Shittalpati
रैनादेवी छहरा गाउँपालिका : चुनौती र सम्भावना

रैनादेवी छहरा गाउँपालिका पश्चिम पाल्पाको अधिकांश पहाडी भू–भागमा पर्ने नेपालका ७५३ वटा स्थानीय तह मध्यको एउटा गतिशील रुपमा तिव्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लम्किरहेको गाउँपालिका हो । पाल्पा जिल्लाको तानसेनबाट करिव २७ किलोमिटर दक्षिण पश्चिममा अवस्थित यस गाउँपालिका क्षेत्रफलका हिसावले पाल्पाकै ठूलो गाउँपालिका हो । भौगोलिक हिसावले यसको क्षेत्रफल १७५.८८ वर्ग किलोमिटरमा फैलिएको छ । विसं. २०६८ सालको मुलुकको जनगणना अनुसार यहाँको कूल जनसंख्या २६,४६९ रहेता पनि यहाँको जनसंख्याको वृद्धिदर नकरात्मक रुपमा रहेको छ । पूरै गाउँपालिकामा ६,००९ घरधुरी रहेका छन् । जातजातिको हिसावले मगर जाति बहुसंख्यक रुपमा यहाँ बसोवास गर्दछन् । साविकका सिद्धेश्वर, भुवनपोखरी, सोमादी, मुझुङ, छहरा, बल्ढेङ्गढी, सत्यवती, जुठापौवा गरी आठवटा गाउँ विकास समितिहरुलाई एकिकृत गरी यस गाउँपालिकाको भूगोल कायम गरिएको हो । बाह्रौ शताब्दीतिर मगराँत राज्य हुँदाको शक्तिशाली बल्ढेङगढी किल्लाको राजनीतिक तथा साँस्कृतिक वैभव यहाँको निजात्मक परिचय हो । यसको साथसाथै आर्थिक विकास र रुपान्तरणको हिसावले कृषिको बलियो आधारको रुपमा सुन्तला र टमाटर लगायत तरकारी खेतीको व्यवसायिक सफलता तथा महाभारत पहाड छिचोल्दै तराईसम्म पुग्ने हार्थोक–छहरा, सालझण्डी रणनीतिक सडकको स्तरोन्नतीको प्रयास हुनु यस गाउँपालिकाको आर्थिक तथा सामाजिक विकासका सम्भावनाका ढोका खोल्न सकिने बलिया संकेत हुन् । यसर्थ रैनादेवी छहरा गाउँपालिकाको सम्भावना, अवसर र चुनौतीका विषयमा यहाँ चर्चा परिर्चा गर्ने प्रयास गरिएको छ ।
सम्भावना र अवसर
यस गाउँपालिकामा पर्यटनतर्फ सालझण्डी हुँदै बल्डेङ्गढीसम्म पदमार्गको रुपमा सम्भाव्यता सम्बन्धी अध्ययन गरी पदमार्ग निर्माण गरी आयआर्जन मार्फत प्रतिव्याक्ति आम्दानी बढाई नागरिकहरुको जीवनस्तरमा सुधार गर्न सकिन्छ । हरियाली वन, सफा र मध्यम खालको हावापानी यस क्षेत्रको परिचय भएको र तराईसँग जोडिएको हुनाले यो पदमार्ग त्यहाँका मानिसको रोजाई बन्न सक्छ । कृषि क्षेत्रको विकासका लागि यहाँका खास गरी मुझुङ, सत्यवतीको दक्षिण क्षेत्र लगायतका स्थानमा सुन्तला, टमाटर खेती, अदुवा, बेसार खेती, तरकारी खेती जस्ता नगदेवाली लगायतका व्यवसाय गरी आत्मनिर्भरता तर्फ नागरिकहरुलाई पु¥याउन सकिन्छ । यसतर्फ यहाँका युवाहरुको केही भए पनि लगाव देखिएको छ । उनीहरु लाखौ आम्दानी गर्न सफल भएका उदाहरण धैरै छन् । यो गाउँपालिकादेखि बुटवल तथा तानसेन जस्ता ठूला शहर नजिक रहेको हुनाले उत्पादनलाई सजिलै बजारमा पु¥याई विक्री गर्न समस्या छैन । बल्डेङ्गढी, रैनादेवी मन्दिर, तिलक थान पार्क लगायतका ऐतिहासिक र धार्मिक स्थलहरुको आवश्यकीय पूर्वाधार निर्माण र प्रचार–प्रसार गरी धार्मिक पर्यटन मार्फत यस गाउँपालिकाको पहिचान र व्यावसायिक क्रियाकलापमा अभिवृद्धि गराउन सकिन्छ । यसतर्फ गाउँ सरकारको प्रयासले सार्थकता पाउन थालेको छ । बल्डेङ्गढी जस्तो अग्लो पहाडी स्थानमा आवश्यक भौतिक पूर्वाधारको विकास र विस्तार गरी ज्ष्िि क्तबतष्यल को रुपमा यसलाई रुपान्तरण गर्न सकिने आधार छन् । हार्थोक–छहरा, जुठापौवा, सालझन्डी सडक स्तरोन्नती गरी त्यस क्षेत्रमा होटल लगायतका व्यवासाय सञ्चालन मार्फत बेरोजगार यूवाको लागि रोजगारीको सिर्जना गर्न सकिन्छ । यस सडकलाई तानसेन–बुटवल सडकको रुपमा वैकल्पिक रुपमा विकास र विस्तार गर्दा यताका नागरिक हरेक दृष्टिमा लाभान्वित हुन सक्छन् । यसको काम भइरहेको स्थिती छ । जुठापौवा, सत्यवती, बल्डेङ्गढी लगायत मगर बाहुल्य भएका वडाहरुमा होमष्टे स्थापना गरी मगर संस्कृतिको संरक्षण गर्दै साँस्कृतिक पर्यटनको उपयोग गरी त्यस ठाउँको प्रचार–प्रसार तथा आम्दानी बढाई गरिबी न्यूनीकरण गर्न सकिन्छ । सत्यवतीको निमिचौर झरना रहेका वरीपरी पर्यटकीय पूर्वाधारको विकास गरी रुपन्देही लगायतका घना बस्ती भएका शहरहरुबाट जलपर्यटन मार्फत आन्तरिक पर्यटक आकर्षण गर्न सकिन्छ । यस क्षेत्रको वडा नं ६, ७ र ८ मा १०८ किसिमका सुनाखरी फूलहरु पाईने हुनाले यसलाई प्रचार र प्रसारको माध्यमबाट सुनाखरी अध्ययन र अनुसन्धानको केन्द्रको रुपमा विकास गर्न सकिन्छ । यस गाउँपालिकाको दक्षिण भेगमा सामुदायिक वनहरु छन् । ११७ वर्ग किलोमिटर वन क्षेत्रले ढाकेको छ  । यस्ता वनहरु आम्दानीको राम्रो स्रोत बन्न सक्छन् । यसका लागि वनमा रहेका काठजन्य वस्तु निकासी गरी र काष्ठ उद्योगहरु स्थापना गरी नजिकको बजारका रुपमा रहेका सालझण्डी, बुटवल, भैरहवा लगायतका स्थानहरुमा निकासी गरी आम्दानी, रोजगारी सिर्जना गर्न सकिने प्रशस्त सम्भावना रहेका छन् । वडा नं १, २ लगायतका स्थानमा चुनढुंगा पाईने हुनाले सिमेन्ट उद्योग स्थापना गरी यहाँका मानिसलाई काम र मामको व्यवस्था गर्न सकस छैन । भैरव नवदीप क्याम्पसमा पश्चिमका कतिपय जिल्ला तथा छिमेकी जिल्लाबाट समेत प्राविधिक शिक्षा अध्ययन गर्न विद्यार्थीहरु आउने गरेका छन् । यसको गुणस्तरमा स्तरीकरण गरी गाउँपालिकाले थप लगानी गरी यसलाई पश्चिम पाल्पाको शैक्षिक हवको रुपमा विकास र विस्तार गरी यस गाउँपालिकालाई शैक्षिक हवको रुपमा विकास, विस्तार र रुपान्तरण गर्ने अवसर रहेको छ । कटौजेपानीमा खेलमैदान बन्दैछ । यसलाई प्रादेशिक स्तरको खेलमैदानको रुपमा रुपान्तरण गरी फुटबल लगायतका खेलकुद प्रतियोगिता गरी खेल पर्यटन मार्फत व्यापक रोजगारीका अवसर सिर्जना गरी तिव्र गतिको विकास गर्न सकिन्छ । अम्लावास तथा छहरा जस्ता बजारको रुपमा विस्तार भइरहेका स्थानहरुलाई वस्ती विकास योजना मार्फत व्यवस्थित शहरीकरण गरी यहाँको नकरात्मक गतीमा रहेको जनसंख्या वृद्धिदरलाई बढाउन सकिन्छ । यसले यहाँबाट तानसेन, बुटवल काठमाडौंमा भईरहेको बसाइसराईलाई यतै मोड्न सकिन्छ । उल्लेखित सम्भावनायुक्त यस गाउँपालिकाका करिव २६००० नागरिकहरुको जीवनस्तर सोंचेजस्तो खोजेजस्तो गराउन कुनै जटिलता देखिन्न । सजिलो नै भन्नुपर्छ ।
चुनौती
यस गाउँपालिकाको खास गरिकन विकास व्यवस्थापनको प्राथमिकता ठिकसँग ठम्याउन सक्नु एउटा चुनौतिका रुपमा देखापरेको छ । गाउँपालिकाको भौतिक पूर्वाधारतर्फको विकासको विद्युतका संरचना निर्माणमा पहिलो प्राथमिकता दिनुपर्नेमा सडक निर्माणलाई दिएको स्थिती छ । सामाजिक विकासतर्फ खानेपानीलाई अझै पनि प्राथमिकतामा राख्नुपर्नेमा सोही बमोजिमको भएको पाइएको छैन । करिव ५८ प्रतिशत नागरिकहरु मात्रै शुद्ध खानेपानी सेवावाट लाभान्वित भएको स्थिति छ । स्वास्थ्य र शिक्षातर्फ पनि लगानीको हिसावले प्राथमिकतामा पर्नु पर्नेमा व्यवहारमा त्यस्तो देखिन्न । विसं २०६८ सालको जनगणना अनुसार यहाँ करिव २२ प्रतिशत जनसंख्या लेखपढ गर्न सक्दैनन् । सरकारी विद्यालयमा पूर्वाधार भएता पनि विद्यार्थी संख्या घट्दो छ । विद्यालय शिक्षाको गुणस्तर निरन्तर सुधार गर्नुपर्ने चुनौती नेपालको जस्तै यो गाउँपालिको पनि रहेको देखिन्छ । स्वास्थ्य सेवाको गुणस्तर पनि सन्तोषजनक रहेन । आधारभुत स्वास्थ्य सेवाको गुणस्तरीय पहुँच पु¥याई स्वास्थ्य सेवा पाउने मौलिक हकको सम्मान गर्न पाउने वातावरण सिर्जना गर्नु चुनौतीको रुपमा रहेको छ । आधारभूत स्वास्थ्य सेवाको लागि कम्तिमा पनि छहरा बजारमा एउटा प्राथमिक स्वास्थ्य चौकीको व्यवस्था गरी, सञ्चालनमा ल्याई स्वास्थ्य सेवाको सर्वसुलभ बनाउनु अति नै जरुरी भई सकेको छ । यस कामको लागि कार्यान्वयनमा लैजान ढिला भइसकेको स्थिती छ । स्रोत परिचालनको दर बढाउनु यस गाउँपालिकाको अर्को चुनौती रहेको देखिन्छ । यहाँ रहेका भौतिक वस्तुहरु जस्तै ढु·ा काठजन्य वस्तुहरु विक्री ठूलो मात्रामा गरी नेपाल सरकार, गाउँ सरकारको कोषमा रकम जुटाई थप विकासका क्रियाकलापमा रकम परिचालन गर्न सकिन्छ । आन्तरिक श्रोत नजुटाएसम्म संघ र प्रदेश सरकारको अनुदानले मात्रै यहाँका नागरिकहरुको विकास प्रतिको भोक मेटाउन सकिन्न । बसाईसराई रोक्ने सम्बन्धी रणनीति गराउनु पनि अर्को चुनौतिको रुपमा रहेको छ । चालू भौतिक पूर्वाधार खास गरिकन सडक, सिचाई कुलो लगायत, वैकल्पिक उर्जाका पूर्वाधारहरुको गुणस्तर सुधार र मर्मत सम्भारमा थप लागानी जुटाउनु चुनौतिका रुपमा रहेको छ । सडक खन्ने तर ती सडकहरु न त मागमा आधारित हुने न त थप गुणस्तर सुधार हुने आदि कारणले सडक पूर्वाधार हुनु र नहुनुको कुनै अर्थ नहुने स्थितीको सिर्जना हुन सक्ने देखिन्छ । टुक्रे र छर्ने किसिमको स्रोत परिचालन रोक्नु अर्को चुनौतिको रुपमा रहेको छ । नतिजामूखी, कार्यान्वयन योग्य र मागमा आधारित साना र मध्यम खालका आयोजना छनौट गरी कार्यान्वयन गर्नु पर्नेमा अत्यन्त साना, न्यून स्रोत परिचालन हुने र प्रयोगमा समेत नआउने सडक विस्तारमा गाउँपालिकाले गर्दै गरेको लगानी बालुवामा पानीको रुपमा हुन सक्ने जोखिमलाई नीति निर्माताले बेलैमा ध्यान दिई यस्तो कामलाई तुरुन्तै रोक्न पहलकदमी लिनुपर्ने देखिन्छ । दीर्घकालीन सोंच यस गाउँपालिकाको नभएको होइन तर पनि त्यसलाई कार्यान्वयनमा लैजान दीर्घकालिन योजना, मध्यकालिन र वार्षिक योजनामा ढालेर योजना तर्जुमा गर्ने त्यसको स्वामित्व गाउँपालिकाले लिने र सोही बमोजिमको आर्थिक, सामाजिक रुपान्तरलाई व्यवस्थित रुपमा अगाडि बढाउन पर्ने चुनौती छ । योजनागत रुपमा अगाडि बढ्दा सवै क्षेत्रको सन्तुलित विकास हुने हुनाले यसमा जति ढिला भयो अब गर्नुहुन्न । गाउँपालिकाले सोचेजति निजी क्षेत्र तथा सहकारी क्षेत्रको शक्ति विकास प्रयासमा एकीकृत रुपमा परिचालन गर्न सक्नुपर्छ । त्यतातिर कम ध्यान गएको देखिन्छ । निजी क्षेत्रको आर्थिक शक्ति र सरकारी क्षेत्रको सामुदायिक शक्ति र गाउँसरकारको नियमन शक्ति संयोजन कुशलतापूर्वक गरी अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।(लेखक रैनादेवी छहरा गाउँपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत समेत हुन्) ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update