विचार

बाबु, आमा बोझ कि वरदान ?

Shittalpati Reporter

छोरा जन्माई, हुर्काइ, पढाई, योग्य बनाईदियो बुहारीले लैजान्छन् । छोरी जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएपछि बाजा बजाएर अन्माएर पढाउनु पर्छ, ज्वाईले लैजान्छन् । त्यसपछि बुढाबूढी टुक्रुक्क एक्लै हुनुपर्छ । छोरा–बुहारी र छोरी–ज्वाई, नाती–नातिना पनि उही छुट्टी मिलाएर द्धितीयाका जुन (हदका चाँद) जस्तै टुप्लुक्क आउने हुन् । कहिलेकाँही बुढो घर रुगेर बस्दा बूढा–बूढीका हात–पाखुरा चलुञ्जेल, खल्ती खाली नहुञ्जेल र आफैँ केही गरेर बाँच्न सकुञ्जेलसम्म त ठीकै छ । ओज र पोज पनि रहन्छ । नसक्ने भएपछि त सबैका लागि बोझ बन्दा रहेछन् । प्रशस्तै सम्पत्ती भएका, सामाजिक प्रतिष्ठा पनि आर्जन गरिसकेका चर्चित एक वृद्ध दम्पत्तिको गुनासो हो यो । पेन्सन पट्टा, नभए पालिन गाह्रो रहेछ बाबु, पाल्दा रहेनछन् आजकालका छोरा बुहारीले पनि । धन्न त्यतिले पालिएकी छु । पेन्सन आउने नभए के को पाल्थे, पाल्दैनथे । आफूले जोडेका जायजेथा पनि काम लाग्ने रहेछन् बुढेसकालमा । अलि राम्रो घरबारी र जग्गा जमिन जति अंशवण्डा गरेर लगे । बुढ्यौलीमा अलिकति घडेरी दिएका छन् । त्यतिले पालिन नसकिने त्यत्तिकै फाल्न पनि नसकिने, कति आपत परेको हो हँ ? ८४ वर्ष पुरा गरिसकेकी अर्काे वृद्धाको पनि यस्तै गुनासो छ । जसका दुई छोरा र पाँच छोरीका परिवार सबै सक्षम छन् । पतिको देहावसानपछि पाउने निवृत्ति भरणको सहाराले बाँचेकी छन् ।

यस्ता गुनासा सुनी साध्य छैन । सबैका पीडा उस्तै छन् । सम्पत्ति भएका दम्पत्ति र पेन्सनद्धारा रहेका परिवारमा पैतृक सम्पत्ति चाहिने र लिने, बाबु आमालाई चाहि बोझ सम्झने चलन चल्ती विछट्टै  । धन सम्पत्ति नभएका विपन्नको पीडा त झन् भनि साध्य र सही साध्य हुँदैन । विधवा वा विदुर भएर एकल भएपछि त झन् मानसिक यातना सहेर बस्ने हो दिनदिनै, चौपट्टै । दुई छाक रुखो, सुखो खान दिदाँ पनि वचन लगाउँछन् । बेसाहारा अशक्तलाई सडकबाट टपक्क टिपी ल्याएर पाले जस्तो गर्छन् । २४ सै घण्टा आँखा तर्छन् । पेन्सन नभएका बाबुआमा पाल्न नचाहिने भीड बढ्यो । मुखले नभने पनि मनले चाँहि छिट्टै मरे हुन्थ्यो भन्ने । सोही अनुसारको व्यवहार गर्ने, यस्तो सहेर कसरी हो बुढ्यौली गुजार्ने ? सहन नसकेर तुरुन्तै मर्न र सहेर बाँच्न पनि नसक्ने अवस्था छ धेरैको । बाहिर कतै गएर मनको बाह पोख्न सक्दैनन् पटक्कै । एक कान, दुई कान मैदान भएर थाहा पाँउने बित्तिकै आपत आइलाग्छ भनेर ।

सन्तानलाई सबल र सक्षम बनाउन जिउ ज्यान घोटेर थला पेरको र खिइएको हो, जीर्ण भएको अघिल्लो पुस्ताको सोही ज्यानलाई वरदान सम्झेर सम्मान गर्नु त कता हो कता, उल्टै अपमान गर्नेको लर्काे रहेछ । जताततै । साह्रै असल, कुशल र योग्य बनाइसकेपछि यतै बसेर सघाउलान्, बुढेसकालमा सेवा सुसार पनि गर्लान् भन्ने सोचर नहुने रहेछ । जति असल र कुशल हुन् योग्य पनि हुन् । तिनीहरुले आफ्नै देशमा बसेर केही गर्नै मान्दैनन् । अमेरिका, युरोप, जापान, कोरिया तिरै धाँउ छन् । अष्ट्रेलिया तिरको लाभ पनि लागेको छ । छोरो गएपछि बुहारी र बुहारी गएपछि छोरो तान्ने, नाति–नतिना पनि उतै जाने, लाने, गएपछि घर धान्ने जिम्मा उनै वृद्ध बाबु, आमाको काँधमा हुन्छ । अझ उता गइसकेपछि सुत्केरी भएमा स्याहार सुसारका लागि आमालाई झिकाउने गरिन्छ । आमा बोलाउने त्यस्तो भिसालाई ‘तेल भिसा’ (धुने पखाल्ने भिसा) भन्ने चलन पनि चलाइएको छ । छ महिना सम्म चल्छ, तेल घस्ने काम । त्यसपछि फेरि उही र उस्तै हो वचनले पुर्‍याएका होचाका नीला डाम । सन्तानले दिएका सकसका त्यस्ता डाम देखाउन नमिल्ने, सुनाउन पनि नसकिने । मेरा छोरा अमेरिका र बुहारी जापान छन् । छोरी चीनमा र ज्वाई कोरियामा, नाती फ्रान्समा पढ्दैछ, नातिनीले अष्ट्रेलियामा अध्ययन गर्दैछिन् भनेर घिरौला जत्रो नाक बनाएर धाक देखाउने गरेका ज्येष्ठ नागरिकको नतिजा नजानी निस्केको छ । विदेश गएर पढेका, उतै बस्ने जोहो गरेका, आफ्ना छोराछोरीलाई पनि उतै लगेर पढाएका सन्तानले नेपाल आउन मान्नै छाडे । साह्रै करबल गरेमा २, ३ दिनका लागि आउने र कुनैको स्याहार सुसार गर्दा थला पर्ने गरेको पीडा सुनाउने ज्येष्ठ नागरिकको कमी छैन । जति दिन बोलायो र राख्यो उति दिन सम्म आफ्नै पुर्खा, गाँउ र घर, मातृभूमि, देश, शासन व्यवस्था यताको खानपान, रहनसहन, भेषभूषा, सबै बिर्से जस्तो ठान्ने । उताको जस्तो सबै राम्रो र यताको सबै नराम्रो मान्ने । कति सुन्ने, सहने हो र कति हो मान्ने ? युरोप, अष्ट्रेलिया, जापान र अमेरिकामा सुखै सुख र नेपालमा दुखै दुख मान्ने मन र देख्ने आँखा कसरी बन्छन् कुन्नी ?
त्यतातिर गएपछि मानै मान पाइने, सुन चाँदी र हीरा, मोती खाइने र यतातिर अपमानै अपमान बर्साइने कुरा कति साँचो होला खै ? त्यता जाने वित्तिकै ससुराली पुगेजस्तो त नहोला सधै । काम गर्नु त पर्दाे हो पक्कै पनि त्यत्तिकै बसेर खान, लगाउन, घुम्न र रम्न त कसले पो दिदो होला र ? दिन्न । त्यहाँका सरकारसँग पनि सबैले चिताएको कुरा पुर्‍याउन सक्ने मन जित्ने जादुको छडी वा यन्त्र नहोला । छुमन्तर गरेर सबैका चाहना पूरा गर्ने यन्त्र पनि नहोला । यताका उच्च तहका कर्मचारी, नेता र प्रविधिले उता गएपछि तुच्छ काम गरेर बसेको कुरा नसुनेका कोही पनि नहोलान् । आफ्नो देशमा मालिक हुन नचाहेर परदेशमा नोकर बन्न रुचाउनेको फूर्तिफार्ती अलि बढी नै भएको हो कि ? अंश र वंशको बदनाम गरेमा ठूलो भइने सोच पलाएर हो, बुझ्नै गाह्रो हुन थाल्यो । वृद्ध बाबु, आमालाई भीरमा लगेर फाल्ने डोको फर्काएर ल्याउन भने छ नातिले । किन चाहियो भनेर बाबुले सोध्दा भोलि फेरि हजुरलाई फाल्नका लागि पनि चाहियला नि भनेर दिएको जवाफ बिर्सेजस्तो छ धेरैले । अघिल्लो पुस्तालाई सम्मान गरेमा पछिल्लो पुस्ताबाट पनि पाइन्छ, नत्र पाइन्न होला भन्ने कुरा । बाबु, आमा भनेका त अनुभव, सीप, ज्ञान र परिपक्ताका आकार नै हुन् । र हुन् जीवित देवीदेवता, उनीहरुलाई गरेको आदर र उचित स्याहार सुसारले घरपरिवारको प्रतिष्ठामा आँच आँउदैन, अभिवृद्धि नै हुन्छ । पितृ देवी भव : मातृदेवी भव : गुरुदेवी भव : त्यसै भनिएको हैन, छैन । माता, पिता र गुरुको सेवा गर्ने कुरा सामान्य हैन, सेवा गर्न पाउनु पनि सौभाग्यको विषय मानिनुपर्ने हो । तर पश्चिमी विकृत संस्कृतिको प्रभावले प्राप्त वरदानलाई पनि अभिशाप मान्न थालिएको छ ।

जो साह्रै दुःखद छ । विकसित मुलुकमा पसेका र उतै बसेकाको देखासिकी खाडी र मुग्लानतिर भासिएका परिवारले पनि गर्न थाल्दा बेवारिसे भएका छन् । वृद्धवृद्धाहरु, मन्दिर र देवी देवताहरु लोग्नेलाई खाडी मुलुक वा मुग्लानतिर पठाएर घर थामेर, सासु ससुरा पालेर बसेका बुहारीले पनि विदेशी पैसा समाउन थाल्ने वित्तिकै आफ्ना छोराछोरी टिपेर सहर पसेर उतै भाडामा कोठा लिएर बस्न थालेका छन् अचेल । छोराछोरी पढाउन त पर्‍यो नि भन्दै । बुढो घर कुर्ने र डाँडा पारिका घामजस्ता भएका बूढाबूढीलाई हेर्ने कोही छैन । काल पनि आँउदैन भन्छन् । आफन्त कोही भेट्न जाँदा पनि । आफ्ना आमा, बाबु, घर, आफ्नो गाँउ जन्मेका ठाँउ देश छोडेर परदेश जाने वित्तिकै कुन त्यस्तो बुटी खान्छन् । जो यति निकृष्ट र घाती हुन्छन् । निर्माेही बन्छन् । विकसित मुलुकमा बसेका र बसेकाहरुले त बाबु, आमाको दीर्घायुको कामना गर्दैनन्, मृत्यु र्कुछन् । सेवा गर्न आँउदैनन्, उतै पनि लाग्दैनन् । दिवंगत भइसके पछि दाहसंस्कारका लागि आएर, बचेका पैतृक सम्पत्ति बेचेर डलरमा साटेर लैजान्छन् । त्यस्ता सन्तानप्रति कृतज्ञ हुने कि कृतहन भन्ने ? (लेखक राष्ट्रिय युवा स्वरोजगार अभियानका अभियान्ता समेत हुन् । )


प्रकाशित मिति: आइतवार, असार २१, २०७७, १०:३५:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

झनै जोखिम आइतवार, असार २१, २०७७, १०:३५:००
प्राकृतिक विपत्ति : किन जान्छ पहिरो ? आइतवार, असार २१, २०७७, १०:३५:००
सिङभेरी जात्रा र यसको उत्पत्ति आइतवार, असार २१, २०७७, १०:३५:००
स्थानीय सरकार र सुशासन आइतवार, असार २१, २०७७, १०:३५:००