Shittalpati
परीक्षण गरेर मात्र घर पठाउ

पाल्पाका ५ सय ६० कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा राखेर उपचार गरिदै आइएको थियो । संक्रमित सबै जना डिस्चार्ज भएपछि जिल्ला संक्रमण मुक्त भयो भन्ने चर्चा परिचर्चा समेत भएका छन् । तर ति संक्रमितलाई कसरी डिस्चार्ज दिइयो भन्ने विषयमा भने कसैले चासो दिएका छैन । सबै संक्रमित घर फर्किएपछि धेरै मिडियाहरुमा पाल्पा कोरोना मुक्त जिल्ला भनेर समाचारका हेडलाइन बनाइयो । तर कसरी डिस्चार्ज गरियो भन्ने विषयमा भने खासै सुक्ष्म अध्ययन भने हुन सकेको छैन । संक्रमित घर फर्किए पनि अहिले नै ढुक्क हुने अवस्था भने छैन । स्वास्थ्य मन्त्रालयले १४ दिनसम्म कोरोनाको लक्षण नदेखिएका तर आइसोलेशनमा बसेका संक्रमितहरूलाई घर पठाउन निर्देशिका नै जारी गरेकाले पाल्पाका कोरोना संक्रमितलाई जाँचै नगरेर घर पठाईएकाले ढुक्क हुने अवस्था भने नरहेको हो । सुरुका दिनहरुमा लगतार दुईपटकसम्म कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएपछि मात्रै कोरोना संक्रमण मुक्त भएको भन्दै डिस्चार्ज गर्ने गरिएको थियो । तर अहिले कोरोना जाँचै नगरेर संक्रमितहरूलाई घर पठाउन थालिएपछि स्थानीयहरूमा कोरोना संक्रमणको त्रास झनै बढेको छ ।

जिल्लामा घरफर्किएका संक्रमित मध्ये धेरै जनाको परीक्षण नगरी पठाइएको हो । यसले समुदायस्तरमा थप जोखिम निम्त्याउन सक्ने विश्लेषण गरिएको छ । उनीहरु घर जाँदा संक्रमित नै छन् कि निको भइसके भन्ने जाँच नै नगर्दा थप समस्या निम्तिने खतरा रहेको हो । सरकारले कसैको आवाज सुनेन बरु आफ्नै निर्णयले कहिले आरडीटीको भरमा त कहिले लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठायो । यसले सरकारको लापरवाहीले कोरोना भाइरसको संक्रमण समुदायमा पुगेको हुन सक्ने आशंका गरिँदैछ । आम जनतामा परीक्षणको दायरा बढाएर जनताको जीवन सुरक्षित राख्न ध्यानाकर्षण गराइरहेका बेला सरकार भने संक्रमण कम हुँदै गएको प्रचार गर्दैछ । पछिल्लो समय सरकारले आफूखुशी पिसिआर परीक्षण गर्न पाइने निर्णय गरेको छ । यसले सरकार अभिभावकीय दायित्वबाट पछि हटेको र भाग्न खोजेको देखिन्छ । जसका कारण आम जनतामा सरकारप्रति अविश्वास र आक्रोश बढ्न थालेको छ । जनताप्रति उत्तरदायी बन्नु पर्ने सरकार नै गैरजिम्मेवार बन्नु दुःखद् हो । जेकजाँचै नगरेर घर फर्काइएका संक्रमितहरूलाई कसरी कोरोना मुक्त भन्ने विषय अहिले बहसको विषय बनेको छ । उनीहरूकै कारण अब गाउँ समाजमा कोरोना संक्रमण डढेलो जस्तै फैलिने खतरा बढेको छ यसतर्फ सबै सचेत हुनुपर्ने बेला आएको छ । यस्ता महामारीमा जनताको जिउको रक्षा गर्नुपर्ने सरकारको नैतिक एवम् कानुनी कर्तव्य पनि हो । नियन्त्रण भयो भनिएका कतिपय देशमा संक्रमण फेरि फैलिएको उदाहरण छन् । तर, हामीकहाँ संक्रमणको सम्भावना भएकाहरुलाई समेत परीक्षण गरिएको छैन । तसर्थ संक्रमित सबैको परीक्षण गरेर मात्र घर पठाउनेतर्फ संघीय, प्रदेश र स्थानीय सरकार लाग्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update