपालमा रहेका सम्पूर्ण राणा विरोधी व्यक्तिहरुलाई बीपीे साथमा लिदै गए । वि.सं. २००७ साल भदौमा भारत विहारको वैरगनियामा नेपाली काँगे्रसको दुईदिने सम्मेलनपछि वि.स. २००७ साल कात्र्तिक २१ गते नेपाली काँगे्रसले सशस्त्र आन्दोलन छेडयो र कात्र्तिक २५ गतेका दिन बीरगञ्ज नेपाली काँगे्रसले कब्जामा लियो । नेपाली काँगे्रसले नेपालको इतिहासमा पहिलो पटक प्रजातन्त्र रेडियो बिराटनगरबाटै प्रसारण गर्‍यो । वि.स. २००७ साल फागुन ७ गते राजा त्रिभुवनद्वारा नेपालमा प्रजातन्त्रको घोषणा भयो । मोहन शम्सेरको प्रधान मन्त्रीत्वको अन्तरिम मन्त्रीमण्डल गठन भयो । बीपी कोइराला गृहमन्त्री भए । खुकुरी दलले उनको हत्या गर्न भनी तरवार र खुकुरी लिएर बीपी माथि आक्रमण गरे । आत्मरक्षाको लागि बीपीले पेस्तोल देखाएपछि आक्रमणकारीहरुको भागाभाग भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु नेपाल आउँदा बीपीले गृहमन्त्रीको हैसियतले स्वागत गरे । बीपीको लोकप्रियतादेखि डराएकाहरुले चिनियाकाजी काण्ड रचाए । नैतिकताको आधारमा बीपीले गृहमन्त्री पदबाट राजीनामा दिए । वि.सं. २००९ साल जेष्ठमा भएको जनकपुर अधिवेशनबाट बीपी नेपाली काँगे्रसको सभापतिमा निर्वाचित भए । नेपाली काँगे्रसको सभापतिको हैसियतले एशियाई समाजवादी सम्मेलनको स्थापनार्थ वर्मा गए । वि.सं. २०१३ सालमा भारतका राष्ट्रपति डा.राजेन्द्रप्रसाद र वि.सं. २०१४ सालमा चीनको प्रधानमन्त्री चाउएनलाई को नेपाल भ्रमण हुँदा नेपाली काँगे्रसको तर्फबाट स्वागत गर्नुका साथै राजनैतिक वार्ता समेत गरेका बीपी वि.सं. २०१५ सालको प्रथम जननिर्वाचनमा क्षेत्र नं. ३२ बाट अत्याधिक बहुमत ल्याई विजयी भई वि.स.२०१६ साल जेष्ठ १३ गते नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भए । आफ्नो प्रधानमन्त्रीत्व कालमा बीपी भारत, वर्मा, चीनको राजनैतिक भ्रमणमा गए । नेपालका प्रमुख शहर र जिल्ला तथा गाउँहरुमा गए । उनको लोकप्रियताले राजा महेन्द्रलाई छायामा पार्दै लग्यो ।

वि.सं. २०१७ साल वैशाखमा सम्पन्न नेपाली काँगे्रसको महाधिवेशनमा पुनः बीपी पार्टी सभापति निर्वाचित भए । वि.सं.२०१७ साल पौष १ गते नेपाल तरुण दलको सम्मेलन थापाथलीमा भइरहँदा जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई सैनिक द्वारा गिरफ्तार गरी सिहंदरवारमा बन्दी बनाइयो । बीपीलाई अनेकन मुद्दा र लाञ्छना लगाई ८ वर्षसम्म लगातार सुन्दरीजल जेलमा राखियो । वि.सं. २०२५ साल कात्र्तिकमा उनलाई रिहा गरियो । उनी भारतमा गई निर्वाचित जीवन बिताउन बाध्य भए । भारतमा बस्दा मुलुक, राजा, राष्ट्रियता र जनतालाई खतरामादेखि राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी वि.सं. २०३३ साल पौष १६ गते नेपाल आए । काठमाडौं त्रिभुवन विमान स्थलमा ओर्लना साथ उनलाई तत्कालिन पञ्चायती शासकहरुले गिरफ्तार गरी सिधैँ सुन्दरीजल जेलमा लगेर थुने । राजा वीरेन्द्र बीपी प्रति उदारवादी रहेता पनि बीपीलाई राजद्रोह सम्बन्धी सात वटा मुद्दा लागेको थियो । राजा वीरेन्द्र र बीपीलाई षड्यन्त्रकारी दरवारियाहरुले कहिल्यै नजिकिन दिएनन् । वि.स. २०३४ साल जेष्ठ २ गते बीपीलाई जेलमुक्त गरियो । क्यान्सर रोगको उपचारका लागि बीपी भारतको बम्बई हुँदै अमेरिकातर्फ लागे । अमेरिकामा बीपीको क्यान्सरको अपरेशन भयो । अमेरिकाबाट फर्किए लगत्तै पुनः वि.सं. २०३४ साल कात्र्तिक २३ गते त्रिभुवन विमानस्थलमा उत्रने बित्तिकै बीपीलाई गिरफ्तार गरी शित्तल निवासमा बन्दी बनाइयो । स्वास्थ्य उपचारको लागि भनेर बीपीलाई छाडियो र फागुन १२ गते बीपी अमेरिका प्रस्थान गरे । वि.सं. २०३५ भाद्र ४ गते बीपी स्वदेश फर्किए । यस पटक भने दरवारियाहरु केही लचक देखिए । वि.सं.२०३५ साल कात्र्तिक १३ गते बीपी र राजा विरेन्द्रको भेट भयो । वि.सं. २०३५ चैत्र २० देखि बीपीलाई फेरि नजरवन्दमा राखियो । वि.सं.२०३६ साल जेष्ठ १० गते राजा विरेन्द्रबाट जनमत सङ्ग्रहको घोषणा गरिएपछि वीपीलाई छाडियो । उनले बहुदलको पक्षमा अधिराज्यका विभिन्न शहरहरुमा गरिएका प्रदर्शन र आमसभाहरुमा सम्बोधन गरे । जनमत सङ्ग्रहमा बहुदलिय व्यवस्थाको हार भयो । सुधारिएको पञ्चायती व्यवस्थाको जित भयो । वि.सं. २०३७ साल कार्तिक २२ गते रानी ऐश्वर्यको शुभ जन्मोत्सवमा पहिलो पल्ट बीपीलाई आमन्त्रणा गरियो । तर गे्रकोट नभएको कारणले गर्दा बीपीलाई कर्मचारीहरुले दरबार पस्न दिएनन् । बीपी उपचारको लागि कार्तिक २३ गते फेरि अमेरिकातर्फ लागे । उपचार पश्चात वि.सं. २०३७ साल माघ १६ गते नेपाल फर्किए । माघ २१ गते अष्ट्रेलियाको सिड्नीमा आयोजित एशियाली प्रशान्त समाजवादी सम्मेलनमा भाग लिन गए । बीपीको स्वास्थ्य दिन प्रतिदिन बिग्रदै गएकोले राजा वीरेन्द्रले बीपीको सम्पति फिर्ता गरिदिए । देशभित्र ‘बीपी स्वास्थ्य कोष’ भारत, बेलायत, अमेरिका, लगायतका मुलुकमा ‘वीपी रक्षा समिति’ गठन भए । वि.सं. २०३७ साल फागुनदेखि वीपीले मेची महाकाली यात्रा आरम्भ गरे । वीपीले आफ्नो जीवन कालमा साहित्य सिर्जनाहरु पनि गरे । वि.सं. २०३८ साल बसन्ती पञ्चमी दिन साहित्यिक पत्रकार संघले साहित्यिकार विश्वेश्वर प्रसाद कोइरालाको अभिनन्दन कार्यक्रमको आयोजना गर्‍यो । वि.सं. २०३९ साल असार २१ गते वीपी वीर अस्पतालको इन्टेन्सीभ केयर युनिटमा भर्ना भए । नेपाल, भारत, र थाइल्याण्डका डाक्टरहरु वीपीको उपचारमा संलग्न रहे । असार २७ गते अझ थप उपचारका लागि भाई गिरिजा प्रसाद कोइराला र कान्छा छोरा शशांक कोईरालाको सहगमनसँगै बीपीलाई थाइल्याण्ड लगियो । बीपीको अन्तिम इच्छा अनुसार नै साउन ६ गते साझ ५ः४० बजे विशेष बिमानबाट नेपाल ल्याइयो । सोही दिन साँझ ७ बजेर १५ मिनेट जाँदा ६८ वर्षको उमेरमा महामानव बीपी कोइरालाको क्यान्सर रोगका कारणले संघर्षमय जीवनको अन्त्य भयो । (स्रोत : बीपी स्मृति ग्रन्थ, २०४८)

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update