Shittalpati
जात्राको रौनकता घट्दो

इतिहास बोकेका पाल्पाका जात्राहरुको रौनक विस्तारै हराउँदै गएका छन् । कुनै समय जात्रा पर्व र उत्सवले स्थानीय संस्कृतिलाई झल्काउने गरेतापनि हाल यि जात्राहरु हराउँदै जान थालेको भान भएको छ । जात्रा पर्व आफैमा संस्कृतिका धरोहर हुन् । तर पछिल्लो समय यी संस्कृतिका धरोहरहरु विस्तारै हराउन थालेका छन् । पाल्पामा गाँठे मंगलदेखि सुरु हुने जात्रा यस वर्ष भने कोरोना महामारीका कारण हुन सकेका छैनन् । कोरोना संक्रमण रोकथामका लागि स्थानीय प्रशासनले जात्रा, पर्व नमनाउन आग्रह गरेसँगै कुनै पनि जात्रा हुन सकिरहेका छैन । महामारीका बेला भिडभाड गर्न नहुने भएकाले पनि स्थानीय प्रशासनले चालेको कदम अत्यन्त प्रशंसनिय रहेको छ । कोभिड-१९ का कारण विगतमा जिल्लाका विभिन्न ठाउँहरुबाट निकालिने गाईजात्रा यस वर्ष भने हुन सकेन ।

पाल्पामा विगतदेखि नै गाई जात्रा, रोपाई जात्रा, बाघ जात्रा, ऐतिहासिक भगवती जात्रा जस्ता महत्वपूर्ण जात्राहरु हुँदै आएका छन् । तर यस वर्ष भने यि कुनै पनि जात्राहरु नहुने बताइएको छ । जसले गर्दा जिल्लामा जात्राको रौनक देखिदैन । हुन त विगतमा पनि छिट्फुट् जात्रा हुने गरे पनि रौनकता भने हुन सकेको थिएन । आधुनिकताका कारण पाल्पामा मनाइने जात्रा, चाडपर्वको रौनक घटेको हो भन्दा फरक नपर्ला । जात्रा खर्चिलो भएकाले पनि आर्थिक अभावका कारण पछिल्ला वर्षहरुमा गाई जात्रा, रोपाइँ जात्रा निकाल्ने प्रचलन कम हुँदै गएको छ । जिल्लाको गहनाका रुपमा रहेका यि संस्कृतिहरुको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको पनि यसतर्फ खासै चासो दिएको देखिदैन । यो अत्यन्त दुःखको कुरा हो । जात्राहरु धार्मिक, साँस्कृतिक र मनोरञ्जनसँग जोडिएकाले पनि संस्कृति जोगाई राख्न नयाँ पुस्तालाई यसतर्फ आर्कषित गर्न सकिएको छैन । जसले गर्दा पनि यहाँका जाजा, पर्वहरु विस्तारै लोपउन्मूखतर्फ लागेका छन् । जात्राको आफ्नै छुट्टै पहिचान भएकाले पनि यसको संरक्षणमा सबै जुट्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update