Shittalpati
कोरोनाको कहर, संस्कृति माथि प्रहार

लालकाजी शाक्य
नेपाल ‘सातको अफाप’ कस्को के श्राप परेको हो कुन्नि सालको पछाडी सात आउने बितिकै देशभित्र नाना किसिमको क्रान्ति, भ्रान्ति, दुःखको ओइरो लाग्ने ! सालको चार अंकमा कुनै पनि ठाँउमा सात आउने बित्तिकै देशमा अनेक प्रकारका घटना हुने गर्छ । यो सबैलाई थाहा भएकै कुरा हो । दोष सातलाई मात्र नभई त्यस्को दाँया बाँया अर्थात् ६ र ८ अंकको पनि यस्मा ठूलो हात छ । पत्याउनुस्, नपत्याउनुस् भोग्नेले भोगेकै छ । देख्नेले देखेकै छ । सुन्नेले सुनेकै छ । २०७६ अन्तिम तिर सुरु भएको कोरोना २०७७ सम्म आइपुग्दा वृहत रुपमा फैलियो । यहाँ सबै घटनाको वर्णन गर्नुपर्दा मूल बाटोबाट अर्कै तिर गएको जस्तो लाग्ने छ । यहाँ कोरोना भाईरसले विश्वभर पारेको असरको विषयमा यहाँ चर्चापरिर्चा गर्ने प्रयास गरिएको छ ।

देशभित्र मनाइने चाडपर्व जात्रामा पनि कोरोनाले वित्यास पार्‍यो । यो अनौठौ जीव न त आँखाले देख्न सकिन्छ । सूक्ष्म तर बलियो सारा संसारमा तहल्का, हा—हाकार मचाउन सक्षम कस्ता कस्ता मैहु भन्ने देशलाई पनि खुट्टा कमाउने गरायो । चाहे अमेरिका होस् वा इटाली सेन होस् वा फ्रान्स, भारत होस् वा बेलायत रुस होस् वा चिन, कोरिया होस् वा जापान सबै देशलाई दिनको चैन न रातको निद बनाई दियो । आराम हराम गराईदियो । केहि गर्नै नहुने कुनै चिज छुनै नहुने तुरुन्त आक्रमण गर्ने कोसँग दुश्मनी छ र कुन्नि । दुश्मन देशलाई सताए हुन्थ्यो नि । सारा संसारलाई किन आतंकित बनाउनु प¥यो कुन्नि । आफू जन्मेको देश चिनमा भने म संक्रमित केहि मान्छे मर्ने संसार भरमा करिब पाँच लाखको प्राण हेर्ने कस्तो रुप लिएर जन्मियौ कुन्नि । नत जाडोले मर्ने न त गर्मीले कोठामा जेलमा थुनिनिएर बस्दा पनि कसैलाई नछोड्ने । ‘कस्तो तिम्रो बानी भयौ रिसाउने’ लगभग २१२ देशमा आतंक फैलाई सक्यौ अझै कति दुःख दिने हो । कतिलाई हरि कंगाल बनाउने हो कतिलाई माटो मुनि कंकाल बनाउने हो ।

अब त ए ! कोरोना एक पल्ट आफै विचार गर त । शक्तिशाली राष्ट्रलाई हाथ उठाउने गरायौं उनीहरुको देशको ढुकुटी भ्याएर डब्लु.एच.ओ.लाई समेत सहयोग गर्न नसक्ने भइसक्यो, अमेरिका, ब्राजिलले सम्बन्ध तोड्नका लागि परेका छन् । पश्चिमी देशहरु पनि लगभग त्यहि बाटो लाग्दैछन् भने हाम्रो जस्ले जस्तो देशमाथि र तलबाट च्यापिएर थिचोमिचो भएको यो सानो देशलाई पनि तिमीले छाडेनौ । के को रिस पोखेका छौ । देशमा ३३ करोडदेखि देवताले वास गरेको ठाउँमा किन विध्न बाधा अड्चन लगाउन खोजेको ? के तिमी हाम्रा देवताहरु भन्दा शक्तिमान छौ । हेर्दा फुच्चे देखिनेको यत्रो तुज्जुक ? कमसेकम हाम्रा ३३ कोटी देवी देवतासँग त डराउ । तिम्रो डरले मानिसहरु कोठामा नै खाई नखाई थुनिएर बसेका छन् । बाहिर आउने बित्तिकै झ्याप तिमीले समात्ने हो कि भन्ने पिरले हाम्रा देवी देवताको रथ यात्रा पनि गर्न पाइएन, कति रमाइलो लाग्थ्यो जात्रा चाडपर्व तिमीले गर्दा सबै चौपट भयो । देखेको तिमीलाई भए विश्वका जनताले समातेर गलहत्याएर यो लोकबाट प्रलोक पु¥याई सक्थे तर तिमी त अति सुक्ष्म माईक्रोस्कोपले मात्र देल्न सकिने प्रजातीमा पर्‍यौ । त्यसकारण पनि कुनै जाति, धर्म, समूहका मान्छेले आ–आफ्नो धर्म अनुसार कर्म गर्न पाएनन् । धेरैमा बस्दा पनि झन् गतिलै खर्च गराउने मति तिम्रो आयो । बाहिर बसांै प्रहरीले भित्र बस्नु भन्दै लौरौले हान्न बेर लाउन्न, घरभित्र बस्दा के खाने के लाउनेको पिरलो । अलि अलि हुने खानेलाई त तिम्रो डरले सताएन । मजा साथ कोठैमा बसेर दिनहुँ मिठो–मिठो पकाएर खाए । केहि सामानको कमि भए एक कल गर्‍यो सामान दैलोमा हाजिर तर दिनहुँ काम गर्ने त भोक भोकै मर्ने भो यस्को जिम्मा तिमीले लिनेकी ? सरकारले ? हाम्रो सरकार पनि कम डरपोक छैन । सारा विश्वलाई खुकुरीको भरमा थर्रथर्र कमाउन हाल्ने गोर्खाली आज तिम्रो ताडंव देखेर “लडाउन” भन्ने शब्द प्रयोग गरेर बिना पूर्जिको जेल चलान जस्तै कोठैमा थुनुवा हुनुपर्‍यो, भन्न त सरकारले घर–घरमा सहयोगको सामान पुर्‍याउँछौ भनेर टि.भी.मा फुकेकै हो । तर राहत कहाँ कता कति जनाले पायो ? सरकारलाई नै थाहा छैन । जनता कोठा भित्र, राहत गयो यत्रतत्र ?

तिम्रै डरले हाम्रो देशमा हुने कति रमाइलो जात्रा पर्वहरु एक एक गरेर बन्द भए विस्काट महिन्द्रनाथ गणेश भैरव बुद्ध जात्रा सबै ठाउँका जात्राहरु तिमै्र कारणले रोकिए । हाम्रै तानसेनमा पनि अहिलेसम्म दुईवटा भैरव जात्रा २०७६ मसान्तमा हुने भैरव जात्रा २०७७ सालको नयाँ वर्षको पहिलो दिन अमर गञ्जको भैरव यात्रा रोकियो । अब श्रावण भदौमा हुने जात्राहरु हुने कि नहुने हुन्, तिम्रै हातमा छ । जात्रा गर्दा मान्छे जम्मा हुनै पर्छ बिना मान्छेको जात्राको मतलबै भएन हेर्ने पूजा गर्ने रथ बोक्ने नै नभएपछि कसरी जात्रा सञ्चालन गर्ने । यदि कसैले निडर भएर जात्रा सञ्चालन गर्न भिड जम्मा गर्दा सरकारको भाजनमा परेर लाठ्ठी चार्जमा पार्ने होकी भन्ने डर छ । हे कोरोना हाम्रो संस्कृत जोगाउन मद्दत गर । हाम्रो देवतासंग रिस नगर निर्धक्क साथ हाम्रो चाडपर्व जात्रा मनाउन देउ । यहि चाडपर्व जात्रा जस्ता संस्कृतिले विश्वमा नाम बल्ल बल्ल कमाएको बेला तिम्रो कुदृष्टीले फेरि नेपाल भन्ने देशलाई किन यति बिध्न सताएको ? के तिमी देशलाई गुमनाम गराउन खोज्दैछौ । गर्ने भए अन्य सालमा पनि गर्न सक्थ्यौ । तर सातलाई नै अगाडि राखेर महामारी फैलाई रहेछौ । भनाईको अर्थ हो । २०७७ यो २०७७ सालको पछाडी को दुई वटा अकं सात नै छन् यि दुईवटा सातलाई साथ लिएर वितण्डा किन मच्चाई रहेछौ ? तिम्रो यो आतंकित बानीले यो वर्षभर सारा संसारलाई आर्थिक मन्दी गराई बोझ बढाई रहेछौ ? जहाँबाट तिमी विश्वभर फैलियो । त्यहि फर्केर जाऊ । सारा संसारलाई सुखसँग बाच्न देउ । रमाइलोसँग चाडपर्व मनाउन देउ । धेरैको भाजन नबनिदेउ अब त अति भयो । संसार भर फैलिएको चाइनिज सामान जस्तै किन संसार भर फैलिदैछौ । बेलैमा होस पु¥याउ नत्र संसारबाट तिमी जन्मिने देशको सामन मात्र हैन सारा संसार मिलेर तिमीलाई नै निमिट्यान्न पार्न बेर लाग्ने छैन । हाम्रो गरिब देश भगवान भरोसाले चलिरहेछ । यहाँको सरकार चलाउन विदेशी सहयोग लिनुपर्छ । यहाँका जनताले काम गरेर खान पनि उत्तर दक्षिणको भरपर्नुपर्छ । बाहिरी सहयोग आएन भने भोकै रहनुपर्ने यो देशमा किन नजर ल्याउँदैछौ ? बिचरा यहाँका जनता यो देशमा काम नपाएर भारत, कतार, बहराईन, कोरीया अष्टेलिया लगायतका देशमा २,४ रुपैयाँ कमाएर सुखसंग परिवार पाल्ने धोको लिएर काम गर्न गएका गरिबहरुलाई समेत हेक्का नगरी आफनो शरणमा धमाधम लिदैछौ । मानौ कि आफ्नो धर्म संस्कृति त्यागेर परधर्म अंगाले जस्तै आफुमा समाहित गर्दैछौ । आखिर किन ? यि मानिसको दोष के ?

तिम्रो पाउ परेर तिम्रो दोष आतंक कहर मेटिने हो भने सार संसारको तर्फबाट म माफी माग्न तैयार छु । माफी दिन्छौ कि दिन्नौ ? भोका नाङ्गा गरिबले पिल्सिएका जनता त्यसै त सरकारमा पुग्ने नेताहरुले ढिकीमा चामल कुटे जस्तै गरेका छन् । उसै माथि तिम्रो कहर । तिम्रो जय जयकार गर्दा तिम्रो नजर यो देशबाट अर्कैतिर लाग्छ भने मैले नै सबैभन्दा पहिला भन्छु– जय कोरोना देवका देव कोरोना देव तिम्रो सदा भलो होस् । हाम्रो देशमा कहिले तिम्रो नजर नपरोस् जय होस् तिम्रो कोरोना देव !

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update