Shittalpati
गाईजात्रा, निर्गुण, रामायण र तानसेन

मदन देउराली


अहिले त एकादेशको कथा जस्तै भैसक्यो तानसनेको सांंस्कृतिक कथा व्यथा । काठमाडौं उपत्यकाबाट विभिन्न कारणले तानसेन आई बसेका हिन्दू बौद्ध नेवारहरु यहीं स्थापित भैसकेपछि तिनीहरुले उपत्यकामा मनाउने सबै जसो जात्रा चाडपर्वहरु यहाँ पनि मनाउन थाले । जस्ले गर्दा तानसेन काठमाडौंको भाई भन्ने भान पनि सबैले अनुभुति गरे । हुन पनि नेवारी बस्ती भैसकेपछि उनीहरुले आफनो अनुकुल हुने गरी विभिन्न देवी देवताका मन्दिरहरु पनि निर्माण गरे । कुनै मन्दिरहरु पाल्पाका लागि तैनाथवाला भइ आएकाहरुले निर्माण गरे । बर्षभरी जात्रा ,चाडपर्वले तानसेन सांस्कृतिकमय भयो । उपत्यकामा मानिसहरु खेतीपातीमा रमाउँथे भने यहाँ आई बसेकाहरु व्यापार व्यवसायमा रमाउन थाले । तानसेन बजार पश्चिम जिल्लाको लागि व्यापारिक केन्द्र नै भयो । दिनभरी व्यापार व्यवसायमा व्यस्त भए पनि साँझपख वा पर्व–पर्वमा पर्ने सबैजसो चाडपर्व तथा धार्मिक कार्यहरुलाई निरन्तरता दिन थाले ।

साउन भदौमा पर्ने गुनु पून्हि खास पर्वको रुपमा लिइन थालियो । गुनु नेवारी भाषा जस्को अर्थ हो नौ दिन पून्ही भनेको पूर्णिमा अर्थात नौ दिनको पूर्णिमा । नौ दिनसम्म जात्रा चाडपर्व मनाउन थालियो । यसरी नौ दिनसम्म लगातार जात्रा चाडपर्व मनाउने चलन देशमा अरु कतै छैन केवल तानसेनमा मात्र छ । यस गुनु पुन्हीको पहिलो दिन रक्षा बन्धन जनै पूर्णिमादेखि चाडपर्व शुरु हुन्छ । त्यसपछि विभिन्न देवी देवताका जात्राहरु हुन्छन् । आफनो अनुकुल देवी देवताका मन्दिरहरु पनि भएकाले त्यसबेलाका मानिसहरु धर्ममा ठूलो आस्था राख्थे । यही आस्था अनुरुप अरु कतै नगरिने कतिपय जात्राहरु यहाँ मौलिक पनि बनाए । जस्तो चुईकी (झयासी न्यासी)अर्थात् सन्देश सम्पेषण गर्ने । यो केवल तानसेनमा मात्र गर्ने चलन छ । हिन्दू धार्मिक ग्रन्थहरुमा मानिसहरुको मृत्यु भैसकेपछि उनको आत्मा यमराजको दरबारमा पस्नको लागि यमराजको ढोका बाहिर पर्खेर बसेको हुन्छ र गाईजात्राको दिन मात्र सो यमराजको ढोका खुल्दछ र जुन परिवारले आफना मृतक सदस्यको लागि गाईजात्राको दिन विभिन्न क्रिाकलाप गर्दछ उनीहरु सजिलै यमराजको दरबारमा प्रवेश पाउँछ भन्ने जन विश्वास छ । त्यसैले पनि जनै पूर्णिमाको दिनदेखि नै विभिन्न क्रियाकलाप गर्दछन् । जनैपूर्णिमा रक्षा बन्धनको दिन दिउँसो चुइकी निकालिन्छ जस्मा एउटा हास्य समूहले व्यङ्गात्मक रुपमा मृतक परिवारलाई लक्षित गरी गाईजात्राको दिन मृतक सदस्यको नाममा जिउँदो गाई वा नक्कली गाई, ताहामचा, जोगी बाशा आदि बनाई निर्गुण, रामायण, भजन किर्तनका साथ यमराजको दरबारमा हाजिर हुनु भन्ने यमराजको सन्देश सुनाउँछन् । त्यसैले कसैले यसदिनदेखि नै निर्गुण, रामायण गर्ने, ताहामचा बनाई नगर परिक्रमा गर्दछन् भने कसैले गाईजात्राको दिन मात्र जोगी बाशा, निर्गुण, रामायण निकाल्दछन् । यहाँ तानसेनमा निकालिने यस्ता ताहामचा, तथा बाशाहरु काठमाडौं उपत्यका भन्दा फरक हुन्छन् ।

इतिहास अनुसार गाईजात्रामा व्यङ्गगात्मक रुपमा ल्याउने चलन राजा प्रतापमल्लको पालादेखि प्रारम्भ भएको भनिन्छ । आफनो छोराको अचानक मृत्यु भएपछि शोक विह्वल भएका आफनी रानीलाई देखाउन संसारमा एकदिन सबैको मृत्यु हुन्छ जनताका सन्तानहरु पनि मृत्यु भएका छन् त्यसैले चित्त बुझाउनु पर्छ भनेर देखाउन पनि यो चलन प्रारम्भ गरिएको भनिन्छ । रानीको मन बहलाउन विभिन्न हास्यात्मक कार्यक्रम सहित गाईजात्राको दिन हनुमान ढोका दरवारमा आउनु भन्ने उर्दी जारी गरे पछि सोही अनुसार मृतक परिवारहरुले सो गाईजात्राको दिन विभिन्न क्रियाकलाप सहित हनुमानढोका दरवारमा जाने गरेको भनिन्छ । त्यस्तै गरेर तानसेनमा पनि यो दिन तानसेन बजारको मुटु्मा रहेको दरबार भित्र लैजानै पर्छ । किनकी यस दिन यो ढोका यमराजको ढोका हुन्छ भन्ने विश्वास छ । त्यसकारण जति पनि जात्राहरु हुन्छन् ति सबै दरवार भित्र यद्यापि लैजाने गरिन्छ । हुनत अर्को कारण त्यसबेला पाल्पाका लागि आउने तैनाथवालाहरु सबै दरवारमा बस्दथे र उनीहरुको परिवारको मनोरञ्जनको लागि पनि दरवार भित्र लैजाने चलन गरेको हुनु पर्छ भन्ने एकथरिको भनाई छ । निर्गुणको लागि रचना गरिएका केही भजनहरु ..
आत्मा शान्ति चीर रहोस, कामना हाम्रो संधैभरी , आशीष तिम्रो पाइरहुँ, कृपा दृष्टि जीवन भरी, अन्तिम विदाईको यो घडीमा श्रद्धा भक्ति अर्पिरहेछु । रचना : कवीन्द्रमान सिंह
जन्म लिई मर्नु पर्ने मानिसको जीवन यो , आई फेरि जानु पर्ने दुई दिनको जिन्दगी यो
एक मुठठी सास छँदा म र तिमी तिमीलाई मलाई , जब सास उडि जान्छ कोही छैेन कसैलाई
रचना : बुद्धरत्न शाक्य
दयाको सागर तिमी जीवन पथ देखाउ, श्रद्धा र भक्ति तिमीलाई तिमी मै यो मन रमाउ,
गोविन्द शान्ति पाउन तिम्रो शरणमा लेउ । रचना : द्धारिका प्रसाद शर्मा
यस्तै रहेछ जीवन भन्नु , पानीको फोका सरी, झुठो यो संसार एक सपना सरी, छाडि गयौ सबलाई सम्झना मात्र यहाँ
रचना : केशवलाल बज्राचार्य
लिउँ प्रभु नाम लिउँ प्रभु ज्ञान यो जीवनमा रहेन भरोसा रहेन सहारा कस्तो यो जीवन
रचना : बुद्धरत्न शाक्य टक्सार
पलभरको जिन्दगानी सिवाय यहाँ के छ र, के छ र अजर यहाँ, को छ र अमर यहाँ , खाली आयौ आली जानु सिवाय यहाँ के छ र । रचना : देव प्रसाद बज्राचार्य
गाईजात्रामा निकालिने निर्गुण रामायणमा गाइने निर्गुण भजनहरुमा मृत्यु अवस्ंयभावी छ एकदिन सबैले मर्नु पर्दछ त्यसैले बाँचुञ्जेल कसैसंग रिसराग, नराखी भगवानको भक्तिभावमा लाग्नु नै सार्थक जीवन हो भन्ने खालका भावहरु व्यक्त गरिएका हुन्छन् । यसरी गाईजात्रामा गाइने भजनका रचनाकारहरुमा पहिला अम्विका प्रसाद लाकौल, माधव प्रसाद देवकोटा, त्यसपछि कविन्द्रमान सिंह हनु हुन्थ्यो भने पछि धेरैजसो भजन बुद्धरत्न शाक्यले लेख्नु भयो । उहाँहरु पछि द्धारिका प्रसाद शर्मा, केशवलाल बज्राचार्य, बुद्धरत्न शाक्य टक्सार तथा देव प्रसाद बज्राचार्यले लेख्दै आउनु भएका छन् । अत्यन्त सरल भाषामा लेखिएका यस्ता भजनहरु अत्यन्त मर्मस्पर्शी हुन्छन् भने कुनैमा सो मृतक व्यक्तिले गरेका कार्यहरु पनि भजनमा समावेश गर्ने गर्दछन् । सो गीत भजनमा अक्सर हिन्दी फिल्मका गीतहरुको लय राखी बनाइन्छ । यस्ता भजन पहिला–पहिला गीत गाउन सक्ने करिव पच्चिस तिसजना युवाहरुलाई जम्मा गरी करिब पन्ध्रदिन वा एक महिनासम्म तालिम दिई मात्र निकालिन्थ्यो । विहान गाइने भजनलाई निर्गुण भनिन्छ भने साँझ निकालिने भजनलाई रामायण भनिन्छ जुन रातभरी गाउँदै नगर परिक्रमा गरिन्छ । गाईजात्राको दिन निकालिने यस्ता निर्गुण रामायण भजनसँग जोगी बाशा ताहामचा पनि संगसंगै बजार परिक्रमा गराइन्छ । साना–साना बच्चाहरुलाई विभिन्न देवी देवता जस्तो गरी सिंगारी बाशा बनाइन्छ भने कुनै बच्चालाई दारी जुंगा राखि जोगी बनाइन्छ । यसरी बाशा बनाउने काममा त्यसबेला विष्णु शंकर सैजू निपूर्ण थिए दुरुस्त देवी देवता जस्तो गरी सिंगारी दिन्थे । डोकोलाई घोप्टो पारी लामो बाँसको क्रस जस्तो बनाई कपडाले बेरी त्यसमा मृतक सदस्यको कपडाहरु दायाँ–बायाँ हातमा झुण्डाई टाउकोमा वाँसको कोर्को राखि गाईको अनुहारको चित्र बनाई राखिन्छ । यसलाई ताहामचा भनिन्छ एउटा मान्छेले यो सजिलोसँग बोक्न सक्छ । निर्गुण रामायणमा भजन गाउनको लागि युवाहरु सेतो बस्त्रमा सजिएर दुई लाइन बनाएर गाउँदै हिड्नु गर्दछन् । सो भजनमा मुख्य गायकहरुलाई साथ दिन हार्विन तबला पनि बजाइन्छ । त्यसबेलाका मुख्य गायकहरुमा रामप्रसाद उदय र नरेन्द्र थैवको जोडी प्रख्यात थियो भने बिचबिचमा रणबहादुर थापा (थापादाई)ले करतालमा साथ दिंदा रामायणको रौनक नै अर्को हुन्थ्यो । सुनसान रातमा मुख्य गायकहरुको आवाजले तानसेनको टोलहरु गुञ्जयमान हुन्थ्यो । यसमा लाग्ने खर्च सबै मृतक परिवारहरुले गर्दथे ।
भनिन्छ तानसेनमा गाईजात्राको अवसरमा निर्गुण, रामायण निकाल्ने चलन तत्कालिन पाल्पाका लागि तैनाथवाला जनरल प्रताप शमसेरको पालादेखि भएको थियो रे । उनको आफ्नो कोही आफन्तीको निधन भएकोमा पहिलो पल्ट तानसेनमा रामायण निकालिएको थियो रे र यसको लागि तत्कालिन प्रधानमन्त्री चन्द्र शमसेरले भारतबाट वासुदेव वस्ताजलाई झिकाएर तानसेन पठाएका थिए । गाइजात्राको अवसरमा तिनै वासुदेव वस्ताजले यहाँका स्थानीयलाई तालिम दिएर रामायण निकालिएको थियो रे । त्यसपछि धन महारानीका पतिको रामायण गर्ने बेला स्थानीय कलाकार इन्द्रलाल श्रेष्ठ (बदले दार्ई) उनै वासुदेव वस्ताजको सहयोगी भएर काम गर्नु भएको थियो र के कसरी रामायण निकाल्ने बारे सबै जानकारी लिनु भएको भनिन्छ । पछि भगवतीटोल निवासी वृषबहादुर श्रेष्ठको निधनमा निकालिएको रामायणमा इन्द्रलाल श्रेष्ठ आफैले गीत लेखि तथा संगीतवद्ध गरी रामायण निकालिएको थियो रे । करिव पच्चिस तीसजना गाएकहरु सेतो कुर्ता सुरवाल पोशाक, टाउकोमा फेटा बाँधी हातमा साजहरु लिएर हार्विन तबलाका साथ तानसेनको बजारमा परिक्रमा गरेका थिए । उहाँ हार्विनमा हुनु हुन्थ्यो भने तबलामा कहिले जीत गोविन्द श्रेष्ठ, कहिले मानिकलाल त कहिले मुक्ति प्रसाद श्रेष्ठले साथ दिनु भएको थियो । तबला वादकहरु वस्ताज नभएता पनि ज्ञाता थिए । मुक्तिप्रसाद श्रेष्ठले बनारस पढ्न बस्नु हुँदा तबलाका वस्ताज कण्ठे महाराजसँग तबला सिक्नु भएको थियो । इन्द्रलाल श्रेष्ठले सानै देखि संगीतका शौखिन भएता पनि उहाँको शास्त्रीय संगीत यात्रा भने भारतका सुप्रसिद्ध वस्ताज खेमचन्द्र प्रकाश राणाहरुको निम्तोमा नेपाल आउँदा केही वर्षको लागि तानसेनमा पनि बसेका थिए त्यसैबेला उहाँले संगीत सिक्नु भएको थियो ।

आज तानसेन विस्तारै संस्कृतिविहिन हुँदै गईरहेको छ । यस्को मुख्य कारण यहाँका कतिपय नेवारहरु आफनो थात्थलो छोडेर बाहिर पलाएन भए बाँकी भएकाले परम्परा धान्न सकेका छैनन् । अन्य जातिकालाई यसको कुनै मतलब नभएकाले पनि हो र अर्को समयअनुसार मँहगाई बढेसँगै सबै जात्रा चाडपर्वहरु सबै साँगुरिएर जाँदैछन्, कतिपय लोप भैसकेका छन् कति लोपोन्मुख छन् । निर्गुण रामायण निकाल्ने चलन केवल हिन्दू नेवारहरुले मात्र गर्दछन् बौद्ध धर्ममा यसरी गाईजात्रा मनाउनु पर्दैन । तर हिजोआज अन्य जातिकाले पनि निर्गुण निकाल्ने प्रयास गरेता पनि त्यसमा आधुनिकताले प्रवेश पाएको छ । यस्ता भजनहरुमा साउण्ड सिष्टम र पेन ड्राइभको प्रयोग गरी हे राम... जस्ता भजन गाउँदै डुल्छन् तर यो मौलिकता भने होइन । आजभोलि गाईजात्रामा सक्नेले निर्गुणसम्म निकाल्छन् रामायण गर्ने चलन त लोप नै भई सक्यो निर्गुण पनि खर्चिलो भएकाले सम्पन्न परिवार कसै कसैले मात्र गर्दछन् नसक्नेले या त जिउँदो गाईलाई घुमाउँछन्,कोही कोही जोगी भएर निस्कन्छन् कोही कोहीले भने बाशा जोगीसम्म निकाल्छन् । परम्परा लोप नहोस् तानसेन एकपटक पुन संस्कृतिमय होस् । गाईजात्राको शुभकामना । अस्तु
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान, पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update