Shittalpati
असामाजिक प्रवृति र सामाजिक सञ्जाल

सुदिप चन्द्र पौडेल

केही दिन अघि सर्भरमा समस्या आएर कतै आशिंक त कतै पूर्ण रुपमा बन्द हुन गएका फेसबुक र इन्स्टाग्राम चलाउन नपाउँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु प्याक प्याक्ति भएका धेरै कुण्ठाहरु ट्वीटरमा पोखिए । सामाजिक सञ्जाल हाम्रो पुस्ताको बाँच्ने तरिका भइसकेको छ । सञ्जाल यतिबेला पानीको मूल्य सरह भएको छ र प्रयोगकर्ताहरु माछा जस्तै भएका छन् । जो श्वास पनि फेर्न सकिने अवस्था रहेन । त्यति मात्र होईन, सामाजिक सञ्जालको अभावमा आफ्ना खुसी, दुःख, हासो, रोदन, कुण्ठा, तुष, रीस, प्रगतिलाई छताछुल्ल पोख्ने गतिलो स्थल भएको छ सामाजिक सञ्जाल । कुनै पनि विषयवस्तु वा घटनाको आशिंक सत्य पनि नबुझी आफ्ना धारणा पोखिहाल्ने र प्राय: नकारात्मक टिप्पणी र रिसको हठात् प्रदर्शनले यी सामाजिक सञ्जाल प्रयोगकर्ता वास्तवमै बेचैन अवस्थाबाट गुज्रिरहेको महशुस हुन्छ ।

मान्छेले आफ्ना दुःख र संर्घषका कुरा पस्कन भन्दा पनि सफलता, खुशी र अधिकांशतः झुटा परिवेश खडा गरिदिने प्रवृत्तिले गर्दा एक खाना खाँदा पनि तिनै सामाजिक सञ्जालमा झुण्डिनेहरु भिन्नभिन्नै हिनता भाव र कुण्ठाबाट ग्रसित हुदैँ जाने क्रम बढेको छ । जताततैबाट मान्छेले राम्रा लुगा लगाएका, नयाँ–नयाँ ठाउँ घुमेका, घर र गाडीसित फोटो खिचेका, नाम चलेका र महँगा रेष्टुरेण्टमा गएर खाएका सामग्री दिलैदेखि मन पराएर १ लाइक ठोक्ने व्यक्ति कमै हुन्छन्, भित्रभित्रै भुटभुटिने र आफ्नो यथास्थितिले पिरोलिएकाहरु भन्दा, फेरि वास्तविकता पनि त्यहीँ छ, कि हाम्रो जीवनस्तरमा कुनै ठूलो स्तरोन्नति भएको अवस्था छैन ।

अधिकांश मान्छे आफ्नो वर्तमान अवस्थाबाट माथि फड्को मार्न नसकेको पीडा भित्रभित्रै पालेर बस्नुपरेको छ । धनी झन् धनी हुँदै छन्, सामाजिक, आर्थिक असमानता बढ्दो छ । खोक्रो आडम्बर प्रर्दशनका कारण निम्न, मध्यम, उच्च वर्गीय समुदाय साँस्कृतिक रुपमा पनि पाखा लाग्नुपर्ने स्थितिको सिर्जना भएको छ । अनि किन मान्छे नचिढियोस् ? किन फ्यान नरिसाओस् ? भौतिक सुख र सुविधाको उत्कृष्ट इच्छाले मान्छेलाई झन् झन् निराश बनाउँदै लगेको प्रतित हुन्छ । मान्छे मर्ने बेलासम्म पनि तृप्त हुँदैन । हाम्रो समाज पनि उस्तै छ फेरि । जो सँग पैसा छ, जो सत्तामा छ उसैको गुनगान गाउन र कान फुक्न छाड्दैनन् । पैसा धेरै कमाउनेले कसरी कमायो ? त्यो समाजको मतलबको विषय हुँदैन । मात्र मतलब हुन्छ त पैसा, रकम र भौतिक सुख सुविधाको । अब त मान्छे सामाजिक हुने भन्ने कुराको परिभाषा पनि बेग्लै भएको छ । सबैसँग मिल्ने, भिज्ने, बोल्ने र कुरा सुन्ने मान्छे सामाजिक हुने जमाना रहेन अहिले । जो फेसबुक चलाउँदैन, जो ट्वीट गर्दैन र इन्स्टाग्राममा आफ्नो अस्तित्व देखाउँदैन त्यो मान्छे समाजबाट परै हराउने डर भइसक्यो । त्यो समाजलाई बुझ्न नसक्ने भयो त्यो मान्छे विगत १०/१५ वर्षको अन्तरालमा सूचना प्रविधिका क्षेत्रमा भएको परिवर्तनले मानवीय प्रवृत्ति र सामाजिक चिन्तनमा नै ठूलो अन्तर ल्याइदिएका छन् ।

सामाजिक सञ्जाललाई कसरी राम्रा र फाइदाजनक सामग्रीका लागि प्रयोग गर्ने भन्ने बारे धेरै प्रयोगकर्ता मात्र सचेत भएको जस्तो लाग्छ । स्थानीय तह तथा प्रादेशिक र संघीय निर्वाचनको बेलादेखि आएका बग्रेल्ती अनलाईन मिडियामा आफूले जस्तो खालको, जुन नेताको र जुन दृष्टिकोणको समाचार सामग्री चाहेको हो त्यो पाउने स्थितिले सामाजिक सञ्जालमा शेयर गरिने सामग्रीमा व्यापक विकृति आएको महशुस हुन्छ । मान्छे सत्य भन्दा पनि आफ्नो सोंच र समर्थनलाई पृष्टि गर्ने सामग्री खोतल्न थालेका छन्  ।जुन वास्तवमा नराम्रो, असत्य वा अर्धसत्य नै किन नहोस् ।

सत्य कुरा त मान्छेलाई अप्रिय लाग्न थालेको छ । कुनै बेला चरित्र हत्या गरिँदै हिडेको व्यक्ति किन नहोस्, मान्छे त्यहिँ व्यक्ति सत्तामा पुगेको खण्डमा चाप्लुसी पस्कन उसँगै खिचेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनाएर आफ्नो कद बढाउने भ्रममा आँखा चिम्लेर लाग्छन् । आफ्ना स्वार्थपूर्ति गर्न पनि सामाजिक सञ्जालमा जयजयकार गर्ने कुत्सित कर्म फलदायी भएका पनि देखिदै आएका छन् । यस्ता खालका प्रवृत्तिले हामी स्वयं कस्तो साेंच राख्दैछौँ र कस्तो व्यवहार गर्दैछौ भन्ने कुराको हेक्का राख्न अति जरुरी देखिन्छ । तर यसका बाबजूद हामीले समृद्ध समाजको सपना देख्न छाडेका छैनौ । धन्य छौँ हामी । खबरदारी गर्ने हिसाबमा कुनै पनि जनतासँग सरोकार राख्ने घटना क्रममा सामग्री पोस्ट गर्ने कुरा सकारात्मक छ । किनकी सरकारका सबै तहका प्रायः निकाय सामाजिक सञ्जालमा खाता खोल्ने होड्मै छन् र हाम्रा पुस्ताका कुरा उनीहरुसम्म पुग्ने वातावरण बनेको छ । तथापि आफ्नो विद्धता प्रर्दशन गर्ने नाममा कुनै पनि घटनाको सतही विश्लेषण गर्ने, अल्पसूचनाका आधारमा उग्र र अतिरञ्जित फैलाउने प्रचलन अहिले ज्यादै डरलाग्दो विषय बनेको छ । लाग्छ मान्छे कुनै पनि परिवर्तनलाई आत्मसात गर्न तयार छैन ।

जे कुरामा पनि उ खोट खोज्छ । भेटिहाल्यो भने जताततै फुकेर आफूलाई पछ््याउने जमात खडा गर्न चाहन्छ । जसले गाली गर्छ, अलि अलि अश्लिल गाली दिन्छ तर समाधान बारे केही सोंच पस्कन सक्दैन, तिनकै कुरा सामाजिक सञ्जालमा फैलिने नराम्रो प्रवृत्ति हावी हुँदै गएको देखिन्छ । सामाजिक सञ्जालले धेरै सल्लाहकार उत्पादन गरेको छ । जो अरुलाई सिकाउन निपूर्ण छन्, गाली गर्न माहिर छन्, सजिलो समाधान पनि पस्कन्छन् । तर बहस र मन्थन गर्ने कुरामा असहिष्णु छन् । यद्यपि यसलाई वर्तमान पुस्तामा आएको एक किसिमको जागरणका रुपमा लिन सकिन्छ । तर कामना गरौ यसले कुनै अराजक र असहिष्णु प्रवुत्ति ननिम्त्याओस् ।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update