Shittalpati
स्थानीय तह र सार्वजनिक सेवा

नागरिक हक र अधिकारका रूपमा जनताले प्राप्त गर्ने न्यूनतम मापदण्डको सेवा तथा सुविधाहरू सार्वजनिक सेवा हुन् । कुशल सार्वजनिक सेवा प्रवाहले सरकार र नागरिक बीच सम्बन्ध सकरात्मक र विश्वासिलो बनाउँछ । सार्वजनिक सेवा समान र सम्मानित रूपमा नागरिकहरूले प्राप्त गर्नु नै सफल शासकीय अभ्यास हो ।

नागरिकले आफ्नो राजनीतिक अधिकार मार्फत मतदान गरी सरकार बनाएका छन् । सरकारलाई आफ्नो दायित्व अनुरूप कर, शुल्क, दस्तुर बुझाउँछन् । उनीहरूले सरकारबाट सहज सेवा प्रवाहको आशा राखेका हुन्छन् । तर स्थानीय सरकार निर्माण भएको पनि दुई वर्ष भन्दा बढी नै भयो । अहिले सम्म जनताले चाहे अनुरुपको सेवा प्रवाह हुन सकिरहेको छैन । कर्मचारी र जनप्रतिनिधि बीच नै खट्पट हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएका छन् । अझै पनि कर्मचारीहरुमा कर्मचारी पारा हराएको छैन । विभिन्न बहानामा सेवाग्राहीहरुलाई झुलाउने काममा कर्मचारी अझै पनि सक्रिय छन् ।

सरकारले नागरिकमा आफ्नो सक्षमता अभिवृद्धि गराउन, राष्ट्रिय एकता मजबुत बनाउन, नागरिक सहभागिता वृद्धि गराउँदै शासकीय वैधता पुष्टि गर्न सार्वजनिक सेवा प्रवाहलाई महत्वपूर्ण जिम्मेवारीका रूपमा स्वीकार गरे पनि कर्मचारी र जनप्रतिनिधि बिचमै तालमेल मिल्न सकिरेहको छैन । सरकारले शान्ति सुरक्षा जस्तो बाध्यकारी सेवादेखि अत्यावश्यक, कल्याणकारी, प्रवद्र्धनकारी, व्यवसायिक लगायतका सेवा प्रवाह गर्छ । यस्ता सेवाको वितरण शैली र पहँुचको कसीमा सरकारको कार्यकुशलता मापन गर्न सकिन्छ । सरकारको क्षेत्राधिकार भित्र र बाहिर राज्यमार्फत त्यसका निकायहरूले उपलब्ध गराउने सेवा चुस्त तथा छरितो हुनुपर्दछ ।

सामान्यतया सार्वजनिक सेवाको आवश्यकता वा त्यसका उपभोक्ताहरू मध्यम र निम्न वर्गीय नागरिकहरू बढी हुन्छन् । नेपालको संविधानले सरकार सञ्चालनको कार्यक्षेत्र संघ, प्रदेश र स्थानीय सरकारहरूमा निहित गराएको छ । स्थानीय सरकारको काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र अन्यभन्दा फरक छ र यसले सार्वजनिक सेवा तथा नागरिकको दैनिक जीवनका लागि प्रत्यक्ष रूपले प्रभाव पार्ने न्यूनतम सुविधाहरूको सुरक्षण गर्ने जिम्मेवारी पाएको हुन्छ । स्थानीय सरकारबाट प्रवाह भएका सेवाको प्रभावकारिता नदेखिनुमा जनप्रतिनिधि नै प्रमुख जिम्मेवार हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  २३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update